अविश्वासको खम्बामा निर्मित विश्वासको महल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनाको अवधिमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । गत बुधबार उनले मागेको विश्वासको पक्षमा १ सय ५७ र विपक्षमा १ सय १० सांसदले मतदान गरे । १५ महिनाको अवधिमा तीन–तीनपटक लगातार बहुमत सांसदको विश्वास पाइराख्न सफल प्रधानमन्त्रीको ’पुरूषार्थ’लाई चामत्कारिक नै मान्ने कि ? तर, पहिलोपटकको २ सय ६८ को प्रचण्ड बहुमत १ सय ७२ हुँदै अहिले १ सय ५७ मा झरेकामा स्वयं पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पिरोलेको पो छ कि ! संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले सुरुदेखि केही दिनअघिसम्म प्रचण्डप्रति विश्वास व्यक्त गरिरह्यो, तर हाल आएर विश्वास गर्न सकेन । दोस्रो दल एमालेले सुरुमा विश्वास, अनि अविश्वास र अहिले विश्वास व्यक्त गरेको छ । माओवादी केन्द्र त उनको आफ्नै दल भइहाल्यो । चौथो ठूलो दल रास्वपा पनि एमालेकै लाइनमा देखियो– विश्वास, अविश्वास र पुनः विश्वास !

ध्यान दिएर हेर्ने हो संसद्का २ सय १० भन्दाबढी सांसदको प्रचण्डप्रतिको विश्वास कुनै न कुनैबेला डगमगाएको छ । उनलाई सुरुदेखि निरन्तर विश्वास गर्नेहरूको संख्या ६० को हाराहारीमा मात्र छन्, जसमध्ये उनको आफ्नो दलको ३२ संख्या छ । यी सब तथ्यलाई केलाउँदा प्रधानमन्त्री प्रचण्डले विश्वासको जामा पहिरेकी अविश्वासकी देवीको कृपा प्राप्त गरेका छन् भन्दा अत्युक्ति नहोला ! अथवा, उनी अविश्वासको खम्बामा निर्मित विश्वासको महलमा निवास गर्दै छन् भन्दा पनि फरक नपर्ला !

गत ३० फागुन संसद्मा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल चलिरहँदा विभिन्न दलको प्रतिनिधित्व गर्दै वक्ताहरूले बोलेका कुरालाई गहिरिएर सुन्दा र मनन गर्दा उदेक नै मान्नुपर्ने अवस्था छ । पुष्पकमल दाहालमाथि विश्वास नगर्ने नेपाली कांग्रेस, राप्रपा र जनमोर्चाजस्ता दलका नेताहरूले के भने ? कति आक्षेप लगाए र कति कटाक्ष गरे भन्ने कुराको विवेचना गरिरहनु त्यति प्रासंगिक नहोला । प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्नेहरूको बोली र त्यसले गरेको संकेतलाई नियाल्ने हो भने चाहिँ स्वयं प्रधानमन्त्री प्रचण्डलाई त्यो विश्वासको मत कति ग्राह्य र पाच्य भएको छ होला भन्न सकिन्न ! हस्ताक्षरसहित पालैपालो १३ महिने प्रधानमन्त्री पदको बोलकबोल वाचापत्र गरेका एक प्रमुख पात्र खड्गप्रसाद शर्मा ओली भन्छन्, ‘मेरो नाम पनि १३ महिने प्रधानमन्त्रीमा छ क्या र ! मलाई प्रधानमन्त्री बन्नु छैन ।’ उनका यी भनाइलाई प्रचण्डजीले ओलीजी सदाशयता देखाएर आफूलाई थप १३ महिना पदावधि दिएका रूपमा पो अथ्र्याउने हुन् कि ! प्रचण्डलाई त्यति मूर्ख मान्ने भूल त नगरिहाल्ने कि ! ओलीलाई थोरै बुझ्ने र राजनीतिको कखरा जान्ने सामान्य मानिसले पनि संसद्को रोस्ट्रमबाट गरिएको ओलीको यस भनाइलाई कथित सहमतिप्रति आफू र आफ्नो दल पटक्कै गम्भीर नभएको भन्ने घोषणाका रूपमा बुझ्नेछन् । अझ, उनी यो गठबन्धन तोड्न सदैव तत्पर रहेको संकेतका रूपमा पो बुझ्ने कि ? ओलीले रोस्ट्रमबाटै शेरबहादुर देउवालाई स्पष्ट रूपमा लक्षित गर्दै कुराकानीका लागि निम्ता दिन्छन् ! के ओलीका यी भनाइ पुष्पकमल दाहालप्रति दिगो विश्वासको ग्यारेन्टी हो र ? प्रचण्डलाई विश्वासको मत दिने दोस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेका भनाइ त झनै चाखलाग्दा छन् । प्रधानमन्त्रीको आवश्यकताभन्दा बढी तारिफ गरेपश्चात् उनी भन्छन्, ‘हामी जोखिम मोलेरै सरकारमा आएका हौं, डेलिभरी गर्न नसक्ने देखियो भने तत्काल निस्कन्छौं ।’ उनका सभापतिले बोले अनुरूपको डेलिभरी हुन्छ भन्ने स्वयं वाग्लेलाई नै विश्वास छैन होला । यसको मतलव रास्वपा यो सत्तारोहणलाई पनि स्टन्डकै रूपमा प्रयोग गर्दै छ । कुनै पनि बेला ठूलो कलाबाजी गरिने कुरामा शंका नगरे हुन्छ । एकीकृत समाजवादीका तर्फबाट बोल्ने राजेन्द्र पाण्डेले त प्रधानमन्त्रीलाई धोका दिएको आरोप नै लगाए । उनले धोका पाएकाहरू मिल्ने भन्ने धम्कीयुक्त चेतावनी नै दिए । अरू एक–दुई पात्रहरूले त आफूहरू अब भविष्यमा कहिल्यै सत्तामा आउने सम्भावना नभएको हुँदा ‘अन्तिम भोज’मा सम्मिलित भएको भन्ने व्यक्तिगत कुराकानीका क्रममा बताउँछन् ।

नेपालको इतिहासमै पहिलो दिनदेखि नै ढल्ने सबैभन्दा धेरै अनुमान र आशंका गरिएको सरकार यो नै हो । सत्ताको गोटीचालमा अभ्यस्त खेलाडी र सूत्रधारहरूले आफ्नो खेलको पहिलो पासा फ्याँकिसकेको समेत दाबी गरिँदै छ । यसपटकको खेल धेरै लामो र अनिश्चितताले भरिएको पनि नहुने बताइन्छ । सत्ताका सम्भाव्य सीधा सञ्चालकहरूभन्दा पनि पर्दापछाडिका खेलाडीहरूको थोरै मिलाउनुपर्ने ‘चाँजोपाँजो’ मिल्ने बित्तिकै यो सरकार तासको पत्ताको घर ढलेझैं गल्र्यामगुर्लुम धराशायी हुने बताइँदै छ । कुर्सीको खेल र अस्थिरताबाट आजित नेपाली जनताले यस्तो अवस्था चाहेका होइनन् । नेपाली जनताले त यतिबेला गुणवत्ताको हिसाबले कमसलै भए पनि थोरै स्थायित्व र स्थिरताको आशा गरेका थिए र छन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल