सुटुक्क दृष्टि चोरिएला है !

मकवानपुर । कति वर्ष हुनुभयो ? आँखाको जाँच नियमित गराइरहनुभएको छ ? सचेत बन्नुहोस् सुटुक्कै दृष्टि चोरिएला है !

जलबिन्दु अर्थात् ‘सुटुक्क दुष्टि चोर्ने रोग’को नामले चिनिने रोगले सदाका लागि आँखाको ज्योति चोर्नसक्छ । पूर्वानुमान वा अड्कलबाजी गरेर ढुक्क हुन नसकिने ज्योति घातक रोग हो, जलबिन्दु । हरेक वर्ष मार्च दोस्रो सातालाई जलबिन्दुका रूपमा मनाइन्छ । आँखाको ज्योति गुम्ने पाँच कारणमध्ये चौथो नम्बरमा पर्छ, जलबिन्दु । मोतिबिन्दु पहिलो नम्बरमा छ भने सुगरका कारण ज्योति गुम्ने खतरा दोस्रो नम्बरमा छ ।

‘जलबिन्दुको चर्चा मोतिबिन्दुको तुलनामा कमै हुन्छ, तर भविष्यमा भयावह अवस्था आउनसक्ने रोगका रूपमा जलबिन्दुलाई लिन्छन्,’ हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली भन्छन्, ‘बिरामीको भोगाइ, अनुभूति सेयरिङले पनि सचेतना बढाउन सकिन्छ, सचेतनाको पाटो अत्यावश्यक छ ।’

उनका अनुसार यस अस्पतालमा औसत दैनिक १० जना बिरामी जलबिन्दुको उपचारका लागि आउने गर्छन् । आँखाको सामान्य नसा सुक्दैजाँदा यो समस्या हुने डा. थकालीले बताए । बिरामीले शंका नै गर्न नपाइ ज्योति गुमिसक्ने खतरा अधिक हुने उनको भनाइ थियो । ‘अन्तिम अवस्थामा आउँदा उपचार सम्भावना छैन,’ अस्पताल प्रमुख थकालीले भने, ‘यही कारण विश्वमा वार्षिक ८० लाखको आँखाको ज्योति जान्छ ।’

थकालीका अनुसार आँखामा हुने पानीको उत्पादन र विसर्जनको सन्तुलन नमिल्दा यो समस्या हुन्छ । ‘सन्तुलत नहुँदा आँखाको प्रेसर बढ्छ अनि नसा सुक्छ,’ थाकालीले भने, ‘नसा सुकेपछि ज्योति गुम्दै जान्छ ।’

‘दृष्टिको मौन चोर’ रोग पनि भन्ने गरिने जलबिन्दु हुुनुमा खानपानको भने कुनै कारण छैन । जलबिन्दुले गर्दा क्षति भइसकेको दृष्टि फर्काउन सकिँदैन, तर समयमै नियमित उपचारले जलबिन्दुबाट हुनसक्ने अरू नोक्सानबाट बचाउन सकिने थकाली बताउँछन् । आँखाको प्रेसर कम राख्नु र अप्टिकल नर्वलाई अरू क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार जलबिन्दु, विश्वभर दृष्टिविहीन गराउने प्रमुख कारणमध्ये दोस्रो समस्या हो । नेपालमा भने आँखाको उपचार सेवाप्रदायक विभिन्न अस्पतालमा हरेक वर्ष करिब २ सय जनाको शल्यक्रिया हुने गरेको बताइएको छ ।

डा. थकालीका अनुसार जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार बढ्दै जान्छ र आँखाको नानीमा पानीजस्तो तरल पदार्थ देखापर्न थाल्छ । कहिलेकाहीँ आँखाको भित्री भागमा रहेको तरल पदार्थ बढी मात्रामा उत्पादन पनि हुनसक्छ । यस्तो अवस्थामा आँखामा पे्रसर बढ्छ । यसले विस्तारै दृष्टिक्षमतालाई क्षति गर्दै जान्छ ।

नेपालमा ४० वर्षमाथिको उमेर समूहमा प्रत्येक २ सय जनामध्ये एक जनालाई जलबिन्दुको समस्या देखिने गरेको छ । त्यस्तै, ८० वर्षको उमेरभित्रमा प्रत्येक २ सय जनामध्ये आठ जनालाई यो रोग हुने गर्छ ।

के हो जलबिन्दु अनि कसरी हुन्छ उपचार ?
जलबिन्दु जन्मजात नै समेत हुन्छ । यसैगरी वंशाणुगत पनि हुनसक्छ । यसको पूर्ण निदान नभएको तर रोकथाम सम्भव भएकाले उपचारमा ढिलाइ गर्न नहुने हेटौंडा सामुदायिक आँखा अस्पताल प्रमुख डा. थकालीले बताए । उनका अनुसार सामान्य आँखाको प्रेसर १० देखि २१ मिलिमिटर मर्करी हुनुपर्छ । जलबिन्दु जाँचका लागि आर्थिक रूपमा समेत महँगो नभएकाले समयमै आँखाको सुरक्षा गर्न उनको सुझाव छ । जलबिन्दु भएका तेस्रो स्टेजका बिरामीलाई शल्यक्रिया वा लेजर उपचार नै अन्तिम हो । ज्योति गुमिसकेपछि कुनै पनि हालतमा फिर्ता गराउन सकिँदैन ।

जलबिन्दुले आँखाको दृष्टिसम्बन्धी स्नायुमा क्षति पु¥याएपछि विस्तारै ज्योति कम हुँदै जान्छ । जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाहीँ कुनै पनि लक्षण नदेखिने पनि हुने डा. थकाली बताउँछन् । उनका अनुसार परिवारमा कसैलाई जलबिन्दु लागेको भए वंशाणुगत रूपमा पछिल्लो पुस्तामा सर्दै जाने हुनाले परिवारका नयाँ सदस्यमा पनि यसको जोखिम रहन्छ ।

आँखा रोग विशेषज्ञका अनुसार जसरी शरीरको प्रेसर हुन्छ, त्यसरी नै आँखाको पनि प्रेसर हुन्छ । आँखाको चाप सामान्यबाट बढेर विस्तारै आँखाको दृष्टि कम हुँदैजाँदा जलबिन्दु हुन्छ । यो समस्या जन्मजात, बाल्यावस्था, वयस्क वा वृद्धवृद्धा सबैमा देखापर्न सक्छ । त्यस्तै धेरै पावर भएको चस्मा लगाउने, उच्च रक्तचाप, मधुमेह, आँखामा चोटपटक लाग्नेजस्ता कारणले जलबिन्दु हुने सम्भावना हुने नेत्ररोग विशेषज्ञ बताउँछन् ।

मोतिबिन्दुजस्तो विभिन्न भूगोलमा शिविर आयोजना गरी समस्या पहिचान र उपचारको दायरामा ल्याउनका लागि उपकरणको अभाव भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले बताए । ‘समुदाय तहमा पुगेर आँखामा समस्या भए नभएको स्क्रिनिङ (जाँच पडताल) गर्ने उपकरणको अभाव छ,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने । उनले स्थानीय तहसँग सहयोगका लागि अपिल गरिएको पनि बताए ।

जलबिन्दु कसरी थाहा पाउने, लक्षण कस्ता हुन्छन् ?
प्रायः मानिसमा यसका कुनै लक्षण नै देखिँदैन । जब यसले आँखाको पुरै नसालाई छोप्छ तब मात्र जलबिन्दु भएको थाहा हुन्छ । त्यस्तो अवस्थामा यसको कुनै उपचार नै हुँदैन ।

यसबाहेक जुन आँखामा जलबिन्दु भएको छ, त्यो पाटोको टाउको दुख्ने वा पुरै टाउको अत्यधिक दुख्ने, वान्ता आउने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । जलबिन्दु मुख्यतयाः दुई प्रकारका हुन्छन् । एउटा साँघुरो आँखामा हुने जलबिन्दु र अर्को खुला आँखामा हुने जलबिन्दु हो । साँघुरो आँखामा हुने जलबिन्दु थोरै व्यक्तिलाई मात्र लाग्छ भने खुला आँखामा लाग्ने जलबिन्दु धेरै व्यक्तिमा देखापर्छ ।

विशेषगरी रोग पत्ता लगाउने भनेको ४० वर्ष कटेपछि हरेक ६÷६ महिनामा आफ्नो आँखाको जाँच गराएर नै हो । जलबिन्दुको समयमै पहिचान गरी उपचार सुरु गरेमा पूर्ण निको नहुँदा पनि थप असरबाट जोगाउन सकिन्छ ।

जलबिन्दुको समस्याबाट बच्न मुख्य कुरा जनचेतना आवश्यक छ । मानिसमा जनचेतना भयो भने उपचारमा आउँछन् । जलबिन्दु लागेको भए त्यसलाई पूर्णरूपमा निको पार्न नसके पनि रोकथाम गर्न सकिन्छ ।

जलबिन्दु’bout इतिहास यस्तो छ
नेपालमा सन् १९८१ मा पहिलोपटक जलबिन्दु’bout सर्भेक्षण भएको थियो । डाक्टर थकालीका अनुसार त्यसबेला दृष्टिविहीन हुने कारणमध्ये ७१ प्रतिशत मोतिबिन्दु र ३ दशमलव २ प्रतिशत मात्रै जलबिन्दुको कारण थियो । त्यसबेला नेपालमा नेत्र विशेषज्ञ सात जना र आँखा अस्पताल एउटा मात्रै थियो ।

सन् २०१० मा गरिएको सर्भेक्षणले मोतिबिन्दुका कारण हुने दृष्टिविहीनको प्रतिशत घटेर ६२ दशमलव २ मा आयो भने जलबिन्दुको प्रतिशत बढेर ४ दशमलव ३ मा पुग्यो । जबकि, यसबेला नेपालमा १ सय ४७ जना नेत्ररोग विशेषज्ञ र २० वटा आँखा अस्पताल थिए ।

अहिले दृष्टिविहीन हुने ५ प्रतिशत कारण जलबिन्दु हो । तथ्यांकले देखाउँछ कि मोतिबिन्दु नियन्त्रणमा आउँदै गर्दा जलबिन्दुको समस्या बढ्दो छ । मान्छेको आयुले पनि जलबिन्दुको संक्रमण बढ्ने डाक्टर थकाली बताउँछन् । ‘जति बुढौली उमेर भयो, उति यसको सम्भावना बढी हुन्छ,’ थकालीले भने, ‘४० वर्ष उमेर कटेपछि अनिवार्य रूपमा आँखामा जलबिन्दुको परीक्षण गराउनुपर्छ ।’ यही अवस्था मध्यनजर गरी हेटौंडा सामुदायिक आँखा अस्पतालले आधाभूत जाँचमा आँखाको प्रेसर जाँच्ने गरेको उनले बताए ।

विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाख मानिसलाई जलबिन्दु हुने अनुमान गरिएको छ । हाल ९० प्रतिशत मानिसमा यो रोग पत्ता नलागेको अवस्थामा रहेको छ । १ अर्ब जनसंख्या आँखा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बताइएको छ । अन्तर्राष्ट्रिय रूपमा १२ मार्चलाई विश्व जलबिन्दु दिवसका रूपमा मनाइन्छ भने मार्चको दोस्रो सातालाई जलबिन्दु सप्ताहका रूपमा मनाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 471 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता