महाजात्राको नेपालमा दुई दिनको कमाइ ३ करोड २३ लाख

काठमाडौं । शुक्रबारबाट नेपालमा सबै हलमा रिलिज भएको चलचित्र ‘महाजात्रा’ले पहिलो दिनमा ३ सय ४२ वटा सो पाएको थियो । शुक्रबारको व्यापार नेपालभर १ करोड २३ लाख रुपैयाँ भएको रिपोर्ट बक्स अफिसबाट प्राप्त भएको यसका कार्यकारी निर्माता एवं अभिनेता रविन्द्र सिंह बानियाँले बताएका छन् ।

चलचित्रको प्रदर्शन र व्यापार’bout यी अभिनेताले भने, ‘शनिबार बिहान ६ः४५ देखि राती १२ बजेसम्म पनि सो छ । शनिबार अरू २४ वटा सो थपिएकाले नेपालमा ३ सय ६६ वटा सो सम्पन्न हुँदै छ ।’ शनिबार नेपालमा एक दिनको व्यापार मात्र २ करोडभन्दा माथि हुने भनाइ वितरकको रहेको अभिनेता रविन्द्रले बताएका छन् ।

उनका अनुसार यो चलचित्र अहिले विदेशका ४० वटा मुलुकका २ सय ५० वटा सहरमा पनि प्रदर्शन भइरहेको छ, ‘अहिलेसम्म एकचौटी यति धेरै देशका सिनेमा हलमा रिलिज भएको नेपाली चलचित्र महाजात्रा नै भएको हाम्रो अन्तर्राष्ट्रिय वितरक साथीले बताउनुभएको छ । विदेशबाट पनि हामीलाई अहिले त्यत्तिकै राम्रो प्रतिक्रिया मिलेको छ ।’ कार्यकारी निर्माता एवं अभिनेता रविन्द्र सिंह बानियाँले राजधानीलाई बताए ।

यो चलचित्र पहिलो दिन करिब ८० प्रतिशत हाउसफुल भएकोमा शनिबार करिबकरिब सबैतिर हाउसफुल भएको पनि रविन्द्रले जानकारी गराए, ‘कतिपय चिनजानका साथीले हाउसफुलका कारण टिकट नपाएको भनेर फोन गर्नुभएको छ । आज र भोलि प्रायः हाउसफल भएका कारण सोमबार सिनेमा हेर्नलाई हामीले आग्रह गरेका छौं’, उनले भने ।

यस्तै, शनिबार नै अस्ट्रेलियाको सिड्नी, होवर्ट, क्यानेरा, मेलवर्नलगायतका सहरमा ओठवटै सो हाउसफुल भएको पनि उनले जानकारी गराए, ‘उता बेलायतमा शनिबार मात्र २४ वटा सो भएको अन्तर्राष्ट्रिय वितरकले जानकारी गराएका छन् । अरू धेरै देशमा महाजात्रा सो भएको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’

अभिनेता बानियाँले काठमाडौं मात्र नभई दर्शकसँग भेटघाट गर्न मोफसल पनि पुग्ने जानकारी दिए । यतिबेला मोफसलका दर्शकबाट पनि त्यतिकै माया प्राप्त भएकाले आफूहरु अब मोफसलमा जाने बताउँदै रविन्द्रले भने, ‘हामीले पहिलो चरणमा काठमाडौंमा प्रचारप्रसार गरिरहेका छौं । हामी छिट्टै नै मोफसलका दर्शकसँग पनि भेटघाट गर्दै छौं ।’

यो चलचित्र पूर्वरानी कोमलराज्य लक्ष्मीदेवी शाहदेखि कैयौं राष्ट्रिय व्यक्तित्वले हलमै पुगेर हेरेका छन् । शुक्रबार बेलुकी काठमाडौंस्थित सिभिल मलमा हिमानी ट्रस्टद्वारा आयोजित सोमा पुगेका धेरै भीआईपीले यो चलचित्रलाई निकै राम्रो प्रतिक्रिया दिए । चलचित्र महाजात्रा हेरेपछि यो चलचित्र युनिटलाई भेटेर बधाई दिँदै पूर्वरानी कोमलले भनिन्, ‘चलचित्र साह्रै रमाइलो बनेको छ । एकदम मन प¥यो । हामी सबैले रमाइलो ग¥यौ ।’

शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतलगायत पुगेका थिए । दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको अभिनेता आचार्यले बताए । ‘हामी शनिबार पनि दर्शकसँग भेटिरहेका छौं । प्रिमियर झैं प्रतिक्रिया प्राप्त भइरहेका छन् । मनोरञ्जनसँगै हामीले दिएको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ । हामी कृतज्ञ छौं’, अभिनेता आचार्यले भने ।

निर्देशक भट्टराईले पहिलो दिन प्राप्त गरेको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए, ‘महाजात्रा नेपाल मात्र नभई विदेशमा पनि हाउसफुल भइरहेको छ । हामीलाई गर्नुभएको माया र विश्वासलाई हामीले जति धन्यवाद दिए पनि अपुग हुन्छ ।’ ्

अभिनेता विपिन कार्कीले दर्शकले फिल्मका पात्रको सुखदुःखलाई पर्दा बाहिर पनि महसुस गरेको बताए । उनले भने, ‘मसँगै जोएस र मुन्नाको सुखदुःखमा दर्शक पनि उस्तै भावमा पाएँ । पात्रसँग दर्शकलाई जोड्न सक्नु हाम्रो सफलता हो । मलाई मुख्य अभिनेता बनाउने जात्रा शृंखला मेरा लागि सधैं खास छ । यो फिल्म हेर्दा समय र पैसाको सदुपयोग हुन्छ भन्नेमा विश्वस्त हुन दर्शकलाई आग्रह गर्दछु’, अभिनेता कार्कीले भने ।

फिल्म युनिट शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका छन् । शनिबारका अधिकांश सो हाउसफुल बताउँदै अर्का निर्माता म्याक्स दीपेश खत्रीले भने, ‘हामीले पाइरहेको माया र हामीमाथि गर्नुभएको विश्वासलाई हामीले घट्न दिएनौं । हलमा हामीले दर्शकका रूपमा परिवारलाई नै भेटेका छौं’, महाजात्रा टिमले आइतबार दरबारमार्गमा होली समेत खेल्ने उनले बताए ।

यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ । महाजात्रालाई म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेलले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन