बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन माग गर्दै परेको दुईवटा रिट निवेदनमा काठमाडौं विश्वविद्यालयलाई ‘रिट जारी’ गरेको सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले जानकारी दिए ।

झापाको प्रस्तावित बी एन्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । त्यसपछि प्रसाईंले ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयविरुद्ध फेरि अर्को रिट निवेदन हालेका थिए । त्यस्तै, रिट निवेदनको प्रतिवादमा शशिविक्रम कार्कीले सो मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग गर्दै २०७८ भदौमा रिट हालेका थिए । ती सबै रिटको एकमुष्ठ सुनुवाइ गरेर सोमबार सर्वोच्चले निर्णय सुनाएको हो । कार्कीको रिटमा सर्वोच्चले ‘कानुनबमोजिम गर्नु’ भन्ने आदेश दिएको उप्रेतीले बताए ।

गोविन्द केसीको आन्दोलनका कारण सबै मापदण्ड पुगेर पनि बी एन्ड सीले सम्बन्धन पाउन सकेको थिएन । सर्वोच्चको सोमबारको आदेशसँगै बी एन्ड सीले सम्बन्धन पाउने बाटो खुलेको छ । काठमाडौं विश्वविद्यालयले २०७७ सालमा बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आशयपत्र दिए पनि पछि सम्बन्धन नपाएपछि व्यवसायी दुर्गा प्रसाई सोविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए ।

२ जेठ २०७८ मा काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगलाई पत्र लेख्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले सम्बन्धनका लागि सहमति दिने निर्णय गरेको जानकारी गराएको थियो । सो पत्रानुसार २२ देखि २६ वैशाख २०७७ मा आफ्नो विश्वविद्यालयको विज्ञ टोलीले सो अस्पतालको स्थलगत निरीक्षण गरेको भन्दै सम्बन्धन र सिट संख्यासहितका विषयमा निर्णय गरिदिन भनिएको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने आशय प्रकट गरेपछि चिकित्सक गोविन्द केसीले विरोध जनाएका थिए ।

बी एन्ड सी मेडिकल कलेजलाई १२ फागुन २०७७ को काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा विश्वविद्यालयका कुलपति रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धन प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएका थिए । ओलीको निर्देशनअनुसार काठमाडौं विश्वविद्यालयले प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो । तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको ८९औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले २२ देखि २६ वैशाख २०७८ मा कलेजको निरीक्षण गरेको थियो ।

चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ अनुसार सहमति दिइएको उल्लेख गर्दै सम्बन्धनसम्बन्धी विश्वविद्यालयको नियमानुसार गठन गरिएको चार सदस्यीय टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि निर्णय भएको थियो । सो धारामा कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने उल्लेख छ । तर, २०७५ सालमा ऐन जारी हुनुअघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौंबाहिरका शिक्षण संस्थाको हकमा सो व्यवस्था लागू नहुने उल्लेख गरिएको थियो ।

त्यस्ता शिक्षण संस्थाको हकमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने व्यवस्थालाई टेकेर बी एन्ड सीले सम्बन्धन माग गरेको थियो । तर, पछि सरकारबाटै निर्णय कार्यान्वयन गर्ने विषय असफल भयो । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरे पनि चिकित्सा शिक्षा आयोगका तत्कालीन उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन अस्वीकार गरेपछि सरकार असफल भयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन उपाध्यक्ष गिरी, सदस्यसचिव डिल्ली लुइँटेललगायत आयोगका पदाधिकारीलाई बोलाएर प्रक्रिया पूरा गरेर सम्बन्धनको सिफारिस दिने निर्णय लेख्न दबाब दिएका थिए । तर, गिरी निर्णय लेख्न तयार नभएपछि तत्कालीन प्रधानमन्त्री ओलीको प्रयास असफल भएको थियो ।

मेडिकल कलेज तथा शिक्षण अस्पताल हुनका लागि के–के हुनुपर्छ ?
बहिरंग तथा अन्तरंग सेवाहरू गुणस्तरीय हुनुपर्छ । अस्पतालमा शल्यक्रियाहरू हरेक विधामा हुनु जरुरी हुन्छ । आकस्मिक सेवा २४सैं घण्टा उपलब्ध हुनुपर्छ । शिक्षण अस्पतालले रिफर गर्ने बिरामीको संख्या न्यून हुनुपर्छ । त्यस्तै, मेडिकल कलेजको पूर्वाधार तयार गर्न प्री–क्लिनिक विषयका लागि एनाटोमी, हिस्टोलोजी, बायोकेमिस्ट्री, फिजियोलोजी, प्याथोलोजी, माइक्रोबायोलोजी तथा कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिनका लागि स्तरीय ल्याबोरेटरी तयार गरेको हुनुपर्छ ।

यीबाहेक प्रत्येक विषयका लागि टुइटरियल रुम, डेमोस्ट्रेसन रुम चाहिन्छ । प्रत्येक विषयका फेकल्टीलाई आ–आफ्नो कार्यकक्ष तयार पारेको हुनुपर्छ । प्री–क्लिनिक एवं क्लिनिकल साइन्सका लागि ५–६ वटा लेक्चरर हल मापदण्डनुसार तयार गरेको हुनुपर्छ । लाइब्रेरी न्यूनतम रूपमा तयार भइसकेको हुनुपर्छ । यसका अलावा विद्यार्थीहरूका लागि होस्टल एवं क्यान्टिन तयारी भएको हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम