अब सशस्त्रको एक प्लाटुन फौज चौबिसै घण्टा सीमा गस्तीमा

काठमाडौं । ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र–२०८०’ तयार गरी लागू गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालनमार्फत् सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन टोली चौबिसै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता एवं सूचना शाखा प्रमुख डीएसपी शैलेन्द्र थापाले बताए ।

सीमासँग जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको हो । यसका साथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ ।

जिम्मेवारी इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वर्तमान स्थिति’bout जानकारी लिनुका साथै सीमा सुरक्षाको अवस्था, सीमास्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमण’bout जानकारी अध्यावधिक हुन गई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमाबासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वाससमेत लिइएको सहायक प्रवक्ता थापाले बताए ।

सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र बेससमेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामाग्रीसहित परिचालन हुनेछ भने एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रका रूपमा निरन्तरता दिनेछ ।

आवश्यकताबमोजिम स्थानीयबासी, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीसँग भेटभाट, अन्तरक्रिया, विपद् जोखिम न्यूनीकरण, मानव बेचविखन तथा सीमा अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुका साथै तराईका जिल्लामा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लामा समेत सीमा पैदल गस्ती गरिने थापाले बताए ।

सीमा पैदल गस्तीसम्बन्धी अवधारणा तयार पारेलगत्तै मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको सुरुवात गरेको छ । जसअनुसार नम्बर–१३ गण पर्साले सीमा सुरक्षाको संवेदनशिलतालाई मध्यनजर गर्दै सीमा नजिकका नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिई सीमा स्तम्भको समेत संरक्षणमा ध्यान राख्दै पैदल गस्तीको शुरुवात गरेको छ । अन्य सुरक्षा निकाय, स्थानीय प्रतिनिधि, सीमावासी नागरिक तथा भारतीय समकक्षीको उपस्थितिमा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले पैदल गस्तीको शुभारम्भ गरेका छन् ।

गस्तीमा तैनाथ कमाण्डरसँग स्थायी रूपमा ९७६७७२१४१५ नम्बरमा सम्पर्क गर्न सकिने सशस्त्र मुख्यालयले जनाएको छ । कमाण्डर बदलीपश्चात् पनि सोही नम्बर उपलब्ध गराइनुको साथै यसले सीमावासीलाई सम्पर्क र समन्वयमा सहयोग पुग्ने विश्वास सशस्त्र मुख्यालयले गरेको छ ।

गस्तीका क्रममा सीमाबासी नागरिकसँग अन्तरक्रिया कार्यक्रम, सीमा सुरक्षाको महत्व तथा सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको भूमिका र स्थानीय वासीको सहयोगको विषयमा समेत छलफल गरिएको थियो । सीमागस्तीको आवश्यकताअनुसार सम्बन्धित जिल्लाका गणपति, बाहिनीपति र प्रधान कार्यालयबाट समेत अनुगमन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासी बस्ती हटाउन ऐतिहासिक सफलता