काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’ को टिजर सोमबार रिलिज गरिएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर यही ३० चैतमा यो चलचित्र रिलिज हुँदै छ । यो चलचित्रमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायतको मुख्य भूमिका रहेको छ ।
भेनिस चलचित्र फेस्टिभलमा दुई–दुईवटा अवार्ड जित्न सफल यो चलचित्रको निर्माण संस्था आईसफल प्लसको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको हो । टिजरमा अभिनेता प्रविण खतिवडा मात्र देखिएका छन् । उनी र रातो सुटकेसलाई महत्व दिइएको छ ।
निर्माण टिमले चलचित्रको कथा र कथा वाचनको शैली प्रस्तुत गर्नेगरी टिजर निर्माण गरेको छ । टिजर ५२ सेकेन्डको छ । ‘डार्क थिम’मा टिजर प्रस्तुत छ । टिजरमा छायांकन, ध्वनि र रङको गज्जबको सम्मिश्रण देख्न सकिन्छ । टिजरले मिथ र यथार्थको कोलाजमा नेपालको आप्रवासी परम्परालाई उच्च दृश्यमार्फत प्रस्तुत गर्ने संकेत गरेको छ ।
निर्माण टिमले टिजरमा कलाकारको अनुहारभन्दा चलचित्रको कथालाई हाइलाइट गर्ने प्रयास गरेको देख्न सकिन्छ । निर्देशक फिडेल देवकोटाले कथा र कथा भन्ने तरिका आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सोहीअनुसार टिजर तयार गरेको बताएका छन् । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको चलचित्र फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो ।
श्रीलंकामा प्राविधिक काम गरिएको चलचित्रमा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सहनिर्माताका रूपमा रहेका छन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् भने चलचित्रमा समन अलभितिगाले सम्पादन गरेका छन् ।
गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल चलचित्र फेस्टिभल, स्विजरल्यान्डको जुरिच चलचित्र फेस्टिभल, भारतको मुम्बई चलचित्र फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।
चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकको संस्था बिसाटो डिओरोले डेब्यु चलचित्र निर्देशकका रूपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर चलचित्रको अवार्ड प्रदान गरेको थियो । चलचित्रले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर चलचित्रको अवार्ड जितेको हो ।






