पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि ३ जना प्रतिस्पर्धामा छन् । २ दिनमा सम्पन्न हुने भनिएको अधिवेशन ४ दिनदेखि जारी छ । निर्वाचन मण्डलले मंगलबार अबेर अन्तिम नामावली प्रकाशन गरेको हो । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् ।
क्षेत्री पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीनिकटका हुन् भने बास्तोला केन्द्रीय उपमहासचिव पृथ्वीसुव्वा गुरुङनिकट हुुन् । उनीहरु प्यानलबाटै उम्मेदवार हुँदा त्रिपाठीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उपाध्यक्षमा भेषराज बराल उपाध्यक्ष र शिवप्रसाद आचार्य, सचिवमा दर्शन लामा र सुरेन्द्र गुरुङ, उपसचिवमा गीतादेवी विश्वकर्मा र लालबहादुर परियार, उपसचिव (महिला) मा राधिका शाही योगी, संगीता सुवेदी र सन्तुदेवी सुवेदी प्रतिस्पर्धामा छन् ।
५ जिल्ला सदस्य खुलामा १५ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा ४५ क्लस्टर छन् ।
विद्युतीय मतदानबाट हुने मतदान प्रक्रियाबाट १ सय २१ सदस्यीय उम्मेदवार निर्वाचित हुने छन् । तीमध्ये ७ जना निर्विरोध भए । अपांगता क्लष्टरतर्फ गंगाबहादुर खड्का, बुद्धिजीवी क्लस्टरमा दुर्गा भण्डारी र विजय शर्मा सर्वसम्मत निर्वाचित भए । मादी गाउँपालिकाबाट महिलामा मादी गाउँपालिका उपाध्यक्षसमेत रहेकी कल्पना गुरुङ र विष्णुमाया पौडेल निर्विरोध भए । रुपा गाउँपालिकाबाट कशिरन मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ महिला सदस्य सर्वसम्मत भए ।
शनिबार एमाले महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका हुन् । नेतृत्व चयनमा सहमति नजुट्दा लम्बिएको हो । मतदान मंगलबार राति ७ देखि बुधबार बिहान ३ बजेसम्म हुने निर्वाचन तालिका छ ।






