धनगढी । सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने’bout नागरिक उन्मुक्ति पार्टीमा दुईथरी ह्वीप जारी भएका छन् ।
आज विश्वासको मत लिँदै
अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारको नेतृत्व गरेका कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप लगाएकी छन् भने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौरा थारूले सोको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।
यसअघि बुधबार नै अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद एवं प्रदेश सरकारकी कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरी प्रदेशसभा सचिवालयमा पत्र पठाएकी थिइन् । गिरी रेशम चौधरी पक्षकी प्रदेश सांसद् हुन् ।
पार्टी अध्यक्ष श्रेष्ठले गिरी पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएको तथा विधानअनुसार नचलेको भन्दै उनलाई कारबाही गरिएको बताएकी छन् । कारबाही गरिएको सो पत्र बुधबार नै प्रदेशसभामा दर्ता गरिएको छ । श्रेष्ठ पक्षधर मानिने टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले प्रदेशसभामा पत्र दर्ता गराएका हुन् ।
नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्षलाई कारबाही गर्ने अधिकार नभएको बताए । उनले आफू दलको नेता भएकाले आफूलाई जानकारीबिना कारबाही गर्ने अधिकार अध्यक्षलाई नभएको बताए ।
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गिरीलाई कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा पुगेको बताउँदै अध्ययनपछि मात्र निर्णय हुने बताए । उनले भने, ‘पत्र आएको छ, अध्ययन गरेर निर्णय लिनेछु ।’
मुख्यमन्त्री शाहले आज बिहीबार विश्वासको मत लिँदै छन् । यसका लागि उनी तयारीमा जुटेका छन् । कांग्रेसका १८ सिटसहित नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका १ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमतका लागि आवश्यक २७ मत पु¥याउने रणनीतिमा रहेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्तिको विवादले अप्ठेरोमा छन् ।
राप्रपा र स्वतन्त्र सांसदसमेतको समर्थनमा बहुमत जुटाउने रणनीतिनुसार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सांसदमध्ये पाँच जनालाई मन्त्री बनाएका छन् ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ सांसद आवश्यक पर्छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १८ जना, नेकपा माओवादी केन्द्र सभामुखसहित ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना र एक जना स्वतन्त्र गरी ५२ जना सांसद रहेका छन् ।
नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस
नागरिक उन्मुक्ति पाटीको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रहेका बोहरालाई समानुपातिक सांसदमा सिफारिस गरिएको हो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै गिरीको ठाउँमा बोहरालाई सिफारिस गरेकी हुन् । बोहरा टीकापुर निवासी हुन् ।
गिरी पार्टीको विधान र नीतिविपरीत सरकारबाट फिर्ता नभएपछि उनलाई कारबाही गर्दै बोहरालाई सिफारिस गरिएको टीकापुरका नगरप्रमुखसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रामलाल डगौराले बताए ।






