काठमाडौं । नायिकासँगै निर्माता बनेकी अभिनेत्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘बोक्सीको घर’लाई आगामी १४ बैशाखमा रिलिज गर्दैछिन् । उनले यो चलचित्रको अर्को गीतको भिडियो यतिबेला सार्वजनिक गरेकी छिन् । बोक्सीको घरको कथासार बुझाउने गीत बुझिन मैले…को भिडियो सार्वजनिक गरेकी हुन् । उनले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।
गीतमा गायक सपुतकै शब्द रचना तथा संगीत रहेको छ । यो गीतलाई समीक्षा अधिकारीले गाएकी छिन् । चलचित्रको कथा अनुसार यो गीत र भिडियो तयार पारिएको अभिनेत्री केकीले बताएकी छिन् । गीतको भिडियोमा सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन् । गीतमा केकीसँगै यो चलचित्रका अभिनेता एवम् निर्देशक सुलक्षण भारती र रमा थपलियाले अभिनय गरेका छन् ।
सुलक्षण भारतीकै लेखन रहेको यो चलचित्रमा बोक्सी जस्तो कु प्रथालाई उठान गरिएको छ । बोक्सीको घरलाई आठ वर्षअघि नाटकको रुपमा मञ्चन गरिएको थियो । त्यतिबेला आफुलाई यो नाटक साह्रै मन परेका कारण यसलाई चलचित्रको रुपमा तयार गरिएको अभिनेत्री केकीले बताएकी छिन् । यो चलचित्र सामाजिक कथाबस्तुमा थ्रिलर जनरामा तयार गरिएको पनि बताएकी छिन्,‘कमजोर महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषण जस्ता बिकृतीयुक्त कथामा हामीले यो चलचित्र निर्माण गरेका छौं ।’ केकीले भनिन् ।
यो चलचित्रलाई नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने केकीले बताएकी छिन् । चलचित्रका अन्य निर्मातामा बाबु बद्री अधिकारी र राज घिमिरे रहेका छन् । यो चलचित्रमा केकी अधिकारीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । यो चलिचत्रलाई टिफल्क फिल्मसले वितरण गर्दैछ ।






