धनगढी । कैलालीस्थित धनगढी उपमहानगरपालिकाले रात्रीकालीन सौन्दर्यका लागि धनगढीको क्याम्पस चोकदेखि अनामनगरसम्मको हुलाकी सडकमा स्ट्रिपलाइट जडान गरेको छ ।
‘उज्यालो धनगढी’ अभियान कार्यक्रमको चौथो चरणको खण्ड ‘ख’ अन्र्तगत धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने क्याम्पस चोकदेखि अनामनगरसम्मको हुलाकी सडकमा स्ट्रिपलाइट जडान गरिएको हो ।
जडित स्ट्रिपलाइटको शुक्रबार साझ धनगढी नगर उपप्रमुख कन्दकलाकुमारी रानाले एक कार्यक्रमका बीच उद्घाटन गरिन् । स्ट्रिपलाइटको उद्घाटन गर्दै उपप्रमुख रानाले धनगढीमा सडक निर्माण, लाइट जडान र सडक क्षेत्रको सौन्दर्यीकरण गर्न उपमहानगरले काम गरिरहेको बताइन् ।
उनले सडक सुरक्षा र सुन्दरतालाई ध्यानमा राखेर लाइट जडान गरिएको बताउदै धनगढीमा निर्माणाधीन सडकहरूमा समेत क्रमशः बत्ती जडान गरिने बताइन् । उनले उज्यालो र हरियाली धनगढी बनाउनका साथै सडक सुरक्षा र सुन्दरता प्रवद्र्धन गर्न उपमहानगरपालिकाले काम गरिरहेकोले नगरवासी सबैले त्यस कार्यमा साथ दिन आग्रह गरिन ।
धनगढी उपमहानगरले २ लाख ९८ हजारको लागतमा हुलाकी सडकको २२ वटा पोलमा स्ट्रिपलाइट जडान गरेको धनगढी उपमहानगरका विद्युत शाखा प्रमुख इन्जिनियर किसन शाहले बताए । यसअघि त्यसक्षेत्रमा सडकबत्ती जडान गरिसकेको र रात्रीकालीन सौन्दर्यका लागि स्ट्रिपलाइट जडान गरिएको प्रमुख शाहले जानकारी दिए ।
जडित स्ट्रिपलाइट विभिन्न रंगचंगीका रहेका छन् । स्ट्रिपलाइट जडान पछि क्याम्पस चोकदेखि अनामनगरसम्मको हुलाकी सडकमा रात्रीकालीन समयमा उज्यालोका साथै त्यसक्षेत्रको शोभा बढाएको स्थानीयले बताए ।






