यतिबेला सरकारमा गृहमन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले गरेका छन् । यसअघि केही समय सो मन्त्रालय सम्हालेका सो पार्टीका अध्यक्ष रवि लामिछानेले अपराध, भ्रष्टाचार र अनियमिततामा संलग्न ठूूला माछा समात्ने उद्घोष गरी आफू चर्चामा आएका छन् । यतिबेला नेकपा एमालेसमेत सम्मिलित वर्तमान सरकारको नेतृत्व नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गरेका छन् । संसदीय परम्परामा संसदबाट विश्वास प्राप्त व्यक्तिको नेतृत्वमा निजले चाहेका व्यक्ति सामेल गराएर मन्त्रिमण्डल गठन गर्ने प्रचलन छ । यस्तो सरकारमा प्रधानमन्त्रीय सर्वोच्चता लागू हुन्छ । सरकारको जस, अपजस यसको नेतृत्वकर्ता प्रधानमन्त्रीमा जान्छ । त्यसकारण प्रधानमन्त्री पदबाट बाहिरिनासाथ अन्य मन्त्रीहरू स्वतः बाहिरिन्छन् । संसदले पनि प्रधानमन्त्रीलाई विश्वास गर्ने हो, मन्त्रीलाई होइन ।
यो तथ्यलाई ओझेलमा पारी वर्तमान गृहमन्त्रीलाई एकल जस लिनेगरी प्रचारप्रसार गरिएको छ । सानातिना केही काम भएकोमा पनि गृहमन्त्रीकै कारण भएको उपलब्धि भनेर झयली पिटिएको छ । तर, वास्तविकता अर्कै छ । धेरै अपराध, धेरै अनियमितता र भ्रष्टाचारका विषय ओझेलमा छन् । तिनीहरू अझै पनि गुमनाम छन् । यहाँ मानुको कुरा गरेर मुरी अल्मलाइएको स्थिति छ । पदबहालीको लगत्तै उपप्रधानसहित गृहमन्त्रीको भूमिकामा रहेका लामिछानेले निर्मला पन्तको हत्याको खोजी गर्ने बाचा गरेका थिए । तर, आज यी सबै कुरा भन्नका लागि मात्र भनिएको रहेछ भन्ने प्रमाणित भएको छ ।
खोजी खोई ?
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको लामै समय भयो । १० साउन २०७५ मा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यारालाई खोजी कारबाही गरिपाऊँ भनी पन्तका परिवार र सिंगो कञ्चनपुरे समाजले हारगुहार गरे पनि आजपर्यन्त बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन । एउटा कृत्रिम मान्छे खडा गरी यही हो निर्मलाको हत्यारा भनेर देखाउने प्रयास पनि विगतमा भयो । कानुनी आधारले पुष्टि हुन सकेन । कसैद्वारा प्रायोजित नक्कली हत्यारालाई छुट दिइयो । हाल मृतककै छिमेकी जिल्लाका शक्तिशाली सांसद पूर्व प्रधानमन्त्री छन्, उनकै पार्टीका अर्का निकै शक्तिशाली महिला सांसद छन् । आफूलाई पुराना नेता र दलभन्दा भिन्न भएको बताउने, माछो, भ्यागुतो, सर्प कसैलाई पनि नछाडने बताउँदै आएका अर्को पार्टीका नेता गृहमन्त्री छन् । तैपनि, सो घटना पहेली नै बनेर आएको छ । किन गरिँदैन छानबिन ? अन्यत्र निकै चर्को डाँको गर्ने गृहमन्त्री यो घटना’bout किन मौन छन् ? छानबिन र खोजी गरिने कुरा किन गर्दैनन् ? कहिलेसम्म नमिता, सुनिताको नियति निर्मलाको परिवारले भोग्नुुपर्ने हो ? अपराधी कहिलेसम्म लुुक्ने हो ? अपराध कहिलेसम्म गुमनाम हुुने हो ? वर्तमान गृह नेतृत्वले यसको जवाफ दिनुपर्दैन ?
निहारिका प्रकरण
केही वर्षअघि २० वर्षीया निहारिका राजपुतले राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरिन् । उनले ६ कात्तिक २०७६ का दिन बेलुका धनुषा जनकपुर–४ स्थित शिवराज श्रेष्ठले कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । उनले यसविरुद्ध २०७६ को फागुन ११ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसअघि नै प्रहरीमा दिएको निवेदनमा निहारिकाले श्रेष्ठसँग श्रीमान–श्रीमतीको सम्बन्धमा रहेको र आफूलाई हकअधिकार दिलाइ पाऊँ भनेर उल्लेख गरेकी थिइन् । अदालतले ‘जबर्जस्ती करणी भएको पुष्टि नहुने’ तर, बच्चाको हकमा ‘छुट्टै कानुनी उपचारबाट सम्बोधन प्राप्त हुने’ भन्ने फैसला गरेको थियो । पीडितको आत्मदाहको प्रयासपछि भने यसरी फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश सर्वोच्च अदालत तानिएका थिए ।
धेरै अपराध, धेरै अनियमितता र भ्रष्टाचारका विषयहरू ओझेलमा छन्
निहारिका जबर्जस्ती करणीबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेर काठमाडौंमा अनशन पनि बसेकी थिइन् । उनीसँग माग पूरा गर्ने प्रतिबद्धतासहित तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले अनशन तोडाएका पनि थिए । सो प्रतिबद्धता कार्यान्वयन नगरिएपछि उनले आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग पूरा गर्नलाई अनशन नै बस्नुपर्ने र आत्मदाहको असफल प्रयास गर्नुपर्ने यो नियति निहारिकाको मात्र होइन, हजारौं निहारिका यही नियतिको सिकार भएका छन् ।
यसो त उनी जुन संस्थाका अगाडि अन्याय भएको अनुुभूति गराउने उद्देश्यले आत्मदाह गर्ने बाटो रोजिन्, सो संस्थाकै प्रमुखले पनि न्याय नपाएको वर्षांै भइसकेको अवस्था छ । विचरा निहारिकालाई यति परको कुरा के थाहा ?
तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आजभन्दा तीनदशक अघि दाशढुंगामा भएको दुर्घटनाको कारण र रहस्य हिजो उनकै पत्नी स्वयं मुलुककै सर्वोच्च संस्था राष्ट्रपतिको पदमा बस्दै गर्दा पनि घटनाको सत्यतथ्य बाहिर आउन सकेन । प्रकारान्तरले तत्कालीन राष्ट्रपतिउपर पनि मुलुकले न्याय गरेको छैन । आफ्ना पतिको दुर्घटना हो वा सुनियोजित हत्या हो ? यसको जवाफ पाउने अधिकार मदन भण्डारीकी धर्मपत्नी हुनुका नाताले पूर्वराष्ट्रपतिलाई पुरापुर छ । तर, राज्यले उनको हकसमेत हनन गरेको अवस्थामा विचरी निर्मला ? विचरी निहारिकाले कसरी न्याय पाउन सक्लान् ? मोफसलकी निम्नपरिवारकी एउटी बालिका, उनको सुनवाइ कसले गर्ने ? किन गर्ने ? राज्य यस सम्बन्धमा अनुत्तरदायी नै देखियो र देखिँदै छ । महादेव नै उत्ताना छन्, वरको आशा कोसँग गर्ने ?
बलात्कार, ठगी खाने माध्यम !
पछिल्लो समयमा समाजमा बलात्कारको बिगबिगी देखिन्छ । महिला हुनु नै अपराध हो त ? महिलाको जन्म बलात्कार हुनकै लागि भएको हो त ? प्रश्न उठ्न थालेका छन् । जबर्जस्ती करणी, ललाइफकाइ यौनशोषण तथा सतित्व हरण गर्नु समेत बलात्कार हो । आजकल मात्रामा फरक होला तथापि घटनाका रूपमा भने यो सर्वत्र घटेको देखिन्छ ।
करिब दुुई वर्षअघि बझाङको बुंगल नगरपालिकाको रारु भन्ने ठाउँमा एकै घरका तीन जना (आमा, छोरी र छोरा)ले आत्महत्या गरे । आत्महत्या गर्ने २२ वर्षीया आमा गीता पार्कीलाई उनका पति विदेश रोजगारीमा गएको मौका छोपी झलक नेपालीले मदिरा सेवन गरी बलात्कार गर्ने गरेको रहस्य खुलेको थियो । यसरी बलात्कृत भएको कुरा उनका पतिले थाहा पाएपछि यी दुुईबीच खटपट सुरु भएको र उनी मानसिक रूपमा विक्षिप्त भएको स्थानीयले बताएका थिए । बारम्बार बलात्कृत हुँदा उनी डिप्रेसनमा रहेको बताइएकी थिइन् । यसैकारण उनले छोराछोरीसहित रुखमा झुन्डिएर आत्महत्या गरेको हुनसक्ने अनुमान उतिबेला गरिएको थियो ।
यसो त विगतमा बझाङककै मस्टा गाउँपालिका, २ खिकालाकीमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको थियो । उनको शव स्थानीय शिवमन्दिर नजिकै फेला पारिएको थियो । बलात्कारपछिको हत्या अभियोगमा सोही गाउँका राजेन्द्र बोहरा पक्राउ परेका थिए ।
यो नै नेपालको बलात्कारसम्बन्धी अन्तिम घटना थिएन । न पछिल्लो घटना नै थियो । बलात्कारको शृंखला अविरल रूपमा बढ्दो छ । नेपालको कानुनअनुसार कसैको मन्जुरीबिना करकाव, डर, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौनक्रियालाई बलात्कार भनिन्छ । उमेर नपुगेका बालिकालाई ललाइफकाइ, मन्जुरी लिई वा नलिई गरिने यौनकार्यलाइ पनि बलात्कारका रूपमा लिइन्छ । कुनै महिलामाथि बलात्कार हुनुका थुप्रै कारणहरू हुन सक्दछन् तर तीमध्ये मुख्य कारणचाहिं महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पुरातनवादी सोच नै हो ।
एकाध अपवाद छाडेर हेर्दा महिलाको शरीरलाई खेलौना तथा मनोरञ्जनको साधनका रूपमा हेर्ने पुरुषको भोगवादी संस्कारका कारणले नै महिलामाथि बलात्कारका घटना हुने गरेका छन् । बलात्कारका घटना हुनुका अन्य कारणमा पुरुष वैदेशिक रोजगारीका लागि विदेश जानु, स्कुल तथा कलेजमै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड संस्कृतिको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर)का कारणले पनि बलात्कारको घटना बढाउन सघाएका छन् ।
निहारिका प्रकरणमा पनि आरोपी श्रेष्ठले भने आफ्नो निहारिकासँग प्रेम भएको तर शारीरिक सम्बन्ध नभएकाले सो बच्चा स्विकार्न नसकिएको बताएका थिए । त्यतिबेला उनले राष्ट्रियस्तरको टेलिभिजनसँग कुरा गर्दै निहारिकाले आफूसँग अढाइ लाख रुपैयाँ मागेको र नदिएपछि खटपट सुरु भएको बताएका थिए ।
गृहमन्त्रीको सक्रियता सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा प्रकरण, गिरीबन्धु टी–स्टेटलगायतमा पनि देखिन जरुरी छ
आज आएर राजनीतिक दलका चर्चित केही नेता’bout पनि महिला हिंसा, अनैतिक सम्बन्धका आरोप सार्वजनिक हुने गरेका छन् । आर्थिक लेनदेनकै लागि महिलालाई यस्तो आरोप लगाएका हुन् वा वास्तविकता नै हो भन्ने कुरा अहिले अनुमानका भरमा भन्न सकिँदैन । एउटा के कुरासम्म गर्न सकिन्छ भने बलात्कारजस्ता विषयमा तत्काल उजुर नगरी किन दिन घटकेपछि गरिन्छ ? तत्काल किन गरिँदैन ? यो रहस्यले भने अन्य धेरै कुरा सोच्न बाध्य गराएको छ । पछिल्लो संस्करणका रूपमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल यसैको सिकार बनेका छन् ।
कुरो मिल्दा लामो समयसम्म माया प्रेम गर्ने, गेट टुुगेदर, लिभिङ टुगेदरका सबै कर्मकाण्ड पूरा गर्ने, घटना गुमनाम पार्ने, अनि कुरो नमिल्दा बलात्कार भन्ने, आफ्नो बच्चालाई पनि नस्विकार्ने प्रवृत्ति हाबी देखिन्छ । यसले गर्दा हाम्रो समाज कता जाँदै छ ? सोचनीय छ ।
बलात्कार र यसैका कारण गर्भधारण भई बेवारिसे शिशुु जन्माएर घर न घाटको बनाउनेको कथाव्यथा अलग छ । स्थानीय पालिकामा रहेको न्यायिक समिति पनि बलात्कारविरुद्ध खासै कारबाही गर्नभन्दा आपसमा मेलमिलाप गराउनतिर उद्दत देखिन्छ । यसले गर्दा बलात्कारीको आत्मबल बढ्नुका साथै बलात्कृतको मानसिकता दिनप्रतिदिन कमजोर बन्दै गएको देखिन्छ ।
अर्को कुरा मन मिल्दासम्म ठीक नत्र बलात्कार भन्ने प्रवृत्ति पनि हानिकारक छ । लामो समयसम्म सँगै रहँदा बस्दा ठीक हुने मन नमिलेपछि पुराना घटना उधिनेर उजुरी गर्ने र बलात्कारको आरोप लगाउने हो भने यस्ता घटना नियतिलेभन्दा बढी नियतले घटेको देखिन्छ । तसर्थ, नियतप्रधान घटनालाई भने कुनै पनि हालतमा प्रश्रय दिनुहुँदैन ।
यी र यस्तै प्रकारका अन्य घटना धेरै गुमनाम छन् । अपराधी कोही लुकेका छन्, कोही खुलेआम छन् । कारबाही गर्ने निकाय घटना, त्यसमा संलग्न पात्र र उनीहरूको पहुँचलाई हेरेर मात्र अघि बढ्ने गर्दा न्यायमा समानता आउन सकेको छैन । गृहमन्त्रीले जतिसुकै चर्को डाँकोमा बोले पनि जसले जहिले जसरी न्याय पाउनुपर्ने हो, त्यो नपाएको अवस्था छ । एकपछि अर्को काण्डको जन्मले अघिल्ला अपराध ओझेलमा पर्ने गरेका अनेकानेक उदाहरणहरू छन् । राजनीतिक पहुँच वा व्यक्तिको शक्तिलाई हेरेर न्याय वितरण गरिनुहुँदैन । पात्र फेरिएला तर उही प्रवृत्ति हाबी रहेसम्म गुमनाम घटना र फरार अपराधीको अवस्था उस्तै रहने निश्चित छ ।
गृहमन्त्रीको सक्रियता सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा प्रकरण, गिरीबन्धु टी–स्टेटलगायत्मा पनि देखिन जरुरी छ । जस लिन हतारिनेले लुकेका अपराधीउपर पनि निगरानी राखी कारबाही गरेर देखाउन सक्नुपर्छ । आमनागरिक यसैको प्रतीक्षामा छन् ।






