इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो उपनिर्वाचनमा एमालेलाई जिताए इलामको विकासको जिम्मा आफूले लिने बताएका छन् ।
उनले वैशाख १५ को निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउन आग्रह गर्दै सुहाङ सबैथोक त्यागेर इलामको विकास गर्न आएको बताए । देउमाई नगरपालिकाको मंगल’boutमा आज (बुधबार) आयोजित चुनावी सभामा ओलीले भने, ‘सुहाङलाई सूूर्य चिह्नमा भोट हालेर विजयी गराउनुस्, इलामको विकासको जिम्मा म लिन्छु, एमालेले लिन्छ ।’ अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासको जग बसालेको भन्दै अहिले पनि सुहाङ पैसा कमाउन नभई इलामको सेवा गर्न उम्मेदवार बनेको बताए ।
‘सुहाङ अधिवक्ता हुनुुहुन्छ, उहाँलाई महिनामा केही लाख कमाउन कुनै समस्या छैन तर उहाँ त्यो सबै लोभ त्यागेर इलामको विकास गर्न, इलामलाई समृद्ध बनाउन आउनुभएको छ,’ ओलीले भने, ‘सुहाङलाई आउँदो निर्वाचनमा जिताएर मलाई भेट्न आउनुहोला, आज भनेको सबै कुरा पूरा हुनेछ ।’
इलाम क्षेत्र २ ले यसअघि पनि सक्षम उम्मेदवार (सुवासचन्द्र नेम्बाङ) जिताएर पठाएको, जसले संविधान बनाएको र अब पनि सक्षम उम्मेदवार इलामले पाएको बताए ।
‘एमालेले यत्तिका सक्षम उम्मेदवार सुहाङलाई उठाएको छ, अरू त्यतिविघ्न उम्मेदवार किन उठेका होलान्, सुहाङलाई सहयोग गरे भइहाल्यो नि !’ उनले भने, ‘एमाले विकास गर्ने पार्टी हो, नागरिकलाई झुक्याउँदैन, अल्मल्याउँदैन । सुहाङ इमान्दार र योग्य युवा उम्मेदवार हुन्, त्यही भएर अरू दलले समेत सुहाङलाई समर्थन गरेका छन् ।’
ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए । उनले भने,‘ हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौ ।
उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा सस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । वनले भने हामीले सङ्घीयताको कुरा संविधानमा लेख्यौ, भाषा सस्कृती र पहिचानको कुरा लेख्यौ अहिले त्यही संविधान पढेर हामीले लेखेको कुरा अहिले हामीलाई सुनाउने ।सामाजिक सद्भाव कायम गर्न र सामाजिक समानता कायम गर्नु एमाले लागेको बताए । उनले सबै धर्म भाषा, भाषी, सस्कृतीको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुने बताए
मिलन र डकेन्द्रलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई उपनिर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधिएको छ । उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र आचार्यले मिलन र डकेन्द्रसिंहलाई २४ घन्टाभित्र जबाफ माग्दै लिखित स्पष्टीकरण सोधका हुन् । रास्वपा उम्मेदवार मिलनविरुद्ध निर्वाचन प्रचारप्रसार तथा मत माग्नेक्रममा मापदण्डविपरीत ठूला–ठूला ब्यानर, फोटो, स्टेन्ड बनाइ टाँस गरेको भन्ने उजुरी परेको अनुगमन अधिकृतले जनाएका छन् ।
‘आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा देखिएको फोटो वा प्रचार सामग्री तपाइँको होइन वा तपाइँले नै टाँस गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ योङहाङलाई सोधिएको स्पष्टीकरणको पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको हुँदा अविलम्ब उक्त सामग्री हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नुपर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र चित्त बुझ्दो जबाफ पेस गर्नहुन जानकारी गराइन्छ ।’
अर्का उम्मेदवार डकेन्द्रले निर्वाचन प्रचारप्रसार तथा मत माग्नेक्रममा मापदण्ड विपरीत नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले नयाँ वर्ष–२०८१ को शुभकामना एवं निर्वाचनमा आफूलाई मत मागेको भिडियोलाई तोडमोड गरी साउन्ड डबिङ गरी डकेन्द्रकै नाममा मत मागेको स्पष्टीकरणपत्रमा उल्लेख छ ।
‘उजुरी परेको सम्बन्धमा आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा बुझ्दा उक्त कार्य तपाइँबाट भएको होइन वा तपाइँले नै गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको देखिँदा अविलम्ब उक्त सामग्री सामाजिक सञ्जालबाट हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नु पर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र चित्तबुझ्दो जबाफ पेस गर्नहुन जानकारी गराइन्छ ।’






