काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाएर नयाँ दल गठन भएको छ । जसपाका नेता एवं सांसद अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको हो । राई नेतृत्वको समूहले आइतबार निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएको छ ।
अशोक राईको नेतृत्वमा नयाँ दल गठन
आइतबार बसेको असन्तुष्ट नेताहरूको बैठकले यादवको मनोमानी कार्यशैलीविरुद्ध नयाँ दल गठन गर्ने निर्णय गरेको हो । असन्तुष्ट समूहका नेता प्रमोद गुप्ताले यादवको मनोमानी कार्यशैली र आफूखुसी चल्नेलगायतका विभिन्न कारणले नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको बताए ।
जसपामा १२ जना सांसद रहेका छन् । जसमध्ये ७ जना सांसद राई नेतृत्वको नयाँ दलमा रहेका छन् । नयाँ दलको अध्यक्षमा राईलाई राखिएको छ । वन तथा वातावरणमन्त्रीसमेत रहेका नवलकिशोर साहले पनि नयाँ दललाई साथ दिएका छन् । सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, रञ्जु झा, सुशीला श्रेष्ठ र हसिना खान पनि नयाँ दलमा रहेका छन् । संघीय सरकारमा राज्यमन्त्री रहेका दीपक कार्की भने नयाँ दलमा असहमति जनाउँदै यादव नेतृत्वकै जसपा नेपालमा फर्किएका छन् ।
जसपा नेपालका अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजनको निर्णय भएको हो । यादवले राजेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । तर, कार्यवाहक अध्यक्ष श्रेष्ठ पनि विभाजनको पक्षमा उभिँदै नयाँ दलतिर लागेका छन् ।
नेतृत्व एकलौटी रूपमा चलेकाले जसपा नेपालबाट अलग हुँदै नयाँ दल गठन गरेको सांसद प्रदीप यादवले जनाएका छन् । ‘आसन्न महाधिवेशनका लागि अध्यक्ष एकलौटी ढंगले चल्नुभयो, आफूखुसी सदस्यता बाँड्ने, सरसल्लाह नगर्ने, सांसदहरूको मानमर्दन गर्ने, अवसरको न्यायोचित वितरणभन्दा पनि गणेश परिक्रमामा धेरै ध्यान दिने, काम गर्नेलाई पाखा गर्ने व्यवहार भएकाले अलग हुनुपरेको हो,’ यादवले भने ।
नयाँ दलतिर लागेका जसपाका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरूसँग बहुमत सांसद र सदस्यहरू रहेको दाबी गरेका छन् । जसपाले अहिलेकै गठबन्धनमा रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने श्रेष्ठले बताए । सत्ता गठबन्धनमा कुनै फेरबदल नहुने बताउँदै उनले अहिलेकै सरकारलाई समर्थन रहने बताए ।
श्रेष्ठले आफूहरू अहिलेकै सरकारको निरन्तरताको पक्षमा रहेको स्पष्ट पार्दै भने, ‘हिजोको घोषणापत्र, विधान, नीति तथा कार्यक्रम निरन्तरता दिन्छौं, बहुमत सांसद हामीसँग छन्, बहुसंख्यक प्रतिनिधिसभा सांसदसहित सदस्यहरूको यो नयाँ दल दर्ता भएको छ, हामी त ऐतिहासिक रूपमा बनेको सरकारको निरन्तरताको पक्षमा छौं, राजनीतिक अस्थिरताको चर्चा तथा परिचर्चा भइरहेको बेलामा हामी स्थिरताको पक्षमा छौं ।’
राईको नेतृत्वमा जसपा विभाजन भएपछि अब यादव समूहमा पाँच जना सांसद मात्रै रहेका छन् । यादवसहित सांसदहरू राजकिशोर यादव, प्रकाश अधिकारी, दीपक कार्की रेखा यादव रहेका छन् । नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा अशोक राई अध्यक्ष रहेका छन् ।
राजेन्द्र श्रेष्ठलाई संघीय परिषद्को अध्यक्षको जिम्मेवारी दिइएको छ । सहअध्यक्षमा रेणुकुमारी यादव, उपाध्यक्षमा नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ रहेका छन् । महासचिवमा मो. इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र कोषाध्यक्षमा डा. वीरेन्द्र यादव रहेका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरूमा आङ्काजी शेर्पा, मोहनलाल चौधरी, कृष्णबहादु घजु, लालबहादुर तामाङ, राधा तिमिल्सिना, सीमा सिंह, कमला विश्वकर्मा, शोभा ब्रजाचार्य, प्रमोद गुप्ता, पारस साह, पञ्चलाल महर्जन, केशव पौडेल, मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, नानु थामी, हेमन्तराज भण्डारी माण्डव्य, पिंकीदेवी यादवलगायत छन् ।
तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल गठन भएदेखि करिब तीन दशकसम्म यादव अध्यक्ष रहँदै आएका थिए । विभिन्न समयमा विभिन्न समूहसँगको एकीकरण र विभाजनका कारण पार्टीको अधिवेशन समयमा हुन नसक्ने, आफू जसरी पनि पार्टी अध्यक्ष हुने र मनोमानी गर्ने कार्यशैलीका कारण नेताहरू अध्यक्ष यादवसँग असन्तुष्ट थिए ।