चुच्चे नक्साको भूभाग उपभोग गर्न कहिले पाइन्छ ?

चुच्चे नक्साले नेपाल पुनः एकपटक तरंगित भएको छ । उहिले नक्सालाई नेपालको संविधानको अंग बनाइँदा र तदनुरूप छापिँदा तरंग पैदा भएको थियो भने अहिले नेपाली नोटमा सो नक्सा समावेश गर्ने निर्णयले पुनः सानोतिनो हलचल पैदा गरेको छ । नेपालको संसद्ले सर्वसम्मतिले निर्णय गरेर स्विकारेको नक्सालाई नेपालले जहाँतहीँ आफ्नो आधिकारिक नक्साका रूपमा चित्रित गर्नु कुनै ठूलो अनौठो वा आश्चर्य हुँदै होइन । वास्तवमा नेपालको आधिकारिक नक्सा अब त्यही चुच्चे नक्सा नै हो । तर पनि किन एकखाले हलचल पैदा भएको छ त ? वास्तवमै बुझिनसक्नु छ ।

जहाँसम्म चुच्चे नक्सामा समावेश गरिएको भूभाग अर्थात् कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको प्रश्न छ, त्यो निर्विवाद रूपमा नेपालको हो । यसमा लामो विवाद र बहस नै छैन । भारतका तत्कालीन अंग्रेज शासकसँग भएको सुगौली सन्धिनुसार महाकाली नदीभन्दा पूर्वी भूभाग नेपालको हो र महाकाली नदी आफ्नो उद्गम स्थलबाट उल्लिखित भूभागको पश्चिमबाट बग्छिन् । तर, सत्य के पनि हो भने सन् १९६२ देखि त्यस क्षेत्रमा भारतीय सेनाले कब्जा गरेर बसेको छ, अर्थात् त्यो क्षेत्र नेपालले भोगचलन गर्न पाएको छैन । भनिन्छ, तत्कालीन राजा महेन्द्रले चीनसँगको युद्धमा परास्त एवं थकित भारतीय सैनिकलाई त्यहाँ बस्न दिएका थिए र तिनीहरू कब्जा जमाएर बसिरहे । त्यसबीच कालापानीको उत्तर पूर्वी कुनामा एउटा सानो कालीको मन्दिर निर्माण गरेर त्यही छेउबाट झरेर तल महाकाली नदीमा मिसिने एउटा खोल्सोलाई महाकालीको उद्गम भनी प्रचार थालियो ।

यस प्रकरणमा सबैभन्दा रमाइलो पक्ष के हो भने कुनै पनि नेपाली शासकले भारतीय राजनीतिक नेतृत्वसँग सुगौली सन्धि, महाकालीको मौलिक प्रवाहस्वरूप र सन् १९६२ भन्दाअघिको भोगचलनका प्रमाण प्रस्तुत गरेर आफ्नो कुरो राखेको सुन्न पाइएन । महान् राष्ट्रवादी ओली, महानतम क्रान्तिकारी प्रचण्ड वा मुलुकहितमा कहिल्यै सम्झौता नगर्ने सुदूरपश्चिमवासी देउवा कसैले पनि यस भूभागका ’boutमा स्पष्ट कुरो भारतीय नेतृत्वसमक्ष राखेको थाहा भएन । सार्वजनिक खपतका लागि सोझासाझा नेपालीको भावनासँग खेल्ने कामचाहिँ सधैं भयो ।

संविधानमा चुच्चे नक्सा समावेश गरेर वा अहिले नोटमा राख्ने निर्णय गरेर के हासिल भयो ? नेपाली जनताको दिमाग उद्वेलित त भयो नै, हामी रमायौं पनि । तर, भारतको कब्जामा रहेको त्यो भूभाग फिर्ता पाइयो ? अथवा, नेपालले सो जमिन भोगचलन गर्न पायो ? सारमा भन्ने हो भने हामीले हाम्रो भनेर नक्सामा राखेको सो भूभाग भारतको कब्जामा छ । त्यस क्षेत्रमा बसोबास गर्ने जनताले अहिले भारतीय लोकसभाका लागि भइरहेको निर्वाचनमा मतदान गर्दै छन् ! यस्तो अवस्थामा कुनै तात्विक उपलब्धि हासिल नहुनेगरी चुच्चे नक्साको हल्ला बारम्बार किन मच्चाइँदै छ ? उत्तर पाउन गाह्रो छ । सुगौली सन्धि र महाकाली नदीको मौलिक स्वरूपको प्रमाणसम्म तेर्साउने क्षमता पनि हामीसँग छैन ? यदि छैन भने त यो सब होहल्लाको कुनै अर्थ रहन्छ ? सबै प्रमाण हामीसँग छ र हामीले प्रस्तुत पनि गरेको तर भारतले टेर्दै नटेरेको हो भने यस मामिलालाई अन्तर्राष्ट्रीयकरण गर्न हामीलाई केले र कसरी रोक्यो ? छिमेकीसँग धेरै तिक्तता पैदा गर्न हुन्न भन्ने तर्क दिइएला । त्यसो हो भने त चुच्चे नक्साको बारम्बार होहल्ला पनि गर्न हुँदैनथ्यो नि !

तमाम तर्क वितर्क र बहसपश्चात् भन्नैपर्ने हुन्छ– चुच्चे नक्साको प्रचार प्रसारका पछाडि कुनै निहित उद्देश्य लुकेको छ । त्यो उद्देश्य निश्चित रूपमा गुमेको भूभाग प्राप्त गर्ने चाहिँ हुँदै होइन । गुमेको भूभाग फिर्ता लिने बाहेकको अरू कुनै पनि उद्देश्य छ भने नेपालको हितमा पटक्कै नहुनसक्छ । आमजनताको कमलो भावनामाथि खेलेर उनीहरूको दिमाग कब्जा गर्ने र आफू महान् राष्ट्रवादी बन्ने मात्र उद्देश्य हो भने त त्यो अपराध नै हो । यसरी बेमतलवको प्रचार प्रसारले विशाल शक्तिशाली दक्षिणी छिमेकीमा अनाहकको चिढचिढोपन विकास हुन्छ । हाम्रो हितको पक्षमा कुरो गर्दा कोही रिसाउँछ भने रिसाउन् ! तर, हाम्रो पटक्कै हित नहुनेगरी अरू कोही रिसाउँछन् भने त्यस्तो काम गर्नुको कुनै अर्थ हुन्न । यस्तो होहल्लाले कुनै तेस्रो पक्ष खुसी हुन्छ र त्यसका कारण हामीलाई गजब फाइदा हुन्छ भने पनि ठीक छ । तर, त्यो कुरो जनतालाई स्पष्ट रूपमा थाहा हुनुपर्छ । चुच्चे नक्साको अनाहकको होहल्ला रोकियोस् । चुच्चे नक्सामा समाहित भूभाग नेपालले उपभोग गर्ने स्पष्ट मार्गचित्र नेपाली जनता सामु ल्याइयोस् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब