इस्माका अग्नी पीडित भन्छन्–‘स्थायी आवास बनाइदिए सहज हुन्थ्यो’

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नम्बर २ सिन्दुखा र वडा नम्बर ४ को हुल र कोटकोटेरीको सिंगो गाउँ सखाप भयो । आफ्नो घर–गोठ जलेपछि पीडितहरु छिमेकीकोमा रात कटाएपनि उनीहरुले स्थायी आवासको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।

इस्मा गाउँपालिका –४ दोहोली कोटकोटेरीका बिमला अधिकारीले छ बर्षअघि दुईतले घर बनाइन् । घर बनाउदा लागेको ऋण तिर्न श्रीमान परदेश गए । नयाँ घरमा छोराछोरीसहित बिमलाले जेनतेन गुजारा चलाइरहेकी थिइन् ।

तर बिमलाको परिवारलाई नयाँ घरमा धेरै बस्न भाग्यले दिएन । वैशाख ८ र ९ गते लागेको भिषण आगलागीले उनको घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भयो । ‘घर जलेको खबर मैले श्रीमानलाई भन्नै सकेकी थिइन्, तर नभनी पनि भएन ।’ उनले भनिन्, ‘ऋणमाथि बनाएको घरसँगै खुसि पनि जलेको छ ।’ उनले अहिले पनि घर बनाएको ऋण भएको बताइन् । श्रीमान रोजगारीको लागि रोमानिया गएपनि त्यहाँ सोचेजस्तो कमाई नभएकोले अहिले तत्काल घरमा पैसा समेत पठाउन नसक्ने बताएको बिमलाले सुनाइन् ।

उनको छोराले एसइई दिएका छन् भने छोरी गाउँकै विद्यालयमा कक्षा ५ मा प्रथम भएकी थिइन् । तर छोरीले पाएको पुरस्कार पनि घरसँगै जलेको छ । बिमलाको परिवार अहिले छिमेकीको घरमा गुजारा चलाएको छ । ‘सधैभरी छिमेकीकोमा बस्ने कुरा पनि भएन, सरकारले स्थायी आवास बनाइदिए राम्रो हुनेथियो ।’ उनले भनिन् ।

सोही आगोमा परेर कोटकोटेरीको सुरेन्द्र विकको पनि घर जल्यो । छोराको आफ्नो परिवार एउटै घरमा दुई परिवार भएर बसेका थिए । छोरा–बुहारीले टेलरिङ्ग पसल संचालन गरेका थिए भने सुरेन्द्र र उनकी श्रीमतीले किराना पसल संचालन गरेका थिए । त्यसबाट उनीहरुको जिविकोपार्जन भएको थियो । तर वैशाख ९ गतेको आगोले उनीहरुको घर, लत्ताकपडासँगै खुसि पनि जल्यो । पहिले गाउँमै व्यापार गरिरहेका विक परिवार अहिले आवासको खोजिमा छन् । ‘भएको घर जल्यो, अहिले छिमेकीकोमा बसेर गुजारा चलाएका छौ ।’ विकले भने, ‘हामीलाई जतिसक्दो छिटो स्थायी आवासको व्यवस्था भएमा पहिलेकै जिन्दगीमा फर्कने कोशिस गर्ने थियौ ।’

कोटकोरीकै बल बहादुर दर्जीको पनि आगोमा परी दुई घर र एउटा गोठ जल्यो । अहिले छिमेकीको घरमा बस्दै आएका दर्जी आफु सानोमा पनि आगोमा परेर भाग्यले बाँचेका थिए । अहिले पुन आगोले घर जलेको छ । ‘अब बर्षा पनि सुरु हुन थाल्यो, जतिसक्दो छिटो स्थायी आवास भयो भने अलि राहत हुने थियो ।’ दर्जीले भने ।

बिमला, सुरेन्द्र र बल बहादुर त आगोले घर जलेर स्थायी आवास बनाइदिन अनुरोध गर्ने प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्तै इस्माका अन्य अग्नी पिडतले आफुहरुलाई अस्थायी आवासभन्दा स्थायी आवास नै बनाइदिन माग गरेका छन् । अहिले बर्षा भएको र थप बर्षा हुने समय पनि नजिकिएकोले उनीहरुले सकेसम्म बर्षाअघि नै नयाँ घर बनाउने बिषयमा सहजिकरण गर्न सरकारसँग आग्रह गरेका छन् । आगोमा परेर इस्माका २६ घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागिबाट दुईसयभन्दा बढी नागरिक प्रभावित भएका छन् । यो बाहेक एउटै घरमा दुई परिवार भएर बसेका, गोठमा समेत परिवार बसेका गरी इस्मामा बढी मात्रामा क्षति भएको छ ।

इस्मा गाउँपालिकाले आगलागीबाट क्षति भएका संरचनाको उचित व्यवस्थापन र केही ठाउँमा अस्थायी आवास निर्माण गर्नको लागि प्रधानमन्त्री रोजगारका कामदार समेत परिचालन गरेको थियो । त्यसका साथै जनप्रतिनिधि र कर्मचारीले समेत स्थानीयको सहयोगमा श्रमदान गरेका थिए । इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले घर निर्माणको लागि गाउँपालिकाले संघ र प्रदेश सरकारसँगको लागत साझेदारीमा चार र गाउँपालिको एक लाख गरी पाँच प्रदान गर्ने बताए ।

पालिकाले दिने रकमको सम्झौता समेत गरिएको छ । जसमा ५०-५० हजार गरी दुई किस्तामा रकम प्रदान गरिने छ । अध्यक्ष खड्काले् अहिले आफुहरु विपत्मा रहेको भन्दै सक्दो सहयोग गर्न सबैसँग अपिल समेत गरे । अग्नी पीडितको अवस्था अवलोकन गर्न पुगेका सोही क्षेत्रका संघीय सासंद गोकर्ण विष्टले आफुहरुले पीडितको घर बनाउने गरी योजना बनाएको बताए । ‘बर्षाअगावै घर बनाएर पीडितलाई हस्तान्तरण गर्न लागिपरेका छौ ।’ विष्टले भने ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसले कति पायो ?