सुनकोशी–मरिन डाइभर्सन ब्रेक थ्रुले सम्बन्धित सबैमा उत्साह थपेको छ । विभिन्न समयमा निर्मित र गठित सरकारले यसमा चासो दिएका कारण यो सम्पन्न हुन सकेको हो फिनिसिङका काम धेरै बाँकी छन् । तर, पनि धेरैमध्ये एउटा राष्ट्रिय गौरवका आयोजनाको काम कार्यान्वयन भई आएकोमा आशा पलाएको छ । राष्ट्रिय गौरवका आयोजना प्रचारप्रसारमा निकै आउने तर कार्यान्वयन नहुने नेपालीको साझा समस्या हो । सडक सञ्जालमा परिवर्तन ल्याउने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु यसभन्दा पहिले भइसकेको थियो । अहिले सुनकोशी–मरिन डाइभर्सन ब्रेक थ्रुले यसमा थप उत्साह ल्याएको छ ।
कृषिमा सरकारले नयाँ ढंगले सोच्नैपर्छ । त्यसमा पनि अझ बढी त बहुउद्देश्यीय आयोजना’bout सचेत हुनैपर्छ । देशमा रूपान्तरणकारी राष्ट्रिय गौरवका आयोजना एकपछि अर्को गरी सम्पन्न हुने र तिनले आर्थिक उन्नति र प्रतिफल ल्याउने हो भने देश उँभो लाग्न धेरै बेर लाग्दैन । देश विकासमा योगदान पुग्ने योजना र आयोजना सरकारको प्राथमिकतामा पर्नैपर्छ । देशमा ठूलाठूला भौतिक पूर्वाधारका काम हुन सकेन भने विकासले दिगो रूप लिन सक्दैन पनि ।
नेपाल अझै पनि कृषिप्रधान देश हो । देशमा आर्थिक क्षेत्रमा योगदान दिने पहिले क्षेत्रमा पर्छ कृषि । कुल ग्राहस्थ उत्पादनको झन्डै एकतिहाइ योगदान कृषि र कृषिजन्य कुराको छ । देशमा जनसंख्या बढिरहेको छ । तर, बढिरहेको जनसंख्याका लागि आवश्यक पर्ने खाद्यान्नको आपूर्ति हुन सकिरहेको छैन । खाद्यान्नमा आत्मनिर्भरता र खाद्य सुरक्षाका कुरा त संविधानका धारामा मात्र सीमित छन् । त्यसैले देशमा रहेका जनताको आर्थिक उन्नति, समृद्धि र गरिबी न्यूनीकरणमा सहयोग पुग्नेगरी कृषिसम्बन्धी विकासका काम अघि बढाइनुपर्छ ।
आर्थिक आत्मनिर्भरता र जनताको जीवनस्तरमा उन्नति हुन गएमा देश बलियो बन्छ । अब मरिन खोलामा खसेको पानीले सिंचाइ हुने धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा ठूला नहर छिट्टै बनाइनुपर्छ । त्यहाँ बग्ने बाग्मती नदीमा मिसिने मरिन खोलामा सुनकोशीको पानी खस्ने बित्तिकै सिंचाइ क्षेत्रमा पानी पट्याउन थालेर उब्जनी लिन सक्नुपर्छ ।
(उमाकान्त झा, महोत्तरी, हाल काठमाडौं)