काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नयाँ चलचित्र मनसरा यतिबेला नेपालमा प्रदर्शन भईरहेको छ । यी जोडीको अर्को नयाँ चलचित्र ‘घरज्वाइँ’आगामी २८ असारमा रिलिज हुने भएको छ । यसै क्रममा आईतबार चलचित्र घरज्वाइँको टिजर सार्वजनिक गरिएको छ ।
यो चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरलगायतको मुख्य भूमिका रहेको छ । अनिल बुढा मगरको निर्देशनमा निर्माण तयार भएको यो चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
यो चलचित्रको टिजर करिब दुई मिनटको रहेको छ । टिजमा अभिनेता राईले मिरुनासँग दम्पत्य जीवन गाँस्नको लागि गरेको संघर्षको कथालाई सँक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । घर ज्वाईं चलचित्रमा मगर संस्कार र संस्कृतिलाई विशेष स्थान दिईएको छ ।
यो चलचित्रमा गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । जसमा कृष्ण भण्डारीको सम्पादन रहेको छ । जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा सुसन प्रजापतिले खिचेका हुन ।
यो चलचित्रलाई बिदेशमा एमएसएमले र नेपालमा आरआर फिल्मसले वितरण गर्ने भएको छ । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।






