भेप प्रतिबन्ध र सुर्तीमा कर वृद्धि नगर्दा नेपालको बेइज्जत

काठमाडौं । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र सुर्तीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (एफसीटीसी)लाई कार्यान्वयन गर्न तदारुकता नदेखाइँदा अन्तर्राष्ट्रिय फोरममा अप्ठेरो भोगिरहेको नेपालले इलेक्ट्रोनिक सिगरेटलाई प्रतिबन्ध गर्ने घोषणा गरी कार्यान्वयन नगर्दा अर्को बेइज्जती भोगिरहेको छ ।

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन, २०६८ ले सार्वजनिक स्थलमा धुमपान गर्नेमाथि कारबाही गर्ने भने तापनि कारबाही गरेको तथ्यांक नदेखिएकाले र सुर्तीमा कर बढाउने प्रतिबद्धतासहितको एफसीटीसीमा हस्ताक्षर मात्र गरी कर वृद्धि नगरेकाले अन्तर्राष्ट्रिय फोरममा लाज हुने गरेको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल, नेपालका अध्यक्ष शान्तलाल मुल्मीले बताए । विश्व स्वास्थ्य संगठनले सुर्तीमा कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्ने भने तापनि नेपालमा ३३ प्रतिशतको हाराहारीमा मात्र कर रहेको छ ।

युवाहरूलाई कुलतमा फसाउने पहिलो द्वारका रूपमा सुर्तीजन्य पदार्थ रहेको र स्वास्थ्यमा पनि उत्तिकै प्रतिकूल असर गर्ने भएकाले बन्देज लगाउनेगरी निर्देशिका बनाइसक्दा पनि कार्यान्वयन नहुनु अर्को लज्जाको विषय रहेको अध्यक्ष मुल्मीले स्पष्ट पारे ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका–२०७१ को दफा २८ को ४ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण गर्न नपाइने उल्लेख हुँदाहुँदै सरकारको भन्सार विभागले नै प्रत्येक महिना ई–सिगरेट आयातको तथ्यांक प्रस्तुत गर्दै आएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८०–०८१ को ९ महिनामा करिब १ अर्ब २२ करोड ९९ लाख रुपैयाँको विद्युतीय चुरोट (भेप) आयात गरिएको छ । गत साउनदेखि चैतसम्ममा १ लाख २ हजार २ सय ४५ किलो ई–सिगरेट (भेप) आयात भएको भन्सारको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकालाई अर्थ मन्त्रालयको अर्को निकायले बेवास्ता गर्दा युवा पिढी कुलतमा फस्दै गएका छन् । सोबापत सरकारले ३८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, प्रतिगोटाका हिसाबले ल्याइने भेप र त्यससम्बन्धी सामग्री १ लाख २८ हजार ६ सय ६८ वटा आयात गरिएको छ । ५७ लाख ७८ हजार रुपैयाँ आयात मूल्य भएका यी विद्युतीय चुरोटबाट सरकारले ७९ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । तीन शीर्षकमा करिब १ अर्ब ४ करोड रुपैयाँबराबरका विद्युतीय चुरोट वा भेपजन्य सामग्री आयात गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डित भने विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने कोसिस गरिरहेको बताउँछन् । उनले कानुनको अज्ञानता अक्षम्य हुने भए तापनि सरकारी अंगले नै भेप आयात गर्न दिइरहेकाले पत्राचार गरिएको बताए ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । नेपालमा वार्षिक ३२ लाख ई–सिगरेट डिभाइस नेपाल आउने गरेको छ । खासगरी तीमध्ये ३१ लाख ई–सिगरेट चीनबाट मात्र आउने गरेको छ । चीनबाहेक अमेरिका, भारत, संयुक्त अरब इमिरेट्स, बेलायतलगायत मुलुकबाट पनि ई–सिगरेट आउने गरेको छ ।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीले गत वर्ष मात्रै २५ लाख ई–सिगरेट आयात भएको तथ्यांक देखिएको र यो कुलतमा लगाउने पहिलो द्वार भएकाले आफूहरूले रोक्नका लागि सक्दो कार्य गरिरहेको बताए ।

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका १४ प्रतिशत युवाले ई–सिगरेट प्रयोग गर्ने गरेको तथ्यांक रहेको छ । ई–सिगरेट (भेप)लाई भारतले पनि प्रतिबन्ध लगाइसकेको छ । भारतमा कसैले ई–सिगरेट बेच्ने, किन्ने वा बनाउने क्रियाकलाप गरे लाख रुपैयाँ भारतीय रकम जरिमाना तिराइने निर्णय गरिसकेको छ । तर, नेपालमा भने कति जरिमाना भन्ने यकिन नहुँदा निर्देशिकालाई लत्याइँदै आएको छ ।

अमेरिकाका केही प्रदेश, जापान, सिंगापुरलगायतका राष्ट्रले पनि यसअघि ई–सिगरेटलाई प्रतिबन्ध लगाइसकेका छन् । ई–सिगरेट अर्थात् इलेक्ट्रोनिक सिगरेटलाई पर्सनल वेपोराइजर पनि भनिन्छ । यो इलेक्ट्रोनिक इन्हेलर हो, जसले यसमा भएको लिक्विडलाई धुवाँमा बदलिदिन्छ । यो कोट्रिज, ऐटमाइजर, ब्याट्री र लिक्विडबाट बन्छ ।

यसमा भएको केमिकलले ई–तरल पदार्थले एन्डोथेलियल कोशिकाहरू, डीएनएको नोक्सान र कोशिकाहरू मार्ने अणुहरूको वृद्धि गर्छ । यसका साथै यस चुरोटमा प्रयोग गरिने फ्लेबर दालचिनी र मेन्थललाई एकैसाथ पिउँदा बिरामी हुने सम्भावना पनि बढ्छ । यसले फोक्सोलाई पनि असर गर्छ ।

ई–सिगरेटमा निकोटिनका साथसाथै वासनादार केमिकल पनि भरिएको हुने भएकाले यसको प्रयोगले फोक्सोमा क्यान्सरको सम्भावना पनि बढ्ने चिकित्सकहरू बताउँछन् । चीनका फार्मेसिस्ट हनलिकले सन् २००४ मा पहिलोपटक ई–सिगरेट (भेप) उत्पादन सुरु गरेका थिए । निकोटिनयुक्त र निकोटिनरहित दुवै खालको भेप बजारमा उपलब्ध भएको उत्पादक कम्पनीहरू बताउँछन् । देख्दा चुरोटजस्तो नदेखिए पनि काम भने चुरोटकै गर्ने र लत पनि उस्तै बस्ने भएकाले पनि यसलाई ई–सिगरेट भनिएको हो । यसले सिगरेटले भन्दा कम हानि गर्छ भन्ने मान्यता भए तापनि वास्तवमा झन खतरनाक भएको विभिन्न अध्ययनले देखाइसकेको छ । नेपालमा सन् २०१४ देखि भेप बिक्री हुन थालेको हो ।

चुरोटमा निकोटिनसहित कार्बनमोनोअक्साइड रसायन हुन्छ । सुर्तीजन्य चुरोटमा निकोटिन ३ हजार मिलिग्राम हुन्छ भने कार्बनमोनोअक्साइड पनि हुन्छ । भेपमा चुरोटमाजत्तिकै निकोटिन हुने चिकित्सक बताउँछन् । भेपमा कार्बनमोनोअक्साइडको मात्रा भने चुरोटको तुलनामा केही कम हुन्छ ।

नेपालमा विद्युतीय चुरोट (ई–सिगरेट)माथि प्रतिबन्ध लगाउँदै विद्युतीय चुरोटको आयात, बिक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाइसकेको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले जानकारी दिए ।

विद्युतीय चुरोट प्रतिबन्ध लगाउन प्रयास भए तापनि निजी संस्थाले नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा गरेका हुँदा यसमा ठोस कदम चाल्न नसकिएको बताइएको छ ।

भन्सार विभागको तथ्यांकमा गत आवमा वार्षिक ३२ लाख २३ हजार ६ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल भित्रिएका छन् । तीमध्ये ३१ लाख ७५ हजार ८ सय १५ थान ई–सिगरेट चीनबाट मात्र आएको छ । यस्तै, अमेरिकाबाट २ लाख ६५ हजार ६ सय ४०, संयुक्त अरब इमिरेट्सबाट १२ हजार ९ सय ६७ थान ई–सिगरेट आएको छ । भारत, बेलायतलगायतका मुलुकबाट पनि विद्युतीय चुरोट नेपाल आउने गरेको छ ।

अहिले विश्वका ४४ वटा मुलुकले ई–सिगरेट बेच्न प्रतिबन्ध लगाइसकेका छन् । यसैगरी, ८८ वटा मुलुकमा ई–सिगरेट किन्न पाउने न्यूनतम उमेर तोकिएको छ भने ७४ वटा मुलुकमा यी हानिकारक वस्तु खरिद, बिक्री, उपभोग गर्न पाउने–नपाउने सम्बन्धमा कुनै नियम बनाइएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण