उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अस्वीकार गरेका छन् । पार्टी विभाजनको मार खेपेका उपेन्द्र संघीय सरकारबाट बाहिरिनुका साथै आफ्नै पार्टीको मधेस प्रदेश सरकारसमेत जोगाउन असफल भएका छन् ।

सोमबार बिहान लोसपा अध्यक्ष ठाकुरको ललितपुर, हात्तीवनस्थित घरमा पुगेर जसपा अध्यक्ष उपेन्द्रले मधेस प्रदेश सरकारलाई समर्थन गर्न र सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । तर, ठाकुरले उपेन्द्रको सो प्रस्ताव अस्वीकार गर्दै सहकार्य गर्न नसकिने जवाफ दिए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले धोखा दिएको भन्दै उपेन्द्रले महन्थसँग सहयोग मागेका थिए । तर, महन्थले उपेन्द्रलाई विगत समझाउँदै जसपा नेपालसँग तत्काल कुनै सहकार्य गर्न नसकिने जनाए । ‘उपेन्द्रले आफूलाई कयौंपटक धोखा दिएको विगत सम्झिँदै बैठकमा सहभागी एक लोसपा नेताले भने, ‘आफूलाई अप्ठ्यारो परेका बेला खुट्टा ढोग्ने र काम सकिएपछि पछाडिबाट प्रहार गर्ने उपेन्द्रको पुरानो बानी रहेको छ ।’

जसपा नेता सरोजकुमार यादवको नेतृत्वमा मधेस प्रदेशमा सरकार छ । मधेस प्रदेश सरकारबाट सत्तारूढ एमाले र माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिइसकेका छन् । एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको छ ।

एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोसपासहितका दलको समर्थनमा सरकार जोगाउन सकिने भन्दै उपेन्द्रले महन्थसँग भेटेका हुन् ।

आयोगविरुद्ध अदालत पुगे उपेन्द्र
यसैबीच, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफ्नो पार्टी विभाजन गरी अलग भएका नेताले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न माग गर्दै उपेन्द्रले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उपेन्द्रले जसपा नेपाल विभाजन गरी अशोक राईको नेतृत्वमा गठन भएको दल अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन् । सर्वोच्चले पेसी तारेखका लागि २ जेठमा अदालतमा हाजिर हुन भनेको छ । उपेन्द्र अमेरिका रहेका बेला राईले ७ जना सांसदलाई लिएर जनता समाजवादी पार्टी गठन गरेका थिए । उपेन्द्रसँग प्रतिनिधिसभामा पाँच जना सांसद मात्रै रहेका छन् ।

संघीय सरकार छोड्दै जसपाले लियो समर्थन फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा उपप्रधानसहित स्वास्थयमन्त्री रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले सोमबार राजीनामा दिएका छन् ।

संघीय सरकार छाड्दै जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सोमबार नै संसद् सचिवालयमा दर्ता गरिएको छ ।

जसपा विभाजन गर्ने मन्त्री भए
जसपा नेपाल विभाजन गरेर अशोक राईको नेतृत्वमा जसपा गठन भएको थियो । निर्वाचन आयोगले सो दललाई कानुनी मान्यता दिइसकेको छ । आयोगको सो निर्णयका विरुद्धमा उपेन्द्र सर्वोच्च अदालत गएकै दिन पार्टी विभाजनमा सहभागी सांसदले मन्त्रीको जिम्मेवारी पाएका छन् ।

जसपा उपमहासचिवको जिम्मेवारीसहित पार्टी विभाजनमा सहभागी प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । सो मन्त्रालयको जिम्मेवारीमा यसअघि उपेन्द्र यादव थिए । सोमबार उपेन्द्रले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदीपलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

यस्तै, पार्टी विभाजनमा सहभागी सांसद हसिना खानलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्री प्रदीपले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष र राज्यमन्त्री खानले प्रधानमन्त्रीसमक्ष सोमबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ