सोहोर्दै र सम्हाल्दै प्रधानमन्त्री प्रचण्ड

किशोर नेपाल

उता, भारतीय जनता पार्टीका नेता नरेन्द्र दामोदरदास मोदी आज तेस्रोपटक भारतका प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दै हुनुहुन्छ भने यता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर श्रीरामको जन्म चितवनको अयोध्यापुरीमा भएको शंखनाद गर्दै हुनुहुन्छ । नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको निर्माण गराउनुभयो । अयोध्या नगरलाई झकिझकाउ तुल्याउनुभयो । संसारभरिका रामभक्तहरूको सुविधाका लागि उत्तर प्रदेश, भारतको सानो शहर अयोध्यामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभयो । तर, भारतीय जनता पार्टीले त्यहीँ पराजय बेहोर्नुप¥यो । यो खतरनाक संकेत थियो भारतीय राजनीतिमा ।

यता, नेपालमा कामरेड केपी ओली विगत केही समयदेखि चितवनको अयोध्यापुरीलाई राम जन्मभूमि बताउँदै आउनुभएको छ । उहाँले आफनो आत्मपरक शोधका आधारमा भन्नुभएको छ– भगवान् राम सीतासँग बिहे गर्न अयोध्यापुरीबाट जन्ती लिएर मिथिला नगरी जनकपुर पुग्नुभएको थियो । त्यहाँ पुगेर रामजीले शिवजीको धनुष भाँच्नु भएको थियो ।

कामरेड ओलीलाई लागेको थियो होला : त्रेता युगमा अहिलेको जस्तो भौतिक विकास नै भएको थिएन । भारतको अयोध्याबाट नेपाल आउने मूलबाटो नै थिएन । बानरहरूले युद्ध लड्ने त्यो समय आफैंमा अद्भूत थियो । सोझा सादा धर्मभिरु नेपाली जनताले कामरेड ओलीको आत्म–मन्थनमा शंका गरेनन् । १२ वर्ष जेल बस्नुभएका कामरेड ओलीले कारागारमा रहेको अवस्थामा गरेको आत्म–मन्थनलाई किन अविश्वास गर्नु ? आखिर, रामको जन्म भारतको अयोध्यामा भएको होस् कि चितवनको अयोध्यापुरीमा, अमेरिकामा भएको होस् कि अर्जेन्टिनामा, रामभक्तहरूलाई त्यसले के फरक पार्छ ? भक्तको काम मर्यादा पुरुषोत्तमका रूपमा रहेका रामको भक्ति गर्नु हो । उनीहरू भक्तिमार्गमा लागेका छन् र लागी नै रहनेछन् ।

आज भारतीय प्रधानमन्त्री पदमा नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्लीमा हुनुहुन्छ । भोलिदेखि काठमाडौंको हल्ला बजार गर्माउने पक्का छ

नेपालको राजनीतिमा कामरेड ओलीको चतु-याइँको सामना गर्न कसैले सक्दैनन् । उहाँको धारावाहिक वाक्पटुता गजबकै छ । यो मामिलामा माओवादी पार्टीका सर्वोच्च नेता प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सर्वोच्च नेता सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)का माधवकुमार नेपाल कामरेड ओलीका अगाडि शून्य साबित हुनेछन् । माधवजीले १४ वर्ष एमाले पार्टी चलाउनुभयो । तर, निर्णायक मोड आइपुगेपछि उहाँ पराजित हुनुभयो । कामरेड ओलीका अगाडि उहाँको दाल गलेन ।

कामरेड ओलीको वाक्पटुता अहिलेसम्म रोमाञ्चक बकबक नै साबित भएको छ । गएको भुइँचालोमा ढलेको धरहराको वास्तु शैली बदल्न त उहाँ सफल हुनुभयो । तर, त्यो वास्तु शैलीले नेपाली धरहराको प्रतिनिधित्व गर्न सकेन । आफूलाई भारतको अनन्य मित्र साबित गर्न कामरेड ओलीले आपूm प्रधानमन्त्री भएको अवस्थामा भारतीय खुफिया एजेन्सीका प्रमुखलाई अतिथिका रूपमा प्रधानमन्त्री आवासमा निम्त्याउनुभयो । तर, यतिगर्दा पनि, कामरेड ओलीलाई भारतले पत्याएन । त्यसपछि आयो कालापानी । पञ्चायतकालमा चीन–भारत युद्धका बेला राजा महेन्द्रले भारतको सुविधाका लागि प्रयोग गर्न दिनुभएको त्यो भूमि उहाँले फर्काउन सक्नुभएन । अहिले उहाँ यस्तै अनकन्टारतिर अडकिनुभएको छ । प्रधानमन्त्री पदमा प्रचण्डको निरन्तरताका लागि कामरेड ओलीले आफ्नो पार्टीको समर्थन त दिनुभयो । प्रधानमन्त्री प्रचण्डका लागि आउँदा दिनहरूमा यो समर्थन नै घाँडो साबित हुने निश्चित छ ।

यो लहरका अर्का महत्वपूर्ण व्यक्तित्व हुन्– पुष्पकमल दाहाल प्रचण्ड । व्यक्तित्वका हिसाबले उहाँ कामरेड ओलीभन्दा झिल्के हुनुहुन्छ । त्यो पनि शालीन हिसाबले । १२ वर्ष लामो युद्ध लडेर हात पारेको सत्तालाई जोगाउन उहाँ बिहानैदेखि जनयुद्धभन्दा फरक शैलीको राजनीतिक युद्धमा सक्रिय हुनुहुन्छ । उहाँका मन्त्री मिडिया व्यवसायीलाई धम्क्याउँछन् र पडकिन्छन् ‘गोपनीयताको शपथ नखाएको भए देखाइदिन्थे ।’ हिजो कांग्रेसका शेरबहादुर देउवाले दुखाएको ‘चित्त’मा मलम लगाइ माग्न कामरेड ओलीकहाँ पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड आज उज्जैनका महांकाल भैरवको कोपबाट जोगिन मुस्किल पर्ने आंकलन हुन थालेको छ । प्रधानमन्त्री प्रचण्डको कार्यकाल ‘सोहोर्दै र सम्हाल्दै’मा बित्ला भन्ने त्रास बढेको छ । उहाँले फोहोर सोरेर मात्रै पुग्दैन, त्यसलाई सम्हाल्नु पनि पर्छ । अहिले चर्चा गर्माएको छ ः प्रधानमन्त्री प्रचण्ड कतिबेला कांग्रेसका सर्वोच्च नेता शेरबहादुर देउवालाई गमलंग अँगालो मार्न पुग्नुहुन्छ ? त्यसको ठेगान छैन ।

स्वदेशी शक्तिकेन्द्रहरूको कब्जामा रहेको यो देशमा प्रतिगामीहरूको प्रत्यागमन रोक्न अहिलेको नेतृत्व असक्षम साबित भइसकेको छ । मुख्य रूपले तीन पार्टी एमाले, कांग्रेस र माओवादी तथा अन्य क्षेत्रीय दलका नेताहरू नालायक साबित भइसकेका छन् । अहिलेको अवस्थामा सर्वदलीय सरकार गठन गरेर मध्यावधि चुनावमा जानु नै सर्वोत्तम समाधान हो

कांग्रेसका सर्वोच्च नेता देउवा दायाँबायाँ र तलमाथि जताबाट भए पनि सत्तामा पुग्नुपर्ने मान्यतामा अडिग हुनुहुन्छ । देशको विकास र राजनीतिक स्थिरताप्रति उहाँको गहिरो चासो छ । उहाँको नेतृत्वमा रहेको कांग्रेस बडो लचकदार छ । सर्वोच्च नेता देउवाले राजनीतिमा बुझ्नुभएको एक मात्र सत्य भनेको सत्ता नै हो । आज भारतीय प्रधानमन्त्री पदमा नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्लीमा हुनुहुन्छ । भोलिदेखि काठमाडौंको हल्ला बजार गर्माउने पक्का छ ।

देशलाई अहिलेको दुर्भाग्यबाट जोगाउन सक्ने अवस्थामा तीन मुख्य पार्टीका तीन मुख्य नेता रहेका छैनन् । देश भुमरीमा फन्किँदै छ । प्रदेशका सरकारहरू जानी जानी संकटमा पारिएका छन् । देशमा कुनै नीति छैन, न्याय छैन, मर्यादा छैन । संघीय गणतन्त्र स्थापनादेखि आजका दिनसम्म चरम संक्रमणमा रहेको यो देशले सकारात्मक परिवर्तन खोेजेको छ । यो परिवर्तनका लागि मठाधीशका रूपमा रहेका अहिलेका प्रमुख नेताहरूको विकल्प खोज्नुपर्छ जनताले । देशमा आएको पछिल्लो परिवर्तन जनताले ल्याएको थियो । स्वदेशी शक्तिकेन्द्रहरूको कब्जामा रहेको यो देशमा प्रतिगामीहरूको प्रत्यागमन रोक्न अहिलेको नेतृत्व असक्षम साबित भइसकेको छ । मुख्य रूपले तीन पार्टी एमाले, कांग्रेस र माओवादी तथा अन्य क्षेत्रीय दलका नेताहरू नालायक साबित भइसकेका छन् । अहिलेको अवस्थामा सर्वदलीय सरकार गठन गरेर मध्यावधि चुनावमा जानु नै सर्वोत्तम समाधान हो ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा