काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गरेका छन् ।
‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको थियो र यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गर्नुभएको थियो,’ उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास छ ।’
सोही विश्वासमा आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने र दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
‘अर्नब’को प्रभाव : कञ्चनजंघा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
आज काग तिहार पर्व मनाइँदै, यस्तो छ शास्त्रीय मान्यता
भाडामा यात्रु बोक्ने मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे






