जसपा नेपाल: नेता छान्ने महाधिवेशन प्रतिनिधिको अधिकार खोसियो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को एकता महाधिवेशन केन्द्रीय कमिटीको चयन नगर्दै बिहीबार सम्पन्न भएको छ । अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता भएर उम्मेदवारहरू प्रतिनिधिसँग मत माग्दै थिए । बिहीबार मतदान हुने कार्यतालिका थियो । तर, मतदान नगरी पदाधिकारी र केन्द्रीय सदस्य यादवले चयन गर्ने भन्दै सम्पन्न भएको छ ।

केन्द्रीय कमिटी चयन नगर्दै महाधिवेशन सम्पन्न

मधेस प्रदेशको राजधानी जनकपुरधाममा महाधिवेशन भइरहेको थियो । पार्टीको विधानअनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ सहित २ सय १ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य चयन गर्नुपर्ने हो । तर, उम्मेदवार बनेका नेताहरूको आन्तरिक सहमतिमै अध्यक्षले चयन गर्ने भन्दै जिम्मेवारी दिइएको छ ।

महाधिवेशनमा मुलुकभरबाट १ हजार १ सय ३५ प्रतिनिधि सहभागी थिए । उनीहरूको आप्mनो नेता आफैं चयन गर्ने अधिकार खोसिएको छ । अध्यक्षमा अरू कसैको उम्मेदवारी नपरेकाले सर्वसम्मत अध्यक्ष भएका यादवले केन्द्रीय कमिटीको टुंगो लगाउनेछन् ।

जसपा नेपालका नेता मनीष सुमनले उम्मेदवार भएका नेताहरूकै सहमतिमा यस्तो निर्णय भएको बताए । महासचिव पदमा उम्मेदवारी दिएका सुमनले भने, ‘यो हामी उम्मेदवारहरूको सहमतिमै भएको निर्णय हो, निर्वाचन गर्दा मनमुटाव बढ्ने, पार्टीलाई बलियो बनाउनुपर्ने भएकाले केन्द्रीय कमिटी चयनको जिम्मेवारी अध्यक्षजीलाई दिइएको हो, सबैको भावना र चाहना बुझेर उहाँले दुई–तीन दिनभित्रमा टुंगो लगाउनुहुन्छ ।’

बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी दर्ता भएको थियो । सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । यस्तै, पाँच उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङदेन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामवचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार थिए ।

महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाले उम्मेदवारी दिएका थिए । दुई जना महासचिवका लागि बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनीषकुमार सुमन र अशोककुमार यादवको उम्मेदवारी परेको थियो ।

सहमहासचिवमा खुलातर्फ शैलेन्द्रप्रसाद साह, डा. सुरेन्द्रकुमार यादव, रामबाबुप्रसाद यादव, रामकिशोरप्रसाद यादव, राजकुमार राय, योगेन्द्रराय यादव, सुरेशकुमार मण्डल, डा. जयप्रकाश राय यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवले उम्मेदवारी दिएका थिए । कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको थियो । यस्तै, सचिवमा ३४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टी स्थापना कालदेखि नै उपेन्द्र अध्यक्ष
उपेन्द्र यादव पार्टी स्थापना भएदेखि नै अध्यक्ष छन् । २०६३ सालमा अन्तरिम संविधान जलाउँदै चर्चामा आएका यादवले त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए । त्यसभन्दा अघि सो पार्टी मधेसी जनअधिकार फोरम नेपालको नामले एक गैरसरकारी संस्थाका रूपमा सक्रिय थियो ।

दुई दशकभन्दा बढीदेखि निरन्तर अध्यक्ष रहँदै आएका यादव अरूलाई अध्यक्ष स्वीकार गर्न चाहँदैनन् । यसबीचमा विभिन्न पार्टीसँग एकीकरण हुँदै अहिले जसपा नेपालका रूपमा रहेको छ । यसबीचमा पटकपटक उनको पार्टी विभाजन भएको छ । पछिल्लो समय वरिष्ठ नेता अशोक राईले जसपा नेपाल विभाजन गरेर आफ्नो नेतृत्वमा जसपा गठन गरिसकेका छन् ।

एकताको महाधिवेशन नाम दिइएको महाधिवेशनबाट यादव यसपटक पनि सर्वसम्मत अध्यक्ष भए । कसैले अध्यक्षमा उम्मेदवारी दर्ता नगरेपछि उनी सर्वसम्मत अध्यक्ष भएका हुन् । अशोक राई, इस्तियाक राईलगायतका नेताहरूले अध्यक्षमा उम्मेदवारी दिने चर्चा थियो । तर, अधिवेशनअघि नै उनीहरूले पार्टी विभाजन गरेर छुट्टै दल दर्ता गरिसकेका छन् । जसपामा रहेका अन्य नेताहरूले अध्यक्षमा उम्मेदवारी दिने आँट गर्न सकेनन् ।

प्रतिस्पर्धीलाई पार्टीबाट निकालेर उनी अध्यक्ष निर्विरोध चुनिँदै आएको भए पनि त्यसको कुनै अर्थ नै नहुने यादवका आलोचकहरूले बताउने गरेका छन् । ‘आप्mनो रुचीअनुसारको खेल खेल्ने, खेलाडी आफैं र रेफ्री पनि आफैं हुने भएपछि खेल त आफैंले जित्ने हो,’ मधेसका एक नेताले भने ।

आफ्ना प्रतिस्पर्धीलाई पार्टीमा टिक्नै नदिने खेल उपेन्द्रले गर्दैै आएको टिप्पणीसमेत गर्ने गरिएको छ । डा. बाबुराम भट्टराई, भाग्यनाथ गुप्ता, महन्थ ठाकुर, जयप्रकाश गुप्ता, अशोक राई, बिजय गच्छदार, शरतसिंह भण्डारीलगायतका शीर्ष नेताहरू कुनै समयमा एउटै पार्टीमा उपेन्द्रसँगै रहेका थिए । तर, यी कुनै पनि नेताहरू अहिले उनको साथमा छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो