सिन्धुलीमा भिडभाडमा सास्ती भोग्दै जेष्ठ नागरिकहरु

सिन्धुली । दिउँसोको चर्को गर्मिमा लाईनमा बसेकी सुनकोशी गाउँपालिका ६, खाल्टेकी अपांगता भएकी महिला चन्द्रकुमारी माझी विहिबार दिउँसो करीव साढे तीन बजेसम्म जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा थिईन । दुई दिनदेखि उनी जिल्ला प्रशासन कार्यालयमा छिन । अपांगता भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्रको फोटो खिचाउन उनी त्यहाँ आएकी हुन । कनपा ७ माझीटारमा रहेको छोरीको घरमा बास बसेको बताउने उनले अझै काम नसकिएको बताईन । भन्दै थिईन, ‘खै आज काम सकिएला की ?’

उनी जस्तै कमलामाई नगरपालिका वडा नं. ८ करकरेकी ९१ वर्षकी विष्णुमाया श्रेष्ठ पनि जिल्ला प्रशासन कार्यालयमा भेटिईन । उनले लाईनमा बस्न गाह्रो भएको बताईन । ‘यहाँ आएर फोटो नखिचे भत्ता पाउँदैन भनेको छ,’ उनले भनिन ।

माझी र श्रेष्ठ जस्तै जिल्लाभरका जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, एक महिलाहरु लगाएत जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा भेटिन्छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा केहि दिन देखि यसरी नै अपांगता भएका, जेष्ठ नागरिक, एकल महिला लगाएतका नागरिकहरुको भिड लाग्ने गरेको छ । जिल्लाका नौ वटै पालिकाबाट सामाजिक सुरक्षा भत्तामा जोडिएका नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन लाईनमा लागेका हुन ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आजकाल भिडभाड बढेको छ । नियमित व्यक्ति भन्दा बढी सामाजिक सुरक्षा भत्ता लिने नागरिक प्रशासनमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विगत ३ हप्तादेखि सेवाग्राहीको भिडभाड बढ्न थालेको हो । यो भिडभाड १५, १६ दिनदेखि अत्यधिक रहेको प्रमुख जिल्ला अधिकारी भरत खनालले बताएका छन । उनका अनुसार नियमित रुपमा ५०, ६० जना राष्ट्रिय परिचयपत्र बनाउन आउने जिल्ला प्रशासन कार्यालयमा आजभोली दैनिक ४ सय भन्दा बढी नागरिकहरु आउने गरेका छन ।

राष्ट्रिय परिचयपत्रसँगै नागरिकताको प्रतिलिपीमा समेत उत्तिकै भिडभाड छ । पुरानो नागरिकता र स्टिकर नटाँसिएका नागरिकता स्क्यान नहुने बाध्यताका कारण सेवाग्राहीले प्रतिलिपी लिनुपर्ने भएपछि नागरिकता प्रतिलिपीमा समेत भिड लागेको छ । जिल्ला प्रशासनले प्रतिलिपी नागरिकता दैनिक १ सय भन्दा बढी बनाईरहेको प्रजिअ खनालले बताए ।

भत्तासँगै सरकारले सवारी चालक अनुमति पत्रका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएपछि युवाहरु समेत राष्ट्रिय परिचयपत्रका लागि आएका छन । प्रशासनले युवाहरुलाई भिडको अवस्था हेरेर टोकन दिने गरेको छ तर जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको हकमा टोकन अनिवार्य छैन ।

सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अन्य शाखामा काम गर्ने कर्मचारीलाई राष्ट्रिय परिचयपत्रमा थप गरेको छ । नियमित रुपमा २ वटा काउन्टरबाट सेवा दिएको प्रशासनले ४ वटा काउन्टरबाट काम सुरु गरेको छ । कर्मचारीले विहान साढे नौ बजेदेखि बेलुका ७ बजेसम्म निरन्तर काम गरिरहेका छन ।

सकेसम्म नागरिकलाई एकै दिनमा काम सकेर पठाउने वातावरण बनाउन प्रयास गरिरहेको प्रजिअ खनालले बताएका छन । परिचयपत्र र नागरिकताको काममा आफु पनि फाँटमै बसेर काम गरिरहेको उनले बताए । जेष्ठ नागरिक अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको अवस्था हेरेर प्राथमिकताका साथ सेवा दिने प्रयास गरिएको समेत उनले जानकारी दिए । नागरिकता प्रतिलिपीका लिनुपर्नेहरुका लागि चाहिँ केहि समय लाग्ने उनले बताए ।

बत्तिस हजार परिचयपत्र वितरण गरिदैं
राष्ट्रिय परिचयपत्र बनाउन आउने मात्र हैन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले छापिएर आएका जिल्लाबासीको राष्ट्रिय परिचयपत्र वितरण पनि सँगै गरिरहेको छ । कार्यालयले छापिएर आएका ३२ हजार कार्ड मध्ये करीब ७ हजार कार्ड वितरण गरिसकेको जनाएको छ । नागरिकहरु कार्ड बाँड्न नआएका कारण सबै कार्ड बाँड्न नसकिएको प्रजिअ खनालले बताएका छन ।

‘हामीले म्यासेज गरेका छौं, सेवाग्राहीले कार्ड लिन आउनुभएको छैन’, उनले भने । सिन्धुलीमा शिविर मार्फत पालिकास्तरमा गएर फोटो खिचेका नागरिकको कार्ड आउन भने बाँकी रहेको छ । परिचयपत्र प्रिन्ट भएर बसेको र भिडभाड कम भएपछि ल्याएर बाँडिने खनालले जानकारी दिएका छन ।

गर्मिले सास्ती
राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकलाई गर्मिले सास्ती दिएको छ । गर्मि र भिडभाडले गर्दा जेष्ठ नागरिकहरु भूईं भुईंमा बसेको जिल्ला प्रशासनमा देख्न सकिन्छ । सबैलाई बस्ने व्यवस्था गर्न प्रशासनले सकिरहेको छैन । ‘सकेसम्म सहज बनाउने कोशिस गरेको’ प्रशासनले जनाएको छ । अति अप्ठ्यारोमा परेका बाहेक सबैले बस्न ठाउँ पाएका छैनन । अति गर्मिका कारण जेष्ठ नागरिकलाई प्रभाव परेसँगै कमलामाई पार्टी प्यालेसबाट २ वटा कुलर ल्याएर चलाईएको प्रजिअ खनालले बताएका छन । खानेपानीको व्यवस्था गर्न समेत प्रशासनलाई हार गुहार गर्नुपरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत