रूवाउने माया

हिउँद लागेपछि तलकोटवासीहरू पैसा र अन्नको जोहो गर्न बिहानीपख खोरबाट निस्केका कुखुराजस्तै टाढा–टाढा पुग्छन् । कोही भारत झर्छन्, कोही पोखरा र काठमाडौंसम्म आउँछन् त कोही कहिल्यै गाउँ नफर्किनेगरी टाढा पुग्छन् । हिउँदमा तलकोट गाउँ धौलागिरिझैं चम्किन्छ, तर त्यहीँ बस्ने पवित्राको जिन्दगीमाथि भने सधैं दुःखका बादल बढारिरह्यो । धन्न यसपटक ऊ याल्वाङ, सार्पुनाथ र सर्केगाउँको उत्तरी सिमानातिर यार्सागुम्बा टिप्न चहार्नुपरेन । किनकि, उसैको घरमुनिको सल्लेरी वनमा पारी बुंगल र थलारा गाउँ जाने बाटो बन्दै छ । पवित्रा र उसको लोग्ने हिजोआज त्यही काम गर्छन् ।

रातभरी पिएर भाले बास्ने बेला ओछ्यानमा ढलेको लोग्नेलाई उठाएर काममा लिएर हिँड्नु स्वास्नी मान्छेका लागि थाप्लोमा कति ठूलो बोझ बोक्नु हो ? लोग्नेलाई दिनहुँ पिएर हिँड्ने बानी परेको छ । यसै पनि हिजोआज नुनेले स्वास्नीलाई देखिसक्दैन । बोल्नुपरे झर्किन्छ, फर्किन्छ, तर्किन्छ । र, पनि बिहानै घरमा चुकुल ठोकेर पवित्रा लोग्नेसँगै सडक खन्न सल्लेरी झरी । हातमा उम्लेको गुन्द्रुक र तातो भातको पोको छ । तर, त्यसभन्दा अनेक व्यथाका ताता पोका उसले छातीमा बोकेर हिँडेकी छे । ऊ रूपकी रानी छे । मानौं, ऊ चन्द्रमाबाट फुटेकी टुक्रा हो । ऊ स्वर्गका अप्सराहरूबाट छुट्टिएर इन्द्रलोकतर्फ जान बाटो भुलेकी अलपत्र परी हो । तर, वर्षौंदेखि मरुभूमिजस्तो बाँझो कोखले उसको सुन्दरतामा कालो मोसो दलेझैं भएको छ । स्त्रीका ३२ गुणलाई एउटै दोषले छायामा पार्छ । उसको बाँझो कोख लोग्नेको सच्चा प्रेमका लागि तगारो बनेको छ । किनकि, स्वास्नीको पवित्र प्रेम र सुन्दरता मात्रै लोग्नेलाई अनन्तसम्म आफ्नो बनाइराख्ने पूर्णप्रेमको प्रतीक बन्न सक्दैन ।

उसले धोती र चोलो लगाएर सडक खन्न पहाड फोर्दा दक्षिणबाट आएका ज्यामी ठिटाहरू भुतुक्क भएर मूलको पानीमा मुख चोपिरहन बानी परे । एउटा फोहोरी ठिटो ज्यामीले उसको लोग्नेलाई घनले हानेर मारेर पवित्राको सिउँदोमा सिन्दुर पोखिदिने गोप्य योजना बनायो र कसैलाई नभन्ने सर्तमा आफ्ना दौंतरी ज्यामीसँग सहयोग माग्दै एक महिनाको कमाइ दुई साता अघिदेखि रक्सी र मासुमा खर्च ग¥यो ।

एक दिन त्यो फोहोरी ठिटो ढिलो काममा आयो । ऊ सिन्दुर चोर्न गाउँ छिरेको रहेछ । ठिटोले सुरुवालमा सिन्दुरको पोको लुकाएर राख्यो र इमानदार भएर नुनेकै छेउमा घन समाएर ढुंगा फोर्न लाग्यो । ठिटोले एकपटक पवित्राको मुहारमा हे¥यो र नुनेलाई हेरेर दाह्रा किट्यो । उसले जोडजोडसँग ढुंगामा घन बजा¥यो । ठिटोले आफूलाई सम्हाल्न सकेन । घन ढुंगाबाट उच्छिट्टिएर नुनेको टाउकामा बजारियो । नुने भुइँमा ढल्यो । पवित्रा चिच्याउँदै आई र फरर फरिया फुकाई अिन धरर च्यातेर रुँदै लोग्नेको फुटेको टाउकोलाई बाँधी । ठिटो पवित्राको सिउँदोमा सिन्दुर पोखिदिन झम्टियो । अरू ज्यामीले उसलाई समातेर पछारे । रक्सी र चुरोटले मक्किँदै गएको ठिटोको शरीर हल्लिन सकेन । उसले धुलोमा मुख घसार्दै पवित्रालाई हेरेर आँखाबाट बलिन्द्रा आँसु खसाल्यो र धोद्रे स्वरमा भन्यो– ‘पवित्रा, मैं तुमसे बहुत प्यार करता हूं, तुम्हारे बिना इस दुनियाँ मैं नहीं रह सकता हुँ ।’ यति भनेर उसले त्यही प्राण ओकल्यो ।

तत्काल नुनेलाई उपचार गर्न सहर लानुपर्ने भयो । पवित्राले एउटा पोथी कुखुरा र कानका मुन्द्रा छिमेकीलाई तुरुन्त बेचेर पैसा लिई । भैंसीको पाडो फुकाएर वनतिर धपाइ र लोग्नेलाई लिएर सहर हिँडी ।

पवित्रा कहिल्यै काठमाडौं सहर गएकी थिइन । कसैले भव्य र विशाल सहर काठमाडौं भनेको मात्र सुनेकी थिई । एम्बुलेन्स ड्राइभरको सहयोगमा लोग्नेलाई काठमाडौं पु¥याइ र अस्पताल भर्ना गरी । नुनेको उपचार सुरु भयो । तुरुन्त बिरामी खातामा एक पृष्ठ औषधि लेखियो र किनेर ल्याउन भनियो । पैतालामा काउकुती लागेजस्तो हिँडाइले पवित्रा तुरुन्त नजिकैको फार्मेसी पुगी । एकजना सुन्दर युवक फार्मेसीमा औषधि मिलाउन व्यस्त थिए । पवित्राले युवकलाई खाता दिँदै हतासको स्वरमा औषधि मागी । त्यति सुन्दर आइमाई हतास र बेचैन देखेर युवकले मृदु भावमा सोधे– तपाईं पहिलोपटक सहर आउनुभएको हो ? अझ ठुलै बज्रपातले लखेटेझैं तपाईं यो सहरका साँघुरा पर्खाल र सडक नै छोप्ने ज्यानमारा घरहरूसँग ठोक्किन लागेझैं अनौठो पारामा हिँड्नुहुँदै छ ।

स्वास्नी मान्छेका लागि विशाल बज्रपात भनेकै उसको लोग्नेको सम्बन्ध परस्त्रीसँग अश्लील भएर गाँसिनु हो

मलाई त यस्तो लाग्छ, तपाईं भिर पहरासँग ठोक्किएर रगत पसिना बगाउन त बानी नै पर्नुभएको छ । स–सानो पीर–चिन्ताको भुमरीले मानिसका पाइलाहरू सजिलै लुला बन्दैनन् । बैंसले सुन्दर देखिनुपर्ने बेलामा व्यथाले कुरूप बनाउन लागेको यति राम्रो शरीरभित्र के छ फिक्री ? मलाई भन्नुहुन्छ भने जति हतार भए पनि कान थापेर सुनौंला । ओहो ! त्यो विरानो सहरमा उसले कसैलाई चिनेकी छैन । तर, त्यो सुन्दर युवक धेरै पुरानो चिनारी भएझैं बोलिरहेको छ । पवित्राले प्रेमपूर्वक भनी– मेरो सबै बज्रपात कसैलाई मन खोलेर भने मात्र म बाँचुला । म तपाईंलाई भन्नेछु । म फेरि आउँछु, तर अहिले म जान्छु । यति भनेर ऊ एक पोको औषधि लिएर तुरुन्त फर्की । लोग्नेलाई कुर्दै गर्दा उसले सम्झी– ‘तपाईको व्यथा भन्न मिल्छ भने कान थापेर सुनौंला ।’ विरानो सहरमा एउटा सुन्दर युुवकले देखाएको सद्भावबाट ऊ प्रभावित भई ? उसले मनमनै सोची– सहरले सुन्दर र असल मान्छे लखेट्छ वा सहरको भिडले निल्छ भन्ने सुनेको थिएँ ।

तर, सुनेका कुरा गलत पनि हुन्छन् भन्ने कुरामा उसले फेरि चित्त बुझाइ र कल्पनामा डुब्दै सोची, त्यो सुन्दर युवक को होला ? पवित्रा नियमित औषधि किन्न त्यहीँ जान थाली । उसले मन खोलेर सबै कुरा डा. पल्लवसँग भनी । पल्लव र पवित्रा असल साथी भए । अब पवित्रालाई विरानो सहर रमाइलो लाग्न थाल्यो । सहरको भिडका एक–एक मानिसहरू चिनेजस्तो लाग्यो । ज्यानमारा घरहरूको काखमा बालापन बितेजस्तो रमाइलो लाग्न थाथ्यो । लोग्नेलाई बिरामी बेडमा सधैं एक्लै कुरेर बस्नुपर्दा ऊ दिक्क मानेर भन्थी, एकछिन म घुमेर आउँछु ।

ऊ डा. पल्लवलाई भेट्न जान्थी । दुवैजना सहर घुमे, मिठा खानेकुरा खाए, चिडियाघर, भाटभटेनी, धरहरा र पशुपति सँगै घुमे । यो कुरा अस्पतालको बेडमा ढलिरहेको नुनेको कानमा पुगिहाल्यो । उपचारमा खटिने डाक्टरहरूको छातीमा टाउको राखेर नुने केटाकेटीझैं क्वाँ–क्वाँ रुन थाल्यो । डाक्टरहरू पनि नुनेसँगै रोए । नुनेले गीत गायो । ‘आज माया पर–पर बन्छे, मायाले पेट भरिँदैन भन्छे, माली गाईलाई वनमा घाँस छैन, मलाई रुवाउने मायाले, मलाई हसाउला भन्ने त कति नि आश छैन ।’

नुने निको भयो । नुने र पवित्रा गाउँ फर्किने तयारीमा जुटे । उता पवित्रा र पल्लवलाई छुट्टिन गाह्रो भयो । बसपार्कमा गाडीको पछाडिपट्टि लुकेर दुवैजना सँगै रोए । पल्लवले भने– म पर्खेर बस्छु । पवित्राले भनी– म फर्केर आउँछु । अनि दुवै एक–अर्काका आँसु पुछिदिएर रुँदै छुट्टिए ।

गाउँ फर्केपछि पवित्रा पल्लवको सम्झनामा पागल हुँदै गई । ऊ झस्किने, तर्सिने, नखाने, नसुन्ने, नसुत्ने, हातमा काम नलिने, कपाल नकोर्ने, मध्याह्नमा मुख धुने, रुनु पर्दा हाँस्ने, हाँस्नु पर्दा रुने भई । सहर छेकिने क्षितिजतिर हेरेर टोलाइरहने भई । दिनदिनै ऊ थला पर्दै गई । उता नुनेले श्रीमतीसँग बदला लिएरै छोड्ने योजना बनायो । अस्पतालमा जीवन–मृत्युसँग लडिरहँदा बारम्बार एक्लै छोडेर पल्लवसँग घुम्न गएको इखले नुने श्रीमतीप्रति क्रूर र निर्दयी हुँदै गयो । नुने पल्लो गाउँकी मिश्रीलाई घर भिœयाउन पागल भएर लाग्यो । ऊ १ वर्ष अघिदेखि मिश्रीको पछि लागेको थियो । नुनेले मनमनै सोच्यो– अब पवित्रा मर्छे, अवश्य मर्छे ।

त्यसको मृत्युको कर्मकाण्डीमा लाग्ने खर्च मेरी मिश्रीलाई शृंगारेर भित्र्याउन खर्च गर्छु

शोक नभएको मानिस चिताबाट पनि उठ्न सक्छ । तर, चितामा सजिलै पुग्नेहरू अधिकांश शोक हुनेहरू हुन्छन् । अब पवित्रा बाँच्दिन । उसको मरेको शरीर यस घरबाट निकाल्नुप¥यो भने मैले कति ठूलो झन्झट बेहोर्नुपर्छ ? सनातन हिन्दू धर्ममा मानिसको अन्त्य पद्धति कति कष्टकर छ । यो पाञ्च भौतिक शरीरको आत्मा अजर अमर भएकाले मृत्युपश्चात आत्मा प्रेतको रूप लिई जान्छ र प्रेतत्व विमुक्तिका लागि गर्नुपर्ने कृतकर्म कति खर्चिलो हुन्छ ? प्रेम बदल्ने पापिनीका लागि यत्रो पुण्य गर्न सक्दिनँ म । बरु त्यसको मृत्युको कर्मकाण्डीमा लाग्ने खर्च मेरी मिश्रीलाई शृंगारेर भिœयाउन खर्च गर्छु । त्यसको महत्ताहीन शरीरमा पाप बनेर अड्केको प्राणलाई ज्युँदै तल्कोटीगाड र उरइ भञ्ज्याङ कटाउनुपर्छ । फटाफट यति सोचेर ऊ मिश्रीलाई भेट्न हल्लिँदै पल्लो गाउँतिर हिँड्यो ।

अब स–साना कुरामा नुने र पवित्राको झगडाले त्यस घरमा अशान्ति हुँदै गयो । कपाल नकोर्दा, बेलैमा खाना नपाक्दा, कुरा नबुझ्दा हड्डी भएर सुकेको पवित्राको सिन्के शरीरमा नुनेले बुट बजाथ्र्यो । नुने भने मिश्रीसँग वनमा, भिरमा, घरमा, पँधेरो, चौतारी, जताततै भेटिन थाल्यो । यतिसम्म नुनेले मिश्रीलाई ऐंचोपैंचो मेलापर्वको वहानामा स–साना घरायसी काममा बोलाउँथ्यो र पवित्राकै सामु जबर्जस्ती मिश्रीको हात समातेर १०औं पटक चुप्पा खान्थ्यो । लोग्नेको असह्य हर्कतको विरोध गर्दा भकभक उम्लेको तातो पानीमा डुबाएर मार्छु भन्दै रातको १२ बजे ठूलो डेक्चीमा पानी उमाल्थ्यो वा तलाई मारेर गाड्छु भन्दै खाल्डो खन्न खन्ती र बेल्चा बोकेर मध्यराति खरबारीमा पुग्थ्यो । तेल हानेको खुकुरी बिजुलीमा श्रीमतीको घाँटीमाथि नचाउनु त नुनेका लागि सामान्य भइसकेको थियो । स्वास्नीमान्छेका लागि विशाल बज्रपात उसको लोग्नेको सम्बन्ध परस्त्रीसँग अश्लील भएर गाँसिनु हो । यसको विरोध गर्ने तागत पवित्रामा कति पनि रहेन ।

नुने र पवित्रा सँगै बस्न नसक्ने भए । पवित्राले लोग्ने मात्र होइन, त्यो घर र गाउँ नै सधैंका लागि छोड्ने निधो गरी र नुनेले मिश्रीलाई घर भिœयाएकै दिन ऊ कहिल्यै गाउँ नफर्किनेगरी घरबाट निस्की ।

पवित्रा सरासर आफ्नो माइतीगाउँ दैलीचौर गई । उसका बाबुआमा बितिसकेका थिए । कान्छी बहिनी हत्केलीले फोहोर साल भातेखोलाका ठेकेदारसँग भागेर बिहे गरिछ । कान्छो भाइ पाँच महिनाअघि घरमा चुकुल ठोकेर गाउँबाट हराएछ । गाउँमा कोही भेटिएनन् । पवित्रालाई पहाडहरू खिच्दै आकाश खसेजस्तो लाग्यो । चोक्टाचोक्टा बनेर पाताल भासिएझैं लाग्यो । ऊ मानिसहरू नभएको शून्य माइतीगाउँमा हावामा हात फालेर चिच्याउँदै रुन लागि । रोएर थाकेपछि ऊ पल्लवसँग विवाह गरेर घरजम गर्ने झिनो सपना बोकेर दुर्गाथलीबाट काठमाडौंको रात्रि बस चढी ।

उता पवित्रा गाउँबाट छिट्टै फर्केर आउँछु भनेर नआएको विरहमा पल्लवले कहिल्यै देश नफर्किनेगरी विदेश जाने निर्णय ग¥यो । उसले कौडीको भाउमा फार्मेसी बेच्यो र सधैंका लागि पश्चिमतिर उड्यो । पवित्रा बसबाट काठमाडौं झरी र तुरुन्त पल्लवलाई भेट्न फार्मेसी पुगी । १ घण्टा अघि मात्र पल्लव विमानस्थल पुगेको थाहा पाई र पवित्रा हुरीको धुलो भएर विमानस्थल पुगी । तर, पल्लवसँग तीन पाइलाबराबरले भेट भएन । पवित्रा त्यहीँ मुर्छा परेर ढली । होसमा आउँदा ऊ नजिकैको देवालयमा भक्तजनसँग हाँसेर जीवन बिताइरहेकी हुन्छे । हिजाआज ऊ रुवाउने मायाबाट मुक्त भएर ईश्वरको मायाले हाँस्ने भएकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु