मध्यतराईमा गण्डक नहर, भारतले पानी नछोड्दा किसानलाई कहर

वीरगन्ज । पर्सा जिल्लावासीलाई मात्र नभई अन्य जिल्लाका मानिसलाई समेत निर्यात गर्ने अन्न उत्पादन गर्ने पर्सा, बारा र रौतहटका जमिन यतिबेला चर्को घामसँगैको खडेरीले खङ्ग्रङ छन् । नारायणी सिँचाइ परियोजनाअन्तर्गत गण्डक नहरको पानीले यो क्षेत्र सिञ्चित गर्ने ५० वर्ष पुरानो सरकारी योजना बाराको जमुनी नदीसम्म झाँगिए पनि प्रभावकारी बन्न सकेको छैन ।

भारतको बाल्मीकि नगरछेउ भैसालोटनबाट नेपालको गण्डक नहरतर्फ पानी छोड्नेगरी गरिएको सम्झौतामा तालाचावी उता बुझाइएको छ । फलतः छिमेकी मुलुक भारतले हरेक वर्ष खडेरीभरि आफ्नोतर्फ पानी फर्काउने र वर्षा सुरु भएपछि बल्ल नेपालतर्फ पानी छोड्ने गरेको यहाँका किसानको आरोप छ ।

हुन पनि धान खेतीको सिजनका लागि विगत अढाई दशकयता १५ असारमा मात्र भारतले नेपालका लागि पानी छोड्ने गरेको गण्डक नहरको व्यवस्थापन हेरिरहेको राज्यको नियामक निकाय नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जले जनाएको छ ।

दुवै मुलुकको सम्झौतानुसार भारतले धान सिजनका लागि २७ वैशाखदेखि कात्तिकसम्म र गहँु सिजनका लागि १० पुसदेखि ११ चैतसम्म अर्थात् २५ डिसेम्बरदेखि २५ मार्चसम्म नहरमा पानी छोड्ने गर्छ । तर, धानखेतीको सिजनमा २७ वैशाखबाटै छोड्नुपर्ने पानी ५ असारसम्म पनि भारतले नछोडेको सुक्खा नहरले आफंै पुष्टि गर्छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले पनि अहिलेसम्म पानी नछोडेको स्वीकार गरेको छ ।

संघीय शासन व्यवस्था चलाउने नेपाल सरकार, मधेस प्रदेश सरकार र नेपालका नीति बनाउने जिम्मेवार व्यक्ति यस विषयमा चुँसम्म नबोलेको किसानको आरोप छ । तथापि ५ असारको संसद् बैठकमा एमालेका प्रतिनिधिसभा सदस्य प्रभु हजाराले यो विषय उठाएका थिए ।

अन्नको भण्डार मानिने मधेसका तीन जिल्लाको ३७ हजार ४ सय हेक्टर जमिन ६ असारसम्म पनि उजाड देखिनु विडम्बना हो । ‘यहाँका सरकार नेताहरू किसानमैत्री छैनन्,’ पर्साको उदयपुरघुर्मीका किसान शम्भु यादवले भने, ‘किसानको पक्षमा यस क्षेत्रका कुनै सांसद नेता सदनमा बोल्दैनन्, यस क्षेत्रका किसानले नहरको पानीबाट अहिलेसम्म बीउ राख्न पाएका छैनन् ।’

तीन जिल्लाको ३७ हजार ४ सय हेक्टर जमिन सिञ्चित गर्न पानी ल्याउने नहरको लम्बाइ भारतको भैसालोटनदेखि रौतहटसम्म मूल नहर ८१ किलोमिटर पर्छ । त्यसैगरी, मूलशाखा नहर १ सय ३७ किमी, शाखा नहर २ सय ३३ किमी, उपशाखा नहर ४ सय ८ दशमलव ५ किमी, प्र–शाखा नहर १ हजार ४ सय किमी र डे«न (निकास) नहर पनि ३ सय ८ किमी रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय मूल र मूलशाखा नहरबाहेक साना तथा निकास नहर किसान आफैंले विकास निर्माणका नाममा पुरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेश साहले बताए । यी सबै नहर दुरुस्त पार्न ५० करोड रुपैयाँ बजेट लाग्ने उनी बताउँछन् । ‘तर, हामीकहाँ वार्षिक १२ करोडजति मात्र बजेट आउँछ, यसले गर्दा पनि सबै नहर दुरुस्त पार्न सकिएको छैन,’ उनले भने ।

एकातर्फ सुक्खा मौसमको लम्बेतान खडेरी, अर्कोतर्फ भएको नहरको पानी पनि प्रयोग गर्न नपाउँदा अन्न भण्डार मध्यतराईका तीन जिल्लाका हजारौं बिघा जमिन खेतीविहीन छन् । पानी आउला र धान खेती गरौंला भनी कुरेर बसेका यहाँका किसान लहलह हुने खेत उजाड भएको हेरेर बस्न बाध्य छन् । चुरेको विनाश र सहरी विकासले पनि भू–सतहका पानीको सतह सुक्न थालेपछि भूमिगत जलस्रोतबाट पानी निकाली कृषि कर्म गर्न किसानलाई समस्या बढेको पर्साका अर्का किसान ओमप्रकाश साहले गुनासो गरे ।

अन्न दिने पोसिलो जमिन भएको निष्कर्षसहित राजाको शासनकालमै नेपाली शासकले नारायणी सिँचाइअन्तर्गत गण्डक नहर निर्माण गरी यस क्षेत्रबाट अन्न उत्पादनमा जोड दिएका थिए । तर, जनहितमा काम गर्ने भनिएको व्यवस्थाका शासकले त निर्माण भएका नहर पुरिन थाले पनि सतर्कता नअपनाएको अन्य किसानको आरोप छ ।

मध्यतराईको पर्सा, बारा र रौतहट नै सुक्खा मौसमको चपेटामा परेको पर्साको जगरनाथपुर–६ का किसान सहमत अन्सारीले बताए । नहरको पानी कुर्दै छटपटिएर नारायणी सिँचाइ कार्यालयमा आइपुगेका रौतहटका रञ्जितकुमार साह र अर्का किसान मदन साहले पनि धानको बीउ राख्न नसकिएको गुनासो गरे ।

बाराको जमुनी नदीको पानी नहरमा मिसाउन अझै विलम्ब
भारतले पानी छोडे पनि गण्डक नहरको पुच्छारतर्फ पर्ने रौतहटका किसानको खेत सिँचाइ गर्न पर्याप्त नहुने भएपछि गण्डक नहरमा बाराको आदर्शको तवालस्थित जमुनी सिँचाइ आयोजना निर्माण गरी पानी मिसाउने कार्य अझै ओझेलमा छ । ब्यारेजका १५ वटा गेट निर्माणको काम अझै विलम्ब भएको नारायणी सिँचाइ कार्यालयका सूचना अधिकारी साहले स्विकारे । सिँचाइका लागि पानी फर्काउन सबै संरचना निर्माण सकिए पनि विद्युतीय गेटको पर्खाइमा यो आयोजना केही वर्षदेखि नै अलमलमा परेको उनको भनाइ छ ।

‘ब्यारेजका १५ वटा विद्युतीय गेट डिजाइनको काम सकिए पनि विभागबाट स्वीकृत हुन बाँकी छ,’ सूचना अधिकारी साहले भने, ‘स्वीकृत हुनासाथ टेन्डर आह्वान गरी प्रक्रिया अगाडि बढ्छ, अबको २ वर्षभित्र पर्साको तिलावेको पानीजस्तै बाराको जमुनीको पानी पनि गण्डक नहरमा मिसाएर यस क्षेत्रका किसानको खेत सिँचाइ गर्न सकिन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित