एकीकृत समाजवादीको जम्बो केन्द्रीय कमिटी बन्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरूलाई भाग पु¥याउन केन्द्रीय कमिटी जम्बो बनाउने भएको छ । विधानमा १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ । तर, पार्टीले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

१९ पदाधिकारीसहित १ सय ९९ केन्द्रीय कमिटीबाट अब २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने सचिवालयको निर्णय

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको हो । सचिवालयले गरेको निर्णय महाधिवेशनबाट पारित भएपछि विधान संशोधन गरेर लागू हुनेछ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकले आसन्न महाधिवेशनबाट २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय भएको बताए । पार्टीको सम्मानित पद यथावत राख्ने निर्णय भएको उनले बताए ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने र केन्द्रीय उपाध्यक्षमा एक महिला अनिवार्य गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार वरिष्ठ नेता आवश्यकतानुसार राखिनेछ भने २१ जना पदाधिकारी समावेशिताका आधारमा चुनिनेछन् । कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्ने काम नगरिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, महाधिवेशनबाट विशिष्ट कम्युनिस्ट नेताहरूलाई सम्मान गरिने भएको छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । यस विषयमा भोलि शनिबार बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने प्रवक्ता खतिवडाले बताए । उनले सहमतिकै आधारमा केन्द्रीय कमिटी चुन्ने प्रयास भइरहेको बताए ।

‘सबै नेताले सहमतिकै आधारमा जानुपर्छ भनिरहनुभएको छ, हाम्रो जोड पनि सहमतिमै छ, सहमति हुन सकेन भने निर्वाचनबाट भए पनि केन्द्रीय कमिटी चयन हुन्छ,’ प्रवक्ता खतिवडाले भने ।

महाधिवेशनबाट अध्यक्षका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रतिस्पर्धा गर्ने तयारी रहेको छ । त्यसका लागि दुवै नेताले आफ्नो आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

बिहीबार नै काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा भुसालले युवा भेला गरेका छन् । भेलालाई सम्बोधन गर्दै भुसालले महाधिवेशनबाट पुस्तान्तरण हुनुपर्ने भन्दै जोडतोडका साथ लाग्नुपर्ने बताए । भुसाल निकटका युवा भेलाले नेतृत्वमा युवालाई ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

१६ देखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनोटसँगै अन्य व्यवस्थापनका कार्य तीव्र रूपमा अगाडि बढेको एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले जनाएका छन् ।

विधानबाट ७० वर्षे उमेरको हदबन्दी हटेको छ । युवालाई २० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । महिला, मधेसी, दलित, जनजातिलगायतका क्षेत्रमा समेत आरक्षणको व्यवस्था गरिएको छ । महाधिवेशनमा १ हजार ८ सय ४९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघीय संसद्को प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक