मस्त निन्द्रामै पुरिए ९ जना

काठमाडौं । गुल्मी, स्याङजा र बाग्लुङमा भीषण वर्षापछि शुक्रबार राति गएको पहिरोले घर पुरिँदा मस्त निन्द्रामा रहेका ९ जनाको मृत्यु भएको छ । गुल्मीमा ५, स्याङ्जा र बाग्लुङका २–२ जनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।

गुल्मीस्थित रागुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मालिका गाउँपालिका–६ अर्जै निवासी ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना विक र आठ महिनाकी विपना विकको मृत्यु भएको हो । ठूलो पानी परेसँगै अर्जैमा पहिरो गएको थियो । राति नै पहिरो गएपनि स्थानीयले भने बिहान करिब साढे तीन बजे पछि मात्रै थाहा पाएको वडाध्यक्ष दीपक भण्डारीले बताए ।

उनीहरुको दुईतले कच्ची घर थियो । घर पुरिएको थाहा पाएपछि स्थानीयले बेपत्ताको खोजी गरी शव बाहिर निकालेका थिए । भेषबहादुर र उनकी श्रीमतीलाई टिनले च्यापिएको र बुहारी र दुई नातिनीलाई हिलोले पुरिएको अवस्थामा मृत भेटिएको स्थानीय टोपबहादुर परियारले जानकारी दिए । पाँचै जनाको शव अहिले गुल्मी अस्पतालमा राखिएको छ । भेष बहादुरका तीन भाई छोरा रोजगारीका लागि भारतमा रहेको र उनीहरु आएपछि मात्रै शव बुझ्ने परियारले बताए ।

भेषबहादुरले नौ वर्षअघि साविकको अर्जै गाविसले दिएको जग्गामा घर बनाएका थिए । अर्जैको कडेँलपाटामा रहेको उनको घरमाथिको जमिन केही समयअघि चर्किएको थियो । जमिन चर्किपछि उनले त्यसको पटक–पटक चिन्ता गरेका थिए । ‘अस्ति भेट हुँदा पनि धेरै समय बाँचिन्न जस्तो छ, माथिको जमिन चर्किएको छ भन्नुहुन्थ्यो,’ स्थानीय विष्णु नेपालीले भने, ‘आज उहाँले भनेजस्तै माथिको जमिनले घर पुरिएर पाँच जनाले ज्यान गुमाउनुप¥यो ।’

विष्णुका अनुसार पहिरोले छिमेकी सुर्कबहादुर विकको भैंसी पुरिएको थियो । तर, स्थानीयले भैंसीलाई जिउँदै उद्धार गरेका थिए । पहिरोले कडेंलपाटामा रहेका अन्य तीन घर पनि जोखिममा रहेका छन् ।

भेषबहादुरका तीन छोरा रोजगारीका लागि भारतमा छन् । जेठा छोरा विमलले बाबुआमासहित श्रीमती र दुई छोरी गुमाएका छन् । माइला छोरा २५ वर्षीय सुवास श्रीमतीको साथमा थिए भने कान्छा छोरा २० वर्षीय कृष्ण विक अविवाहित हुन् । दुई महिनाअघि जेठा छोरा विमल कान्छी छोरीको भात खुवाइमा घर आएका थिए । त्यो भेट नै उनका लागि अन्तिम बन्न पुग्यो ।

यस्तै, कास्कीको पश्चिमी सिमाना स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बांगेस्थित दुर्गा जिटीको घर पहिरोले पुरिँदा उनीसहित नाबालिका निसिकाको मृत्यु भएको हो । आमा ३१ वर्ष र छोरी तीन वर्षका हुन् ।

अविरल वर्षाका कारण शुक्रबार राति ११ बजेर ३० मिनेटमा जिटीको घरभन्दा अन्दाजी २५ मिटरमाथिबाट ढिस्कोसहित पहिरो खसेको हो । पहिरोले उनको एकतले घर पुरेको छ भने घरनजिकैको गोठको एउटा भैंसी पनि मरेको छ ।

राति सुतिरहेको अवस्थामा आमाछोरीले पहिरोमा ज्यान गुमाउन पुगेका हुन् ।

जिटी परिवारका चार सदस्यमध्ये दुर्गाका पति नरबहादुर जिटी वैदेशिक रोजगारका लागि साउदीमा छन् । सात वर्षीय छोरा निर्देश नजिकै छिमेकीको घरमा केही दिनदेखि उतै खेल्ने बस्ने गर्दै आएका थिए । भाग्यवश उनी पहिरोबाट जोगिएका छन् ।

फेदीखोला–५ का वडाध्यक्ष डिलबहादुर गुरुङका अनुसार पहिरोले घरको कुनै नामनिशान छैन । उनले भने, ‘राति करिब ७ देखि ९ बजेसम्म भीषण वर्षा भएको थियो । कहाँ के गर्छ भन्ने भय हामीलाई पनि भय थियो । आखिर यस्तो देख्नुप¥यो ।’ उनका अनुसार जिटीको घर कान्लोमा थियो । जग्गा भिरालो पनि भएकाले पहिरोले सोहोरेर लगेको हो । ढुंगामाटोले बनेको एकतले घर टिनले छाएको थियो ।

घटनाको जानकारीपछि स्याङ्जा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयको सहयोगमा पहिरोमा पुरिएको अवस्थामा राति करिब ३ बजे बल्ल आमाछोरीको शव बाहिर निकालिएको थियो ।

शव पोस्टमार्टमका लागि अस्पताल लगिएन । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला अस्पतालको टोली, जिल्ला प्रहरी कार्यालयका प्रमुख शालिग्राम शर्मासमेतको उपस्थितिमा शनिबार बिहानै घटनास्थल पुगेर शव परीक्षसहित शव व्यवस्थापन कार्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

संघीय सरकारबाट प्राप्त हुने १५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई तत्कालै हस्तान्तरण गरेको छ । सो रकम प्रमुख जिल्ला अधिकारी नेपालले हस्तान्तरण गरेकी हुन् । उनले आमामी दिनमा थप राहत सहयोग उपलब्ध गराइने आश्वासन दिएको स्थानीय अमृत क्षेत्रीले बताए ।

यस्तै, वडाध्यक्ष गुरुङले पीडित परिवारलाई वडा र गाउँपालिकाबाट पनि सहयोग हुने बताएका छन् ।

बर्खायाममा बाढीपहिरोको जोखिम हुने भएकाले सतर्क रहन सरकारले आग्रहसमेत गर्दै आएको छ । यसै साता कास्की र लमजुङमा घरमा पहिरो खस्दा ६ जनाको ज्यान गएको थियो ।

बाग्लुङस्थित राजधानी सहकर्मीका अनुसार, बाग्लुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन् ।

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

शुक्रबार राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित