बल्ल छाड्यो भारतले गण्डक नहरमा पानी

वीरगन्ज । पर्सा, बारा र रौतहटका ३७ हजार ४ सय हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्न बनेको गण्डक नहरमा बल्ल भारतले पानी छाडेको छ । मध्यतराईका यी तीनवटै जिल्लामा अकासे पानी आउन थालेपछि भारतले पनि गण्डक नहरमा पानी छाडेको हो ।

पहिलेको सम्झौतामा धान सिजनका लागि २७ वैशाखबाटै पानी छाड्ने भनिएको छ । तर, सम्झौता भएयता झन्डै तीन दशकदेखि असार दोस्रो साताबाट मात्र भारतले पानी छाड्ने गरेको छ । यसमा नेपाल र उसको संयन्त्रको पनि केही कमजोरी रहेको भेटिएको छ । भारतले यस वर्ष छिट्टै पानी छाडेको भनिए पनि सम्झौताभन्दा ४९ दिन ढिलो गरी छाडेको हो ।

यस वर्ष शुक्रबार बिहान मात्र किसानले नहरमा पानी देखेका थिए । भारतले बिहीबार साँझ ४ बजेबाटै नहरमा पानी छाडेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी सुरेशप्रसाद साहले बताए । अघिल्लो वर्षभन्दा यस वर्ष दुई दिनपहिले नै पानी आएको उनको भनाइ छ ।

यस वर्ष लामो खडेरीका कारण पर्सा, बारा र रौतहटलगायत मध्यतराईमा खडेरीले निकै सताएको थियो । तथापि, सिँचाइका लागि भने राजाकै शासनकालमा बनेको गण्डक नहरमा समेत समयमा पानी आएन । नारायणी सिँचाइ परियोजनाअन्तर्गत गण्डक नहरमा आउने पानी भारतको बाल्मीकिनगरछेउ भैसालोटनबाट नहरमा फर्काएपछि मात्र आउँछ । नहरको पानी प्रयोग गर्ने जिम्मा भारतको पोल्टामा छ । हरेक वर्ष खडेरीभरि भारतले पानी उतै प्रयोग गरी वर्षा सुरु भएपछि बल्ल नेपालतर्फ छोड्ने किसानको आरोप छ । यहाँका किसान यो तीतो यथार्थ भोगेको दाबी गर्छन् ।

धान सिजनका लागि २७ वैशाखदेखि कात्तिकसम्म र गहँु सिजनका लागि १० पुसदेखि ११ चैतसम्म अर्थात् २५ डिसेम्बरदेखि २५ मार्चसम्म नहरमा पानी छाड्ने कुरा सुरुको सम्झौतामा रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । तर, धान खेतीको सिजनमा पछिल्ला धेरै वर्षदेखि १५ असारको आसपासमा मात्र नहरमा पानी छाड्ने गरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनायो ।

नेपालमा १५ असारमा धान दिवससमेत मनाइने भएपछि योे समयसम्म पानी छोड्न अनुरोध गरिएनुसार भारतले १५ असारमा चाहिँ पानी छोड्ने गरेको खुलेको छ । यतिको विलम्ब गरी सिँचाइ गर्ने नहरमा पानी छोड्दा पनि नेपालको संघीय शासन व्यवस्था चलाउने नेपाल सरकार, मधेस प्रदेश सरकार र नेपालका नीति बनाउने जिम्मेवार व्यक्तिहरू किसानको हितमा खासै नबोलेको किसानको आरोप छ ।

खडेरीले किसानको बीउ नै छैन तयार
समयमा पानी नपर्दा र नहरमा समेत पानी नआउँदा मधेसका ३ जिल्लाका ३७ हजार ४ सय हेक्टर जमिनमा असार दोस्रो सातासम्म पनि रोपाइँ भएको छैन । अधिकांश किसानको बीउ नै भर्खर हुर्किंदै गरेको छ । यस क्षेत्रका किसानले नहरको पानीबाट अहिलेसम्म बीउ राख्नसमेत नपाउँदा आकाशको पानीको भरमा विलम्ब भएको किसानको तर्क छ ।

नहरको लम्बाई भारतको भैसालोटनदेखि रौतहटसम्म मूल नहर ८१ किलोमिटर छ । त्यसैगरी मूल शाखा नहर १ सय ३७ किमी, शाखा नहर २ सय ३३ किमी, उपशाखा नहर ४ सय ८ दशमलव ५ किमी, प्रशाखा नहर १ हजार ४ सय किमी र डे«न (निकास) नहर ३ सय ८ किमी रहेको छ । यत्रो नहर सञ्जालमा पानी छोड्ना साथ किसानको खेतमा पानी पुगिहाल्ने अवस्था छैन । फेरि पछिल्लो समय मूल नहर र मूल शाखा नहरहरूबाहेक साना तथा निकास नहरहरू किसान आफैंले त कतिपय विकास निर्माणका नाममा मासिन थालेको पनि भेटिएको छ ।

नहरमा ३ सय क्युसेक मात्र पानी
ढिलो गरी आएको नहरको पानी आधा पनि आएको छैन । नेपाली पक्षले किसानको बीउ तयार भइनसकेकाले फुल फेजमा नै नभए पनि हुने बताएपछि अहिले जम्मा ३ सय क्युसेक मात्र पानी आइरहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । फुल फेजमा पानी आउँदा कुल साढे ८ सय क्युसेक पानी आउनुपर्ने हुन्छ ।

तर, नेपालतर्फ नहरको संरचना पनि दुरुस्त नभएको कार्यालयकै तर्क छ । फलतः मुख्य सिजनमा पनि ५–६ सय क्युसेकभन्दा बढी पानी आउन छाडेको तथ्य खुलेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले पनि नहरको सबै अवस्था दुरुस्त गर्न ५० करोडजति लगानी लाग्ने दाबी गरेको छ । सरकारले भने वार्षिक १२ करोड मात्र बजेट दिने गरेको कार्यालयका सूचना अधिकारी साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी