काठमाडौं । आफ्ना २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै पोखराकी सृष्टी गुरुङले १ लाख रुपैयाँ सहित डान्स च्याम्पियनसिपको उपाधि जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौंको नाचघरमा शनिबार बेलुका आयोजना गरेको पाँचौ एसइइ डान्स च्याम्पियनसिप–२०२४ सृष्टी उत्कृष्ट भएकी हुन् । सृष्टीले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति हाँसिल गरिन् ।
फाईनलमा ७ वटै प्रदेशबाट २५ प्रतिस्पर्धी थिए । जसमा काठमाडौंकी प्रगति पोखरेलले दोश्रो हुँदै ५० हजार रुपैयाँ र विभिन्न उपहार हाँसिल गरिने भने तेश्रो पुरस्कार बबिता मगरले जितिन् । बविताले ३० हजार रुपैयाँ पाईन् । उनीहरुले नगदसहित ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति पनि प्राप्त गरेका छन् । कार्यक्रममा उनीहरुलाई अग्रज नृत्य निर्देशक भौरवबहादुर थापाले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा फाईनलमा पुगेका २५ जना प्रतिस्पर्धीले नै १२ कक्षासम्म अध्ययन गर्नकालागि पूर्ण छात्राबृत्ति पाएका छन् । अन्तिम प्रतिस्पर्धाको निर्णायकमा नृत्यनिर्देशकहरु कृष्णप्रसाद पौडेल, प्रेमलाल श्रेष्ठ, रोहिया महर्जन, दिवस गिरी, शान्ति कठायत थिए । यो प्रतियोगितामा कही प्रत्यक्ष र कही डिजिटल गरेर सबै प्रदेशबाट अडिसन लिई फाईनलका लागि २५ प्रतिस्पर्धी चयन गरिएको आयोजक पक्षले जनायो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष एवम् प्राज्ञ महेश गोदारले नृत्य मनोरञ्जनको साधन मात्र नभएर औपचारिक शिक्षाको एउटा विषय हो भन्ने कुरा स्कुलदेखि कलेजसम्म स्थापित गराउन यो प्रतियोगिता आयोजना गरेको बताए । पाँच वर्षदेखि आयोजना हुँदै आएको यो राष्ट्रव्यापी प्रतियोगिताले समाजमा नृत्यको महत्वलाई अझ ओझिलो बनाएको पनि उनले कार्यक्रममा प्रकाश पारे ।
सोही समारोहमा ‘प्लस टु डान्स च्याम्पियनसिप’को पनि घोषणा गरियो । यसको अडिसन आगामी भदौबाट सुरु हुने यसका आयोजक एवम् प्राज्ञ महेश गोदारले सो कार्यक्रममा जानकारी गराए ।
सोही समारोहमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानित गरियो । कार्यक्रममा अग्रज संगीतकार शम्भुजीत बासकोटालाई संगीत रत्न सम्मान, प्रा. हनि श्रेष्ठलाई नृत्य शिक्षा सम्मान, पत्रकार विदूर गिरीलाई चलचित्र पत्रकारिता सम्मान, चलचित्र निर्देशक दिनेश राउतलाई प्रगतिशिल चलचित्र निर्देशक सम्मान, गायक पुष्प गजमेरलाई संगीत सम्मान र नृत्यकार स्वजन रघुबंशीलाई बज्रयोगिनी नृत्य उर्जा सम्मानबाट सम्मानित गरियो ।






