मनसुनको सक्रियता आजबाट बिस्तारै घट्ने

काठमाडौं । पानी पार्ने मौसमी प्रणाली मनसुनको सक्रियता आज (सोमबार)देखि बिस्तारै घट्दै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन सक्रियतामा कमी आउँदा पानी पर्ने दरमा पनि कमी आउनेछ । नेपालमा २८ जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएयता गत शुक्रबार साँझदेखि मुलुकका विभिन्न स्थानमा भएको भारी वर्षाले बाढी र पहिरो जाँदा ठूलो धन जनको क्षति भएको छ ।

मनसुन भित्रिएयता मनसुनजन्य विपद्बाट ६७ जनाको मृत्यु

मौसमविद् रञ्जन शर्माका अनुसार आज (सोमबार)देखि मनसुनको सक्रियता कम हुँदै जाँदा कम पानी पर्ने देखिएको छ । ‘सोमबारबाट पानी पर्नेक्रम सुस्त हुँदै जानेछ, उनले भने, ‘तर, विभिन्न ठाउँमा छिटफुट तथा हल्का वर्षा भइरहनेछ, घाम लागिहाल्ने वा सुक्खा भइहाल्ने अवस्था होइन ।’ मनसुनको सक्रियता घटे पनि सो अवधिमा पानी नै नपर्ने भन्ने हुँदैन । सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा ‘हल्का’देखि ‘मध्यम’ वर्षाको सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ ।

सो अवधिमा मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ मौसम महाशाखाले भनेको छ ।

मनसुन भित्रिएयता मात्रै आइतबारसम्म बाढी पहिरो, चट्याङलगायतका विपद्बाट ६७ जनाको मृत्यु भइसकेको छ । यो क्रम अझै केही मनसुन सक्रिय रहँदा बाढी पहिरोको जोखिम बाँकी नै रहेको छ । दुई दिनयता लगातार परेको वर्षाका कारण चार जना हराइरहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस विपद्मा परेर ९० जना बढी घाइते भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणनुसार पछिल्ला दुई दिनमा मात्रै बाढी, पहिरोबाट १४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार दुई दिनमा यति धेरैको ज्यान जानु यो मनसुनकै ठूलो घटना हो ।

नेपालमा यस वर्ष १० जुनमा भित्रिएको मनसुनबाट ६१ जिल्ला प्रभावित भएका छन् भने ५ सयबढी विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद्को विवरणनुसार हालसम्म १० करोडभन्दा बढीको क्षति भएको छ ।

यस वर्ष बढी वर्षा हुने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले नेपालमा आगामी बर्खायाममा सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने आँकलन गरेको छ । मौसम विभागले गरेको आँकलनअनुसार प्रशान्त महासागरमा विकसित हुने ‘लानिन्या’ प्रणालीका कारण पनि यस वर्ष औसतभन्दा धेरै वर्षा हुने आँकलन गरिएको हो ।

नेपालमा मौसम पूर्वानुमानका लागि दक्षिण एसियाली मुलुकहरूको बादलदेखि प्रशान्त महासागरमा उडिरहेको हावासमेतलाई अध्ययन गरेर मौसम पूर्वानुमान गर्ने गरिन्छ । तर, सो विश्लेषण गर्दा ठ्याक्कै मिलेको भने देखिँदैन । नेपालमा चलिरहेको स्थानीय मनसुनी प्रणालीमा पनि हरेर पूर्वानुमान लगाउनुपर्ने मौसम विभागको भनाइ छ ।

मुलुकका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ । विभागका अधिकारीहरूका अनुसार मुलुकका अधिकांश ठाउँमा औसत वर्षा नै हुने सम्भावना छ, तर गण्डकी प्रदेशमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने देखिन्छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिमी भूभाग, बाग्मती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा भने यस वर्ष सरदर वर्षा हुने सम्भावना छ । उनीहरूका भनाइमा प्रतिशतमा वर्षा बढी हुने देखिएका ठाउँमा औसतभन्दा बढी हुने सम्भावना हो । त्यो भनेको १० मिलिमिटर बढी पनि हुनसक्छ र १०० पनि हुनसक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन