रक्तचन्दन अवैध तस्करी र नियन्त्रण

मानव जीवनका लागि अपरिहार्य विषय हो, स्वस्थ एवं आरामदायी जीवन । स्वस्थ मस्तिष्कद्वारा नै स्वच्छ एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसो गर्न प्रकृतिभित्रका विविध तत्वले मद्दत गर्छन् । त्यसैमध्ये एक तत्व हो, ‘रक्तचन्दन’ । यो मौसमी वातावरणमा पाइने प्रजाति हो । यो नेपालका विभिन्न भागमा फाट्टफुट्ट संख्यामा पाइने र मित्रराष्ट्र भारतको कर्णाटक, आन्ध्र प्रदेश, राजस्थानलगायतका स्थानमा व्यावसायिक खेती हुँदै आएको पाइन्छ । साइटिसको सूचीमा परेको यो वनस्पतिको उपयोग आरामदायी एवं सौखिन जीवन जीउन प्रयोग भएको पाइन्छ । रक्तचन्दनलाई पिट्रोक्यापस सेन्टालिना, रुवीलगायतका नामले पनि चिनिन्छ । यो वनस्पति करिब ३५ फिटसम्म अग्लो र करिब सवा मिटरसम्म मोटाइमा पाइन्छ ।

नेपाललाई विश्व मानचित्रमा नियाल्ने हो भने हाम्रो मुलुक नेपाल अपार जडिबुटी एवं वनस्पतिको भण्डार हो । गुणस्तरीय जीवनका लागि यो ज्यादै आवश्यक छ । उदाहरणका रूपमा गुच्ची च्याउ, यार्सागुम्बा, निरमसी, पाँचऔंले, श्रीखण्ड, रक्तचन्दन आदि नेपालीले जानी नजानी गुणस्तरीय जीवनका लागि उपयोग गर्दै आएका पाइन्छ । नेपालमा हाल अवैध रूपमा भेटिएको रक्तचन्दन प्रायः तिब्बततर्फ निकासी हुनेगरेको पाइन्छ । यसको पात गोलोगोलो भएको र फूल पहेंलो वर्णको मञ्जरीको रूपमा फुल्छ । यसको फल मुगाको रङजस्तो हुन्छ ।

रक्तचन्दनलाई पिट्रोक्यापस सेन्टालिना, रुवीलगायतका नामले पनि चिनिन्छ

बाहिर सेतो र भित्रको मुख्य भाग रातो हुन्छ । यो मुख्य भागमा मधुर सुगन्ध आउँछ । गुणस्तरीय स्वास्थ्यका लागि प्रयोग गरिने भाग भित्री चुरो वा मुख्य कडी हो । यस भागको मुख्य उपयोगमा चन्दनको लेप लगाउने, सुन्निएको बसाउने, छालाको रोग निको पार्ने, विभिन्न किटनासक, आगोले पोलेको ठाउँमा लगाउने, टाउको दुख्ने बेलामा प्रयोग गर्ने, आँखा दुखेमा प्रयोग गर्ने, पेटको विकार हटाउने, वमन रोक्ने, प्यास मेटाउने, काटेको वा फाटेको ठाउँमा रगत बग्न रोक्ने, ज्वरो घटाउने, कफ र पित्तसम्बन्धी रोकथाम, शक्ति बढाउने, रक्त विकार हटाउने आदिमा यसको प्रयोग भई गुणस्तरीय जीवन कायम राख्न मद्दत पु-याउँछ । औषधिबाहेक रक्तचन्दन मन्दिर, गुम्बा निर्माण गर्दा काठको रूपमा, धुलो धूप र अगरबत्ती बनाउन र चीनमा सम्पन्न परिवारले प्रयोग गर्ने राताचिल्ला सुगन्धित फर्निचरहरू प्रयोग गरी इज्जतका रूपमा उपयोग भएको पाइन्छ ।

नेपाल तथा मित्रराष्ट्र भारतमा ठूलो परिमाणमा अवैध रूपमा रक्तचन्दन तस्करहरूले चलखेल गरी तस्करी गरेको पाइन्छ । उचित रूपमा तस्करहरूलाई कारबाही गर्ने तर्फ राज्य असफल छ । यो ठूलो विडम्बनाको कुरा हो ।

यसै सिलसिलामा गत २७ वैशाख २०८१ मा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न समयमा भारतबाट नेपालमा अवैध रूपमा ल्याइएका १८ जिल्लाबाट बरामद गरेको रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय भएको छ । सो बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाट गद्दीमा रहेको जम्मा १ लाख ७३ हजार ७१ दशमलव ७९२ केजी काठ उत्पत्ति भएको मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गरेको निर्णय गरेको पाइन्छ । सो निणयले २०६४ सालदेखि बरामद गरेर राखेको रक्तचन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउने सरकारको दाबी छ । हाल भारतले रक्तचन्दन लिन ईमेलमार्फत पत्र पठाएको जानकारी प्राप्त भएको छ । गत ६ देखि १६ असारसम्म भारतले रक्तचन्दन जैलाने सम्बन्धित निकायले जनाएको छ ।

स्मरण रहोस्, रक्तचन्दन थन्क्याएर राखिएका जिल्लामा सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, संखुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङ छन् । २०६५ सालमा मन्त्रिपरिषद्को बैठकले ५४ हजार १ सय १२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो, तर ३६ हजार ९ सय २८ केजी रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यस्तै, १२ फागुन २०७१ मा बसेको मन्त्रिपरिषद्को बैठकले २७ हजार १ सय ६६ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय ग¥यो । यस्तै, २०७६ साल पुसमा र २०८० साल साउनमा सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरे पनि रक्तचन्दन फिर्ता हुन सकेको थिएन । माथिका आधारमा लामो समयसम्म बरामद भई नेपालका विभिन्न जिल्लामा रहेका रक्तचन्दन अब कतिको गुणस्तरीय छ ? प्रश्नको उत्तर अनुत्तरीय नै छ । हुन त सरकारले निर्णय गरेको ९० दिनभित्र नेपालको सीमा कटाएर रक्तचन्दन पठाउन सक्नुपर्ने व्यवस्था रहेको पाइन्छ । यसभन्दा पहिलेको विभिन्न मितिमा उत्पत्ति भएकै मुलुक भारतमा रक्तचन्दन फिर्ता गर्ने प्रक्रिया अघि बढेको पाइन्छ ।

चीनमा सम्पन्न परिवारले रक्तचन्दनका राताचिल्ला सुगन्धित फर्निचर इज्जतका रूपमा उपयोग गर्ने गरेको पाइन्छ ।

वातावरण शुद्धता चाहिने पनि मानिस, वातावरण विनाश गर्ने पनि मानिस नै हो । यसैले त मानिसलाई अनौठो प्राणीको संज्ञा दिइएको छ । मानिसले आफ्नो अस्तित्वमाथि नै संकट निम्त्याएको छ । राजनीतिक निहित स्वार्थले नेपालमा ठूलो द्वन्द्व ल्याएको परिवेशमा बुद्धि र विवेक पनि मानिसले सन्तुलन नराखी प्रकृतिकै वरदानमा कुप्रभाव पारी विनाश गरेको अवस्था छ । जसको फलस्वरूप मानिसले आफ्नो धर्ती, आफ्नो अस्मीता, आफ्नो वातावरण संकटमा पारेको छ । सृष्टिमा सबैभन्दा महत्वपूर्ण सृष्टि भएर पनि मानिसले आफूलाई चिन्न सकेन, आफ्नो वातावरण बुझ्न सकेन र प्रकृतिको उपहार रक्तचन्दन र अन्य अमूल्य हजारौं प्राकृतिक सम्पदा विनाश गरेको र कहिले आउला मानिस देवता र धर्ती स्वर्ग हुने अवस्था ।

अतः विश्वकै प्राकृतिक सम्पदाको धनी राष्ट्र भनी उपाधि पाएको नेपालमा प्राकृतिक सम्पदाको संरक्षण गरी बिहानीको सुनौलो सगरमाथा, शीतल फेवातालमा परावर्तित माछापुच्छ«ेको छाया, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफेचरी, मुनाल, कालिजजस्ता चराचुरुंगी, चारकोसे झाडीले प्रसिद्धि कमाएका हाम्रा जंगल अनि त्यसमा छुनुमुनु गर्ने हरिण र मृग सावकहरू, गैंडाका केटाहरू, हात्तीका छावाहरू र कोइलीका मधुर स्वरहरू संरक्षण गर्नु हाम्रो दायित्व हो । विश्वसामु सगरमाथा, बौद्ध र पशुपतिनाथ भएको नेपालमा पूर्ण शान्तिमय वातावरणको सिर्जना गरी नेपालीमा आपसी मेल गरी हिंसा त्यागी सभ्यता, संस्कृति र शान्तिमय वातावरणको बिगुल फुक्ने, नेपाल र नेपालीको वातावरण सुधार भई हिलोबीच पनि कमल फक्रन्छ । वीर नेपालीहरू राष्ट्रकै हित हुने वातावरणमा लागौं, हिंसा त्यागौं । यसमा नै तपाईं हामी सबैको भलाइ हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी