मुलुकभर माध्यमिक शिक्षाको नतिजा कमजोर आइरहेका बेलामा काठमाडौं महानगरपालिकामा भने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयहरूको नतिजामा तुलनात्मक रूपमा निकै सुधार आएको देखिएको छ । गत वर्षको तुलनामा आँकडा जाँचेर हेर्दा पनि यो स्पष्ट देख्न सकिन्छ ।
यस वर्षको महानगरभित्रका सामुदायिक विद्यालयबाट ३ हजार ९ सय ६१ जना परीक्षार्थी एईईमा सामेल भएका थिए । तीमध्ये ३ हजार ८८ जना परीक्षार्थी राम्रो जीपीएसहित उत्तीर्ण भएका छन् । महानगरले तयार पारेको पछिल्ला ३ वर्षको परीक्षा नतिजाको तुलनात्मक विवरणमा यसको स्पष्ट खाका देखाइएको छ ।
विद्यार्थी पास हुने मात्र होइन, स्तर पनि बढ्दै गएको आँकडामा देखिन्छ । पछिल्लो लेटर ग्रेडिङका आधारमा पनि यो देखिने गरेको छ । शिक्षामा सुधारका लागि गरिएका प्रयत्नमध्ये पछिल्ला वर्षहरूमा अपनाइएका विधि र कार्यक्रम बढी प्रभावकारी देखिएका छन् । महानगरपालिकाले सञ्चालन गरेका शैक्षिक सुधारका कार्यक्रमले व्यावहारिक प्रतिफल दिन थालिसकेका छन् ।
महानगरले हर्षका साथ नतिजाको प्रशंसा पनि गरेको छ । बाँकी रहेका समस्या समाधानको पनि उपाय खोजिरहेको देखिन्छ । अहिलेको लक्ष्य २ जीपीएभन्दा कम ल्याउनेको संख्यामा कमी ल्याउन विशेष कार्यक्रम ल्याइने तयारी गरिरहेको देखिन्छ । २ जीपीए भनेको ४० देखि ५० अंकको बीचमा हो । महानगरमा पढाइ हुने विषयमा गणित, विज्ञान, अर्थशास्त्र र सामाजिक अध्ययनमा नतिजा केही बढी कमजोर हुने गरेको देखिएको छ ।
यसका लागि सुरुमा महानगरपालिकाले सबै विद्यालयमा आवश्यकतानुसार २ देखि ३ महिनासम्म गणित, विज्ञान र अंग्रेजी तथा अन्य कम अंक ल्याइएका विषयका लागि विशेष कक्षा सञ्चालन गर्न अनुदान रकमसमेत उपलब्ध गराइसकेको छ ।
यसअघि महानगरले शैक्षिक गुणस्तर उकास्न शिक्षकलाई तालिम, बुक फ्री फ्राइडेबाट सिर्जनात्मक सिकाइ अभ्यास, विभिन्न विषयमा उपचारात्मक कक्षा, पर्याप्त अनुगमन, दिवा खाजामा थप अनुदानजस्ता कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
यसका साथै शिक्षकको दक्षता अभिवृद्धि, पुस्तकरहित शुक्रबारको पाठ्यक्रम विकास, अनुसन्धानमा आधारित कार्ययोजना, त्यसको कार्यान्वयन, नतिजा र प्रभावको मूल्यांकन आदि कामलाई प्राथमिकता दिएको थियो । यसका साथै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ पनि सञ्चालनमा ल्याएको छ । हाल पूरक परीक्षाका लागि पनि महानगर टुप्पी कसेर लागिपरिरहेको छ ।
यस्ता नीति तथा कार्यक्रम अरूले पनि सिको गरेमा र त्यहाँको स्थानीय विशिष्टताका आधारमा थप सिर्जनशीलता अपनाएमा कुनचाहिँ सामुदायिक विद्यालय उँभो नलाग्ला र !






