सिमलताल पहिरोः बेपत्ता यात्रुबस खोज्न ड्रोन प्रयोग

काठमाडौं । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेका दुईवटा बस र बेपत्ता रहेका करिब ५० यात्रुको खोजी कार्यका लागि सशस्त्र प्रहरीले उच्च प्रविधिको प्रयोग गरेको छ ।

शुक्रबारदेखि हराइरहेका बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामेरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु गरेको छ । तर, शनिबार साँझसम्म त्रिशूली नदीमा केही वस्तु पनि फेला पार्न नसकिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

हराइरहेका यात्रु र बस खोज्नका लागि नेपालमा उपलब्ध उच्च प्रविधिको प्रयोग भइरहेको प्रशासनले जनाएको छ । खोजीमा प्रयोग भएको क्यामेराले नदीको २० मिटर गहिराइसम्म हेर्ने सकिने प्राविधिकहरूको भनाइ छ । २० मिटर लामो केबुलको एउटा छेउमा क्यामेरा हुन्छ । माथि बसेर स्क्रिनमा पानीभित्रको भिडियो हेर्न र वस्तु पहिचानसमेत गर्न मिल्छ ।

हालसम्म हराइरहेकामध्ये एक जनाको शव पहिचान भएको प्रजिअ यादवले जानकारी दिए । उनका अनुसार खोजी गर्ने क्रममा भारत बिहारका ऋषिपाल साहको शव गोलाघाटमा भेटिएको छ । हराइरहेकामध्ये गोलाघाटमा ऋषिपाल साहको शव भेटिएसँगै उनको परिवारले सनाखतसमेत गरिसकेको छ ।

त्यस्तै, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैंडाकोट नगरपालिका–७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको एक सूचनामार्फत जानकारी गराएका छन् । ती शव भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरोमा बससँगै बगेका यात्रुको हुनसक्ने आशंका गरिएको छ । ती शवको पहिचानका लागि भरतपुरमा आएका आफन्तलाई देखाएर पहिचान गरिने सहायक प्रजिअ भुसालले जानकारी दिए ।

२८ असार शुक्रबार बिहान साढे ३ बजे नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो माटोसहित बगेको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतहटको सदरमुकाम जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो ।

चितवनका प्रजिअ यादवका अनुसार वीरगन्जबाट हिँडेको बसमा २४ जना यात्रु थिए भने गौर जाँदै गरेको बसमा २७ यात्रु थिए । चलानमा उल्लेख भएभन्दा पनि बढी यात्रु रहेको भने पनि को–को थिए भन्ने ’bout अहिलेसम्म खुलेको छैन ।

पहिरो गएको शुक्रबारको दिनभर उच्च बहावमा बगेको त्रिशूली नदीमा सशस्त्र प्रहरीको कमान्डमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले चुम्बक, बाँसको भाटा प्रयोग गरेर खोजी कार्य गरे पनि फेला पार्न सकिएन । दोस्रो दिनबाट भने नेपालमा भएको जलउत्पन्न विपद् उद्धारको जनशक्ति र प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । धमिलो पानीका कारण गोताखोरले समेत सतहमा राम्रोसँग देख्न नसक्ने भएकाले सोनार क्यामेरा र वाटर ड्रोनको प्रयोग गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले हिजो (शनिबार) जारी गरेको सूचनाअनुसार हराइरहेको बस अब ठूलो चुम्बक (म्याग्नेट)को सहायताले खोजी गरिने जानकारी दिएको छ । त्यस्तै, नारायणी नदी तटीय क्षेत्रमा ¥याफ्टिङ बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले खोजी तथा उद्धारका लागि सबै खालका प्रयासलाई जारी राखेको जनाएको छ ।

सम्भावित सबै स्थानमा चितवन जिल्लामा रहेका सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय, कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीको संलग्नतामा फलामे हुक, गोताखोर, सोनार, ¥याफ्टिङ बोट, बाइनाकुलर, टेलिस्कोप कायकको प्रयोग भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । साथै, परिवारसँगबाट यात्रुको परिचयपत्र र फोटो संकलन गरी खोज तथा उद्धार कार्य गरिएको प्रशासनले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै, नेपाली सेना र नेपाल प्रहरीसमेत परिचालित रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

epaper

ताजा समाचार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते