काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराएकाहरूको पाँच दिनदेखि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीले खोजी गरिरहेका छन् ।
मंगलबारसम्म हराइरहेकामध्ये १७ जनाको शव भेटिएको छ । जसमध्ये १० जनाको सनाखत भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । हराइरहेकाहरूको खोजीमा पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामेरा’ प्रयोग गरेर त्रिशूलीमा शुक्रबारदेखि हराइरहेका दुई बससँगै यात्रुको खोजी सुरु भएको छ । बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको मुख्यालयबाट इन्जिनियरसहितको प्राविधिक टोली खटाइएको छ ।
– खोजीमा ‘सोनार क्यामेरा’ प्रयोग
– भेटिएका १७ शवमध्ये १० को सनाखत
सोनार क्यामेराले नदीभित्रको ३ सय मिटरसम्मको सूचना दिने गर्छ । नेपालमा यो प्रविधि हालसम्मको उच्च प्रविधिको रहेको सशस्त्र प्रहरीले जनाएको छ । मंगलबार सशस्त्र प्रहरीले घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दूरीमा रहेको गण्डक ब्यारेजसम्म खोजी गर्न प्रहरी परिचालन गरिएको जनाएको छ ।
दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ गोताखोरसहित ८६ जनाको सुरक्षा फौज खटिएका छन् । दुईवटा मोटरबोट र सातवटा ¥याफ्टबोटसहित उनीहरू परिचालित छन् ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर खटिएका छन् । उनीहरू घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएका छन् । त्यसैगरी, सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाटलगायतका ठाउँहरूमा परिचालित भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाकामा खटिएका छन् । सुरक्षा बेस चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित छन् ।
२८ असार शुक्रबार बिहान साढे ३ बजे लेदो माटोसहित बगेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतहटको सदरमुकाम गौर जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूली नदीले बगाएको थियो ।






