काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को छायांकन एक महिनामा सकिएको छ । मकवानपुरको चित्लाङबाट सुरु भएको यो चलचित्रको छायाँकन चितवनमा सम्पन्न भएको छ । चलचित्रका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनको छायाँकन पछि ज्वाइँ सावको छायाँकन मँगलबारबाट सकिएको हो ।
‘हामी छायांकन सकेसँगै काठमाडौं फर्किएका छौं र चलचित्रको पोष्ट प्रोडक्शनको काममा जुटेको छौं । चलचित्रलाई चाँडै तयार गरेर हामी रिलिज गर्नेछौं ।’ निर्देशक निरौलाले भने,‘ ‘जीतु र नीति शाहलाई दर्शकले विशेष अवतारमा देख्न सक्नुहुनेछ । यसैले, हामीले सुटिङ सेटबाट कुनै पनि लुक्स सार्वजनिक गरेका छैनौं र दर्शक फस्टलुक देखेर सरप्राइज हुनुहुनेछ ।’
यो चलचित्रमा जीतु नेपाल र नीति शाहको जोडीको रुपमा रहेका छन् । चलचित्रका अन्य कलाकारमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायत छन् ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।






