काठमाडौं । एक साताअघि नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र यात्रुको खोजीमा भारतबाट आएको नेसनल डिजास्टर रेस्पोन्स फोर्स र नेपाली सुरक्षाकर्मीको उद्धार टोलीले आइतबारबाट संयुक्त रूपमा खोजी सुरु गरेका छन् ।
खोजी कार्यका लागि भारतीय टोलीमा तीनवटा सोनार क्यामेरासहित चार जना गोताखोर र अन्य प्राविधिक गरी १२ जना रहेको चितवनका प्रमुख जिल्ला अधिकारी चन्द्रदेव यादवले जानकारी दिए । सो टोलीले सिमलताल पहिरोदेखि करिब ४ किलोमिटर क्षेत्रमा खोजी कार्य गरिरहेका छ । नेपाली उद्धार टोलीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिमप्राप्तसहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ ।
नेपाली टोलीले ३ सय मिटरसम्मका वस्तु संकेत गर्ने क्षमता भएको सोनारसमेत प्रयोग गरेर खोज्दा पनि बस फेला पार्न सकिरहेको छैन । भारतीय टोली अनुभवी भएका कारण केही नतिजा छिट्टै आउने अपेक्षा लिइएको छ । नौ दिनअघि शुक्रबार बिहान साढे ३ बजेको घटनामा परेका ती बसमा कम्तीमा ६५ जना चढेको बताइएकामा तीन जना पौडी खेलेर बाँच्न सफल भएका थिए । हालसम्म शव फेला परेका २४ मध्ये १९ जनाको सनाखत भएको बताइएको छ । दुई मुलुकको संयुक्त टोलीले सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य जारी राख्ने जनाएको छ ।
सिमलताल दुर्घटनालगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्धारमा खटिएको छ । हराइरहेको बस ठूलो चुम्बक (म्याग्नेट)को सहायताले समेत सो टोलीले खोजी गरिरहेको थियो । त्यस्तै, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर नारायणी नदी तटीय क्षेत्रमा ¥याफ्टिङ बोट तथा पैदल माध्यमबाट समेत घटनास्थलदेखि गोलाघाटसम्म खोजी कार्य भइरहेको छ ।
प्रशासनले खोजी तथा उद्धारका लागि सबै खालका प्रयासलाई जारी राखेको जनाएको छ । सम्भावित सबै स्थानमा चितवन जिल्लामा रहेका सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीको संलग्नतामा फलामे हुक, गोताखोर, सोनार, ¥याफ्टिङ बोट, बाइनाकुलर, टेलिस्किोप कायकको प्रयोग भइरहेको छ ।
खोजीमा प्रयोग भएको क्यामेराले नदीको २० मिटर तलसम्म हेर्न सकिने प्राविधिकहरूको भनाइ छ । २० मिटर लम्बाइको केबुलको एउटा छेउमा क्यामेरा हुन्छ । माथि बसेर स्क्रिनमा पानीभित्रको भिडियो हेर्न र वस्तु पहिचानसमेत गर्न मिल्छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा २८ असार शुक्रबार बिहान साढे ३ बजे लेदो माटोसहित बगेको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतहटको सदरमुकाम जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूली नदीले बगाएको थियो ।
यता, सिमलताल दुर्घटनाको विषयमा सरकारले कार्यदल बनाएर अध्ययन गरिरहेको छ । नयाँ सरकार गठन भएसँगै गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सहसचिव छविलाल रिजालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । सो कार्यदल २ साउनमा चितवनको सिमलताल पुगेको छ ।
अध्ययन कार्यदलले हराइरहेका बसबाट पौडी खेलेर बाँच्न सफल भएकाहरूसँग जानकारी लिएको छ । जसले अध्ययनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । यता, सडक विभागले पनि पहिरोको अध्ययन गरिरहेको छ । बाटो खन्दा पु¥याउनुपर्ने ध्यान नदिएको पनि देखिएको अध्ययन कार्यदलले देखाएको छ ।






