नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

ललितपुर । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । ब्याटिङमा प्रतिस्पर्धात्मक रन बनाए पनि बलिङ र फिल्डिङमा कमजोर प्रदर्शनपछि नेपालले १२ ओभरमै हार बेहोर्न पुग्यो ।

फिल्डिङमा नेपालको कमजोरी

१ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ११ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा १ सय १० रन बनायो । गुल फिरोजा र मुनिबा अलीको १ सय ५ रनको साझेदारीमा पाकिस्तानले सहज जित निकालेको हो ।

३५ बल खेलेकी फिरोजाले सर्वाधिक ५७ रन बनाइन् । १० चौका प्रहार गरेकी उनी कविता जोशीको बलमा कविता कुँवरद्वारा क्याच आउट भइन् । अविजित रहेकी मुनिबाले ३४ बलको सामना गर्दै ८ चौकासहित ४६ रन बनाइन् ।

न्ोपालको फिल्डिङमा कमजोरी देखियो । पाकिस्तानी ओपनर फिरोजा र मुनिबालाई रोक्न नसक्दा नेपालले एकपछि अर्को रन बेहोरिरह्यो । चौकामाथि चौका वर्षिंदा नेपाली खेलाडीको फिल्डिङमा पनि धेरै कमजोरी देखिएको थियो ।

यसअघि डम्बुल्लाहमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले कविता जोशीको सर्वाधिक ३१ रनसँगै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । अविजित रहेकी जोशीले २३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाएकी थिइन् ।

पूजा महतोले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाइन् । छैठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै कविता र पूजाले नेपाललाई राम्रो स्कोरतर्फ डो¥याएका थिए । यस्तै, ओपनर सीता राना मगरले ३० बलमा ३ चौकासहित २६ रन जोडिन् । सन् २०१२ र सन् २०१६ मा एसिया कप खेलेकी सीताले पाकिस्तानविरुद्धको यस संस्करणमा एसिया कपका लागि व्यक्तिगत सर्वाधिक रन बनाइन् । सन् २०१६ को एसिया कपमा बंगलादेशविरुद्धको खेलमा उनले १५ रन बनाएकी थिइन् ।

शुक्रबार यूएईविरुद्धको खेलमा ४५ बलमा ७२ रन बनाएर सानदार प्रदर्शन गरेकी ओपनर सम्झना खड्का आज भने जम्न सकिनन् । उनी पहिलो ओभरमै आउट भइन् । १ चौका प्रहार गरेकी उनी फतिमा सनाको बलमा क्याच आउट भइन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न पुगेकी कविता कुँवरले सुरुवाती राम्रो दिलाइन् । तर, १३ बलमा ३ चौकासहित १३ रन बनाउँदा उनी आउट भइन् । उनलाई सदिया इकबालले आउट गरिन् ।

कप्तान इन्दु बर्माको खेल आज पनि जम्न सकेन । उनी २ बलमा कुनै रन बनाउन नसकी क्रिजबाट बाहिरिइन् । उनी सदियाकै बलमा बोल्ड भइन् ।

रुबिना क्षेत्रीले १४ बलमा १ चौका प्रहार गर्दै ८ रनको योगदान गरिन् । उनी १०औं ओभरमा रनआउट भइन् । कविता ३१ रनमा तथा र बिन्दु रावल शून्य रनमा अविजित रहे ।

नेपालले सम्झना खड्कालाई ४ रनमै गुमाएको थियो । त्यस्तै, कविता कुँवर र कप्तान इन्दु बर्मा ३० रनको स्कोर खडा हुँदै आउट भए । ४० रन बनाउँदा रुबिना क्षेत्री, ६५ रन बनाउँदा सीता रानामगर र ९९ रन बनाउँदा पूजा महत्तो पेभिलियन फर्किएका थिए ।

पाकिस्तानका लागि सादिया इकवालले २ विकेट लिँदा फतिमा सनाले १ विकेट हात पारिन् । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले हारेको थियो ।

पहिलो छक्का प्रहार
महिला एसिया कपको इतिहासमा नेपालले पहिलोपटक छक्का प्रहार गरेको छ । सन् २०१२ र सन् २०१६ पछि सन् २०२४ मा खेलिरहेको नेपालका लागि आइतबार पाकिस्तानविरुद्धको खेलमा कविता जोशीले पहिलो छक्का प्रहार गरिन् । उनले एसिया कपमा व्यक्तिगत मात्र नभएर देशकै लागि पहिलो छक्का प्रहार गरेकी हुन् ।

उनले फतिमा सनाको चौथो बलमा छक्का प्रहार गरेकी थिइन् । पहिलो खेलमा सम्झनाले ११ चौका प्रहार गरेकी थिइन् । अविजित रहेकी जोशीले २३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाएकी थिइन् ।

अनुभवी खेलाडी रन आउट
तेस्रोपटक एसिया कप खेलीरहेका अनुभवी खेलाडीहरू सीता राना मगर र रुबिना क्षेत्री रन आउट भए । रुबिना १४ बलमा १ चौकासहित ८ रन बनाउँदै ९ दशमलव २ ओभरमा रन आउट भइन् । यस्तै, १३ दशमलव ५ ओभरको खेलमा सीता राना मगर २६ रन बनाउँदै पेभिलियन फर्किइन् । रन आउट हुनुपूर्व सीताले ३० बलमा ३ चौकासहित २६ रन जोडेकी थिइन् । यस्तै, पूजा महतो पनि २५ रनमा रन आउट भइन् । २०औं ओभरको खेलमा कविता जोशी र पूजा महतोबीच तालमेल नमिल्दा ३२ बलमा ३ चौकासहित २५ रन जोडेकी पूजा रन आउट भएकी हुन् ।

भारतले यूएईलाई हरायो
महिला एसिया कपअन्तर्गत आइतबारै सम्पन्न पहिलो खेलमा भारतले यूएईलाई ७८ रनले हराएको छ । २ सय २ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको यूएई निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रनमै समेटिएपछि भारत विजयी भएको हो । यसअघि कप्तान हर्मनप्रित कौरको ६६ र नटआउट रहेकी रिचा घोषको ६४ रनको मद्दतमा भारतले निर्धारित ओभरमा २ सय १ रन बनाएको थियो ।

तालिकामा भारत शीर्ष स्थानमा
महिला एसिया कप क्रिकेटको समूह ‘ए’मा भारत शीर्ष स्थानमा छ । दुई खेलबाट भारतले शतप्रतिशत नतिजा निकाल्दै ४ अंक बटुलेको छ । समूहमा नेपाल र पाकिस्तानले समान १–१ खेल जितेर २–२ अंक बनाए पनि नेट रनरेटमा अघि रहँदै पाकिस्तान दोस्रो स्थानमा पुगेको छ । नेपाल रनरेटमा पछि पर्दै तेस्रो स्थानमा पुगेको छ । भारत र नेपाल दुवैसँगको खेल हारेको यूएई अंकविहीन छ ।

भोलि भारतसँग खेल्ने
नेपालले समूहचरणको अन्तिम खेलमा भोलि (मंगलबार) बलियो टोली भारतसँग खेल्नेछ । खेल डम्बुल्लाहमा साँझ ७ बजेपछि सुरु हुनेछ । महिला टी–२० वरीयतामा तेस्रो स्थानमा रहेको भारतले दुवै खेल जितेको छ । पाकिस्तानलाई समेत हराएको भारतसामु जित निकाल्न नेपालका लागि कठिन देखिएको छ ।

तैपनि, उच्च मनोबलका साथ नेपालले भारतको सामना गर्नेछ । नेपालले पाकिस्तानविरुद्ध बलिङ र फिल्डिङमा गरेको गल्ती नदोहो¥याए नतिजा नेपालको पक्षमा नआउला भन्न सकिन्न ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम