काठमाडौं । प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनले सोमबारको प्रतिनिधिसभा बैठकमा केही जिज्ञासा र प्रश्न राखेका छन् । उनले उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना, युरोनियम भण्डारको उत्खनन् र नेपाली मालवाहक पानीजहाज अन्तर्राष्ट्रिय समुद्री मार्गमा सञ्चालन गर्नका लागि संसद्मा पेस भएको विधेयक’bout प्रश्न गरेका हुन् । साथै, उनले आन्तरिक तथा बाह्य पर्यटन विकास प्रवर्धनका लागि ढोरपाटन विकास परियोजना मुस्ताङको स्थापना पहलका लागि माग गरेका छन् ।
प्रतिनिधिसभा सदस्य भट्टचनले बाग्लुङको ढोरपाटन नगरपालिकाको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण कहिले सुरु हुन्छ भनेर जिज्ञासा राखेका हुन् । सो आयोजना ८ सय २८ मेगावाटको भनिए पनि सो आयोजनाबाट १ हजार ७ सय २६ मेगावाट उत्पादन हुने र हिउँदयाममा शतप्रतिशत उत्पादन दिने उनको भनाइ छ ।
उनले आन्तरिक तथा बाह्य पर्यटन विकास प्रवर्धनका लागि ढोरपाटन विकास परियोजना मुस्ताङको स्थापनामा पनि जोड दिएका छन् । लोमान्थाङमा लम्बाइ १० किलोमिटर र चौडाइ ४ किलोमिटर भएको उत्कृष्ट युरोनियमको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएको भन्दै उनले सोको उत्खनन प्रक्रिया कहिलेदेखि अगाडि बढ्छ भन्ने जिज्ञासा राखेका छन् । साथै, उनले युरोनियम भण्डारबाट प्राप्त हुने आयस्रोतबाट स्थानीय सरकारलाई अत्यधिक रकम छुट्याइ परम्परागत ढाँचाको बसोबास निर्माण गर्न स्थानीयवासीको माग रहेको पनि अवगत गराएका छन् ।
यसैगरी, नेपाली मालवाहक पानीजहाज अन्तर्राष्ट्रिय समुन्द्री मार्गमा सञ्चालन गर्नका लागि संसद्मा पेस भएको विधेयक विगत ४ वर्षयता अलपत्र अवस्थामा रहेकाले सरकारले सो विधेयक कहिलेदेखि छलफलमा ल्याएर पास गर्ने भनी प्रश्नसमेत गरेका छन् ।






