प्रकृतिले जीवको अस्तित्व कायम राख्नका लागि प्राकृतिक औषधि दिने गरेको छ । त्यो हो, पृथ्वीकै खाद्य उत्पादन । त्यसमा पनि फलफूल र अन्य पौष्टिकयुक्त पदार्थको सिर्जना । बर्खामा च्याउ यसको अति विशिष्ट उदाहरण हो । त्यसका अतिरिक्त प्राकृतिक क्याप्सुल र दाना पनि प्रकृतिले उपलब्ध गराउँदै आएको छ ।
पुराना जमानाका मानिसले नयाँ फलफूल खाँदा भन्छन्, ‘ऋतुले गर्दा मैले यो फल खाएँ, तर ऋतुले मलाई नखाओस् ।’ यस्ता कुरा धेरै छन् । आयुर्वेदमा शरीरलाई स्वस्थ राख्नका लागि खानापानसम्बन्धी केही पथ परहेजका नियम बनाइएका छन् । यस नियमअन्तर्गत वर्षभरको हरेक महिनामा के खाने वा के नखाने भन्ने निर्देशन किटान गरिएको छ ।
हावापानी एवं माटोमा समयानुसार फरकफरक उत्पादन हुन्छ । यसले हाम्रो खानपानमा परिवर्तन ल्याउँछ । आयुर्वेदका अनुसार साउनको महिनामा पनि के खाने वा के नखाने भनेर किटानी गरिएको पाइन्छ ।
साउन महिना गर्मी, आद्र्रता र वर्षायामको महिना हो । प्रकृति हराभरा हुन्छ । अर्कोतिर संक्रामक रोग यही बेलामा लाग्छन् । फल्नेफूल्ने कुरा धेरै हुन्छन् । तर, यही नै बेला खानपानमा सतर्कता अपनाउनुपर्ने हुन्छ ।
साउनमा हरियो सागपात उपयुक्त मानिँदैन । हरियो सागपातमा ब्याक्टेरिया वा कीराहरू धेरै हुन सक्छन् । यसले गर्दा सागपात सेवन गर्दा पेट दुख्ने वा अरू किसिमका रोगको समस्या हुन सक्छ । साउनमा भाण्टा खानु उचित मानिँदैन । यसमा बढी कीरा हुन्छन् ।
पशुजन्य स्रोतबाट प्राप्त दूध पनि साउनमा खान उपयुक्त मानिँदैन । अध्यात्म चिन्तनअनुसार साउनमा दूध भगवान् शिवको नाममा अभिषेक गर्ने गरिन्छ । यसबेलामा दूधका माध्यमबाट पनि पेटमा संक्रमण हुने भय रहन्छ भनिन्छ । तर, साउनमा बेसरी पकाएर चामल मिसाएर खीर खाने चलन भने व्यापक छ ।
साउनमा माछामासु र प्याज लसुन खान हुँदैन भन्ने छ । यसलाई तामसिक भोजनमा गणना गरिन्छ । यसबेलामा मासु पनि विषाणु गन्हाउने गर्छ । तामसिक भोजनले पाचन यन्त्र खराब गर्छ । बर्खायामको मौसम माछाको प्रजनन समय भएकाले माछा खानु पनि उचित मानिँदैन ।
साउन महिनामा चाँडै पच्ने, झोलिलो खानेकुरा सेवन गर्नु राम्रो हुन्छ । ताजा र भरखरै पकाएको भोजन मात्र खाने गर्नुपर्छ । साउनमा गर्मी र आद्र्रताका कारण खानेकुरा चाँडो कुहिने र अखाद्यमा परिणत हुन जान्छन् । यो कुरा ख्याल राख्नुपर्छ । साउनमा बिहान उठेपछि एक–डेढ घन्टाभित्रै केही खानेकुरा खाइहाल्नुपर्छ । मनतातो पानीमा कागतीको रस र मह मिसाएर खानु उत्तम हुन्छ ।






