पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको हिउँदे खोलामा सडक भासिएको छ । सडक भासिएपछि रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक भासिएको क्षेत्रमा हुनसक्ने दुर्घटनालाई ध्यान दिएर रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए । अत्यावश्यक एम्बुलेन्स जस्ता सवारी साधन प्रहरीसँग समन्वय गरेर मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।
भासिएको सडक एकतर्फी भने सञ्चालनमा रहेको छ । अविरल बर्षाले सोमबारदेखी सडक भासिन शुरु गरेको भएपनि मर्मत गरेर एकतर्फी रुपमा सडक सञ्चालनमा आएको हो । हिउँदेखोलामा सडक भासिन क्रम रोकिएको छैन, डाइभर्सन गर्न ठाउँ छैन, सडकमा आउने पानीलाई प्लाष्टिक लगाएर हटाउने काम भएको छ ।
बुधवारदेखी जाली ग्याविन राखेर मर्मत गरिने डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताए । २ बर्ष अघि उक्त क्षेत्रमा सडक भासिएर ३ दिनसम्म यातायात बन्द भएको थियो । तानसेन—बुटवल सडकको बैकल्पिक सडकको रुपमा साना सवारी साधनहरू डुम्रें, मस्यामहुदै झुम्सा जान मिल्ने भएपनि त्यो सडक पनि भरपर्दो छैन ।






