विराटनगर । मोरङ सुन्दरहरैंचा–१ खादमका वेदबहादुर भुजेल ४ वर्षअघि घरपरिवारलाई सुख सुविधामा राख्ने सपना बोकेर साउदी अरब पुगे । घरमा बूढी आमा, श्रीमती र बच्चा छाडेर बिदेसिएका भुजेल साउदी अरब पुगेर एक गिट्टी कुट्ने कारखानामा काम गर्न थाले । जसोतसो काम चल्दै थियो । एक दिन अचानक मेसिन बन्द गर्नेक्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भए । उनी नेपालबाट श्रम सम्झौता गरेर गएको कम्पनी छोडेर अन्तै काम गर्दैगर्दा दुर्घटनामा परेका थिए ।
वैदेशिक रोजगारीको पीडा
दुर्घटनामा परी घाइते भएका भुजेललाई रियादमा रहेको फेमिली केयर अस्पताल भर्ना गरियो । त्यहाँ तीन महिना अचेत अवस्थामा रहे उनी । अस्पतालको लामो समयसम्मको निरन्तर उपचार र हेरचाहपश्चात् उनको अवस्थामा उल्लेख्य सुधार आयो । त्यसपछि रियादस्थित नेपाली दूतावासको सेल्टरमा अढाई वर्षजति बसे ।
अस्पताल बसाइ र उपचार खर्चको बिल ८ लाख साउदी रियालभन्दा बढी आएको थियो । उनी गैरकानुनी हैसियतमा रहेर काम गरिरहेको अवस्थामा दुर्घटनामा पर्दा उपचारका क्रममा खर्च भएको अस्पतालको बिल तिर्ने जिम्मा कसैले पनि लिएन ।
उपचार खर्चको बिल कसैले पनि तिर्न नमानेपछि अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरी दूतावासको जिम्मा लगायो । साउदीमा रहेको कुनै पनि विदेशी नागरिकमाथि कुनै केस लागेको छ भने सो केस फछ्र्योट नहुँदासम्म त्यस्ता व्यक्तिलाई साउदीबाट बाहिर जाने अनुमति हुँदैन ।
अस्पतालको बिलमा निकै ठूलो रकम रहेको र उनी गैरकानुनी हैसियतमा भएको हुँदा सो रकम कसैले पनि तिर्ने अवस्था देखिएन । दूतावासले सुरुमा उनलाई साउदी पठाउने म्यानपावर र रोजगारदाता कम्पनीले विभिन्न चरणमा गरी २५÷२५ हजार साउदी रियाल बेहोर्नेगरी जम्मा ५० हजार रियाल दिने सहमति भयो । भुजेलका तर्फबाट एक जना साउदी कानुन व्यवसायी राखी प्रतिरक्षाको सुरुवात गरिएको थियो । तर, २ वर्षसम्म कुनै कानुनी सफलता प्राप्ति हुन सकेन ।
तर पनि दूतावासले उनलाई स्वदेश पठाउन सकिने अवस्था सिर्जना गर्न निरन्तर प्रयास ग¥यो । बिल तिर्न नसकिने भएपछि अस्पताललाई नै भुजेलको केस फिर्ता लिन राजी पार्नुबाहेक अरू कुनै विकल्प थिएन । दूतावासले अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटक भेटवार्ता र पत्राचारमार्फत् भुजेलविरुद्धको मुद्दा फिर्ता लिई उनलाई नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरेको थियो ।
दूतावासको अथक प्रयासको परिणामस्वरूप अस्पतालले उनीविरुद्ध अदालतमा रहेको केस फिर्ता लियो । अस्पतालले उपचारका क्रममा खर्च भएको ८ लाख २३ हजार साउदी रियाल (नेपाली रुपैयाँ २ करोड ५० लाखभन्दा बढी) रकम मिनाहा गरी मुद्दा फिर्ता लिएको थियो ।
मुद्दा फिर्तापछि फिर्तीका लागि आवश्यक सम्पूर्ण खर्च गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साउदीले व्यवस्था गरेपछि उनी नेपाल फर्किए । तर, रित्तो हात फर्किएका उनी घर फर्किंदा घरको न घाटको भए । घरमा बूढी आमा मात्रै । यस्तो अवस्थामा साथ दिनुपर्ने श्रीमतीले सम्बन्ध विच्छेद गरी छोडेर गएपछि उनी विक्षिप्त देखिन्थे ।
हेवीलचेयरको सहारा लिएर मात्र घर वरिपरि हिँड्नसक्ने उनी भन्छन्, ‘मलाई यस्तो अवस्थामा छाडेर श्रीमतीले सम्बन्ध विच्छेद गरेर गई, अब म कसरी गरी खाने ? घरमा बूढी आमा हुनुहुन्छ, आमालाई हेर्नुपर्ने बेलामा म आफैं यो अवस्थामा छु, अपांगता भएर एक्लै बस्दाको पीडा कसले बुझ्छ ?’
छोराको यस्तो अवस्थाले आमा पनि चिन्तित छिन् । उनकी आमा लक्ष्मी छोराको यस्तो अवस्था देख्दा आफू मरेपछि कसले हेर्छ भन्दै चिन्तिा गर्छिन् । स्थानीय सरकारसँग अपांगता भएका व्यक्तिलाई दिने अपांगता परिचयपत्र रातो कार्ड बनाउन धेरैपटक धाए पनि अझै पाउन नसक्दा उनको पीडामाथि झन् पीडा थपिएको छ । यसतर्फ बेलैमा स्थानीय सरकारको ध्यान जान जरुरी छ ।
आफू यस्तो अवस्थामा भए पनि सुन्दरहरैंचाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा मोरङ–सुनसरी सेवा समाज उर्लाबारीका युवा कुमार कार्की र गैरआवासीय नेपाली संघ (एनआरएन)का प्रतिनिधिहरूको सहयोगमा स्वदेश फर्कन पाएकामा खुसी व्यक्त गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।