नेपालको कुल जनसंख्यालाई विश्लेषण गर्दा १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू अधिक छन् । देशको जनसंख्या ३ करोड पुगेन, नेपाली भने जन्मँदै ८४ हजार ऋणमा छन्् । सबै युवा सीप सम्पन्न, उद्यमशील हुने हो भने हामीले सोचेको विकासको रफ्तार टाढा हुँदैनथ्यो । युवा जनशक्ति भनौं, मानव पुँजी पलायन हुन नदिने र श्रमशक्ति मुलुकमै प्रयोग हुने वातावरण सिर्जना गर्ने काम सरकारको हो ।
सबैलाई सरकारले रोजगारी दिन नसके पनि रोजगारीका अवसर सिर्जना भने गर्न सक्छ । नाना र छानाकै लागि युवाशक्ति बिदेसिएको हो । कुनै पनि सरकारी काम बढी प्रक्रियामुखी झन्झट र अपारदर्शी भयो । सरकारले सामाजिक सुरक्षाको कुरा गरे पनि युवाहरूले पत्याएनन् । रोजगारदाताको सूचीकृत संख्या नगन्य छ, उद्योगहरू नै छैनन्, उत्पादन कसरी हुन्छ र रोजगारी कसरी दिन सकिन्छ ? रोजगारदाताहरू यस अभियानमा उत्साहित नभएको देखिन्छ ।
रोजगारी सिर्जना गरी उद्यमशीलतामा, उद्योगमा युवाशक्ति सरिक गराउने काममा लघु, घरेलु साना उद्योगहरूको बढी हात हुन सक्छ । तर, यसै क्षेत्रबाट सामाजिक सुरक्षा अभियानमा खासै चासो दिएको देखिँदैन । बिमा कार्यक्रम पनि व्यापारिक भयो ।
हाम्रो सरकारले करमाथि कर थोपरेको छ । खर्च कटौती गर्न सक्ने धेरै आधारहरू छन् त्यतातिर ध्यान दिनुभन्दा कार्यालय सञ्चालनकै लागि एउटैको डेढ करोड पर्नेे महँगो गाडी किनिन्छ । शिक्षाकोे वातावरण छैन, मध्यम र उच्च शिक्षा प्राप्त युवा शक्ति विदेश पलायनबाट रोकिएनन् । व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव छ, मुलुकमा !
युवा जोस जाँगरको प्रयोग हुनेगरी दिइने तालिम, शिक्षण, प्रशिक्षणको अभाव छ यहाँ † केही तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरू भए पनि समन्वयको अभाव छ । सरकारलाई लगानीको वातावरण तय गर्ने फुर्सदै छैन । राजनीतिक नेतृत्वको इच्छा शक्तिको कमी भयो । युवाको सक्रिय जोस जाँगर मुलुकबाहिर पठाएमा आफ्नो विरोध कम हुन्छ भन्ने सोचियो । देशमा कृषिक्षेत्रको रूपान्तरणमा यस शक्तिको प्रयोग हुन सकेन ।
राजनीतिक दलहरूसँग सक्रिय हुनेबाहेक अरू श्रमशक्ति खेर गइरह्यो । युवाशक्तिको सहभागिताबाटै विकास र राष्ट्र निर्माण सम्भव थियो । मुलुकमा जलस्रोतको कमी छैन । तर, यहीँ मेलम्ची आएन, विद्युत् उत्पादन, सडक निर्माण, खानेपानी आपूर्तिदेखि पूर्वाधार विकासका क्षेत्रमा हाम्रै युवा जनशक्ति प्रयोग भएको हो भने अहिलेको विषम परिवेश आउँदैनथ्यो, दुनियाँले हामीलाई हेप्ने पनि थिएनन् ।
(अच्युतप्रसाद पौडेल ‘चिन्तन’को युवा दिवसको सार्थकता बाट)