नेपाली चलचित्रमा नातावाद निकै भयो भन्ने टिप्पणी छ । चलचित्र उद्योगले बिस्तारै विकास गर्दै जाँदा यस्ता टिप्पणी आउनु स्वाभाविक पनि हो । किनकि, केही कुरा अस्तित्वमा आएपछि त्यसको सरकारात्मक र नकारात्मक पक्षमाथि सबैका आँखा जान थाल्छन् ।
एउटा यसमा गुणस्तरीयता खोजिन्छ । अर्को विविध क्षेत्र र पक्षको सहभागिता भयो कि भएन भनेर हेरिन्छ पनि । नेपालमा अहिले समावेशिताका आँखा अलि तीखा भएका छन् । यो राम्रो पक्ष पनि हो । अर्कोतिर नायक–नायिका हुनका लागि लगानी गर्ने कसैको ह्याउ र आँट छैन । लाखौ रुपैयाँ खर्च गर्ने कसैको आँट बन्यो भने उसले चलचित्र निर्माण गर्ने र पैसा कमाउने सोचिहाल्छ ।
नेपाली पुँजी कति हुनु । लाख भए लखपति ! करोड भए करोडपति ! छिमेकी देश भारतमा त ‘कौन बनेगा करोडपति’ कार्यक्रमले दुनियाँ नचाइराख्यो । आकार, औकात, सोच र क्षमता हेरेर नेपालमा लाख भनेको धेरै हो । गुणस्तरीयतामा चासो र चाख, कलाकारितामा भिन्न र मौलिकपनभन्दा पनि पैसा बचत पनि हुने, नायक–नायिकालाई तालिम दिनु पनि नपर्ने, निर्देशकको ल्याकतनुसार यसो ढल्याकढुलुक गर्न पनि जान्ने कलाकारका छोराछोरी नै हुन्छन् । किनकि, उनीहरूले बाबुआमा कलाकारका स्वभाव, आनीबानी, पहिरन, डाइलग र शैली पनि हेर्दाहेर्दै र देख्दादेख्दै सिकिसकेका हुन्छन् ।
यसले नातावादको ‘लिगेसी’ समाउँछ । मास्टरको छोरो अक्सर पढ्नमा टाठै हुन्छ । डाक्टरको छोरो औषधि र डक्टरी कुरामा केही परिवारबाटै सिक्छ । यी परिवारबाट सिकेका गुण हुन् । यी पारिवारिक शिक्षा र दीक्षाका कुरा पनि हुन् । यसले सो क्षेत्र अँगाल्न सहजता प्रदान गर्छ पनि ।
अर्कोतिर हामी नेपाली सामन्तवादी चिन्तनले ग्रसित नै छौं । सान्तवादी चिन्तन भनेको परिवारवाद हो । यस्तो सोच जहानियाँ हुन्छ । जसको आरोप राजनीतिक रूपमा राणाहरूलाई लगाउने गर्छौं । यो जहानियाँ सोच आजका राजनीतिक पार्टीभित्र जस्ताको तस्तै छ । चलचित्र कल्चर अर्थात् संस्कृतिसँग जोडिएको हुन्छ बढी ।
यसमा नातावाद त मौलाउने कुरा नै भयो । त्यसैले, हाल नेपाली चलचित्र उद्योगमा अभिनेता तथा कलाकारका रूपमा आएका सिनेकर्मीका छोरा पुस्ताको रजगज छ । लगानीकर्ता बाबुआमा, निर्देशक बाबुआमा, नायक, नायिका आफ्नै छोराछोरी, कमाइजमाइ घरको घरैमा । आखिर चलचित्र उद्योग न हो । कमाउ खाऊ !
चलचित्र चल्छ कि चल्दैन । प्रतिस्पर्धामा कति आउँछन् । पैसा कति कमाइ हुन्छ । यो उद्योगीलाई हुने नाफाघाटाको कुरा हो । ‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि’ भएको नेपाली समाजमा हुने यही हो । नायक–नायिकाका छोरा पुस्ता आएनन् भने ‘फिलिम’ पनि ‘चिलिम’ होलाजस्तो पो छ त !
(राजभाइ डंगोल, ललितपुर)






