सप्तरी । झण्डै तीन महिनाअघि सप्तरीको कंचनरूप नगरपालिकामा एक महिलाको सवारी दुर्घट्नमा मृत्यु भएको प्रकरणमा पक्राउ परेका पप्पु भनिने सन्जीब प्रसाद साहलाई पुर्पक्षका लागि आज विहीवार राजविराज कारागार पठाइएको छ ।
जयमालाको मृत्यु प्रकरण
कंचनरुप नगरपालिका वडा नम्बर ८ की ५७ वर्षीया जयमाला गुप्ताको गत ९ जेठमा सवारीका ठक्करले मृत्यु भएको थियो । ठक्करले गम्भीर घाइते भएकी उनको विराटनगरमा उपचारका क्रममा ज्यान गएको थियो । यद्यपी ठक्कर दिने मोटरसाइकलको पहिचान भने हुन सकेको थिएन् ।
प्रहरीको लामो अनुसन्धानपछि कंचनरूप नगरपालिका वडा नम्बर ८ का साह पक्राउ परेका थिए । साहलाई प्रहरीले अदालतमा पेश गर्दा न्यायाधीश संजीब पोखरेलको इजलासले साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
९ जेठको राति साढे ८ बजे महायज्ञ स्थलबाट पूजा गरेर आउने क्रममा तत्काल नम्बर खुल्न नसकेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।