ललितपुर । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हिजो सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै बंगलादेशले नेपालसँगको भेट पक्का गरेको हो ।
अब फाइनल खेल भोलि बुधबार हुनेछ ।
अघिल्लो संस्करणमा बंगलादेशलाई हराएर भारतले उपाधि जितेको थियो । सोमबारको हारले ३ पटकको विजेता यसपटक सेमिफाइनलबाटै बाहिरिएको छ ।
निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टिमा दोस्रो रोजाईका बंगाली गोलकिपर महोम्मद आशिफले भारतको २ पेनाल्टि रोकेका थिए ।
बंगलादेशले खेलमा सुरुवाती अग्रता लिएको थियो । बंगलादेशका असादुल मोलाले खेलको ३६ औँ मिनेटमा सुरुवाती गोल गरे ।
उनले महोम्मद राबी हुसेन राहुलको लामो पासमा भारतीय गोलकिपरलाई बिट गर्दै मिलाएको पासमा गोल गरेका हुन् ।
पहिलो हाफमा बंगलादेश १–० ले अघि रहेपनि दोस्रो हाफमा भारतले एक गोल फर्काएको थियो ।
नाओउबा मेइटिङ पाङगामबामको पासमा रिकी मेइटी हाओवामले खेलको ७५ औँ मिनेटमा भारतका लागि बराबरी गोल गरेका थिए ।
खेलको अन्त्यतीर बंगलादेश १० खेलाडीमा समिती भयो । बंगलादेशका कामासाई मार्मा आकेले ९० मिनेटपछिको इन्जुरी टाइममा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए । यसअघि उनले खेलको ७४ औँ मिनेटमा पनि पहेँलो कार्ड खाएका थिए ।
यसअघि पहिलो सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो । नेपाल २ पटकको च्याम्पियन हो भने बंगलादेश ३ पटकको उपविजेता टोली हो ।
सन् २०१७ मा बंगलादेशलाई नै हराएर नेपालले पहिलो पल्ट उपाधी जितेको थियो ।
सर्वाधिक गोलकर्ताको होडमा निराजन धामी
प्रतियोगितामा नेपालका निराजन धामी सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा रहेका छन् । आइतबार भुटानविरुद्ध थप १ गोल गर्दै जारी प्रतियोगितामा निराजनले आफ्नो गोल संख्या ३ पु-याएका छन् ।
उनले यसअघि श्रीलंका विरुद्ध निर्णायक गोल गरेका थिए भने अर्को एक गोल बंगलादेशबिरुद्ध गरेका थिए । धामी पछि बंगलादेशका मिराजुल इस्लाम र भुटानका जितसुङ दोर्जीले अहिलेसम्म २–२ गोल गरेका छन् ।
बंगलादेशका मिराजुलले नेपाल र श्रीलंका विरुद्ध एक –एक गोल गरेका छन् भने भुटानका दोर्जीले आइतबार नेपाल विरुद्ध र माल्दिभ्स विरुद्ध १–१ गोल गरेका छन् ।
१५ गोल भइसकेको जारी प्रतियोगितामा नेपालका समिर तामाङ, बंगलादेशका नोभा र असादुल मोला , भारतका प्रामभिर ,मोनिरुल मोला र मङलेङथाङ किपाङले एक–एक गोल गरे । यस्तै भुटानका नवाङ छोपेल तथा माल्दिभ्सका इस अफ्रु महोम्मद फिरागले १–१ गोल गरेका छन् ।
दर्शकका लागि पार्किङ समस्या
फुटबल हेर्न जाने दर्शकका लागि सवारी साधन राख्ने पर्याप्त पार्किङ नहुँदा दर्शकका लागि समस्या भएको छ । उनीहरुले एन्फा परिषर बाहिर सडककै दायाँ वायाँ गाडी तथा मोटरसाइकल राखेका थिए । जसका कारण एन्फा आसपास सवारी साधन पास हुन समेत हम्मेहम्मे परेको थियो ।