काठमाडौं । खेलकुद महासंघले लकडाउनमा समस्यामा परेका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई सहयोग गर्ने भएको छ । महासंघको बिहीबार भएको भिडियो कन्फरेन्स छलफलले सो निर्णय गरेको हो । महासंघका संयोजक पुरूषोत्तम पौडेलको अध्यक्षतामा छलफल भएको थियो । कोरोना भाइरस (कोभिड १९) का कारण देशभर ११ चैतदेखि लकडाउन रहेको छ । महासंघले खेलाडीहरूको समस्या पहिचान गरी समाधान गर्ने निर्णय गरेको हो ।
‘लकडाउनका कारण समस्यामा परेका खेलाडीहरूसँग सम्पर्क गर्ने, उनीहरूको समस्या पहिचान गर्ने सहमति भएको छ ।’ महासंघका सहसंयोजक शिव कोइरालाले बताए । खेलाडीहरूलाई राहत तथा उद्धारका लागि आवश्यक स्रोत र साधन खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।
आवश्यकता परेको खण्डमा स्वयंसेवाका लागि तयार हुन महासंघले आफ्ना सदस्यलाई अनुरोधसमेत गरेको छ । सो छलफलमा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव केशव विष्ट, धर्म श्रेष्ठ, बद्री अधिकारी, राजकुमार कार्की, जनक बर्तौला, प्रकाश कुसारी सम्राट र अञ्जन धमलालाई सम्र्पक व्यक्ति तोकेर आगामी कार्य अगाडि बढाउनेसमेत निर्णय गरेको राजकुमार कार्कीले बताएका छन् ।
त्यसैगरी, महासंघले जिल्लाका खेलकुद महासंघहरूलाई सम्बन्धित जिल्लामा खेलाडी तथा खेलकुदकर्मीहरूलाई परेको मर्का’bout अध्ययन गर्नसमेत निर्देशन दिएको छ । ‘सम्बन्धित जिल्लाका पदाधिकारीहरूलाई यसको जिम्मेवारी दिइएको छ । जसका कारण कुनै पनि खेलाडीले यो विपद्को समयमा अप्ठ्यारो अवस्था भोग्नु नपरोस् भनेर महासंघ संवेदनशील भएको छ,’ कोइरालाले बताए । ‘आवश्यक पर्नेलाई राहत उपलब्ध गराउन प्रयास गर्ने तथा आवश्यकताअनुसार जिल्लाहरूमा पनि जिल्ला महासंघहरूलाई स्वयंसेवाको काम गर्न निर्देशन गरिएको छ,’ उनले भने ।






