सप्तरी । राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयर बीचको विवाद आमने सामने भएको छ ।
निलम्बित मेयर भीमराज यादव र कार्यवाहक नगर प्रमुख इसरत परवीन दुबै जनता समाजवादी पर्टी नेपालबाट निर्वाचित भएका हुन ।
तर आपसी तालमेल नमिल्दा उनीहरु बीचको विवाद अहिले उत्कर्षमा पगेको हो । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा.श्रवण साह र योजना अधिकृत मनोज कुमार यादवलाई कारवाही र सरुवा लगायतका ११ बुंदे माग अघि सार्दै नगरपालिकाका कर्मचारीहरु विगत तीन दिन देखी धर्नामा वसेका छन ।
आईतवार पनि कर्मचारीहरु धर्नामा वसेका बेला निलम्बित मेयर भीमराज यादवको नेतृत्वमा नाराबाजी गर्दै आएका समुहले सरुवाको विरोध सहित ९ बुदे माग राख्दै धर्ना र तालाबन्दी गरेपछि अवस्था आमने सामने हुन पुगेको हो ।
कार्यवाहक मेयर परवीन कर्मचारीहरुले उठाएको माग जायज भएको भन्दै उनीहरुको पक्षमा उभिएका छन भने निलम्बित मेयर यादव प्रशासकीय अधिकृतलाई सरुवा गरेको विपक्षमा उभिएका छन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत डा.साहलाई रौतहटको एक स्थानीय तहमा सरुवा गरेको पत्र समेत पठाइ सकेको छ । मन्त्रालयले निजको ठाँउमा नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई प्रमुख प्रशासकियको रुपमा काम गर्न जिम्मेवारी दिएको छ ।
कार्यवाहक नगर प्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्ने पक्षमा अडिग भई उभिएकी छिन । तर निलम्बित मेयर यादव सोको विरोध गर्दै डा.साहलाई नै सो जिम्मेवारीमा राख्नु पर्ने अडान लिएका छन ।
उनले सरुवाको विरोधसंगै नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानवीन, नगरको ६८ विगहा क्षेत्रमा ब्लक र विटौरी जग्वगामा वसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपूर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्कीने व्यवस्था लगायतका माग अघि सार्दै धर्ना सुरु गरको बताएका छन । उनले माग पुरा नभए आमरण अनशनमा वस्ने चेतावनी समेत दिएका छन ।
यता नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको अगुवाईमा ११ बुंदे माग राखी कर्मचारीहरुले थालेको धर्ना तेश्रो दिन पनि जारी छ । उनीहरुले प्रमुख प्रशासकिय अधिकृत डा.श्रवण साह र योजना अधिकृत मनोज कुमार यादवलाई कारवाही र सरुवा गरिनु पर्ने प्रमुख माग उठाएका छन ।
यस्तै १५ वर्षदेखी करार सेवामा कार्यरत इ. अशोक दासलाई कार्यपालिकाको निर्णय विपरित प्रमुख प्रशासकिय अधिकृत डा.साहले एकलौटी ढंगले हटाउने गरेको निर्णय फिर्ता, आ.ब.२०८०÷०८१ मा वडा कार्यालयहरुमा काम गरेका दैनिक ज्यालादारी कर्मचारीहरुको १६ दिनको बाँकी रहेको तलब भुक्तानी लगायतका ११ बुंदे माँग अघि सार्दै आन्दोलन गर्दै आएका छन ।
कार्यवाहक नगर प्रमुख परवीनले निलम्बित मेयर यादव नगरपालिकाको हरेक गतिबीधीमा हस्तक्षेप गरी लाभ लिन खोजेको र आफुले अश्विकार गर्दा अनावश्यक बखेडा झिकेर अराजकता मच्याउन खोजेको आरोप समेत लगाएकी छिन ।
निलम्बित मेयर यादवले भने नगरपालिकामा आर्थिक अनियमितता गरेको दाबी गर्दै आफू सोको बिरोध मात्र गरेको बताएका छन् ।
आर्थिक वर्ष २०७३–७४ मा राजरंगशालाको स्तरोन्ती कार्यको ठेक्का लिएका न्यू गहिल कन्स्ट्रक्सनका संचालक समेत रहेका भिमराज यादवसहित केही निर्माण कम्पनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछी उनी निलमिबत भएका थिए । उक्त आरोपत्र उपर सुनुवाई गर्दै विशेष अदालतले यादवको विपक्ष फैसला गरेपछी उनी अहिले सर्वोच्चमा पुगेको अवस्था छ ।
यता नगरपालिकाको निलम्बित मेयर वहालवाला कार्यवाहक मेयरबीच विवाद चर्किदै जाँदा नगरपालिकाको कामकाज प्रभावित हुन पुगेको छ ।
यसैबीच कार्यवाहक मेयर परविनसहितको एक टोलीले आइतबार साँझ नै प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर कार्यालयमा कामकाज गर्ने वातावरण र मन्त्रालयले खटाएको कर्मचारीलाई काममा लगाउने कार्यमा सहयोगका लागि आग्रह गरेकी छिन् । उनीहरुले प्रशासनले सहयोग नगरे आफूहरु ताला फुटाएर पनि सेवाग्राहीलाई सेवा दिन अग्रसर हुने बताएका थिए ।
प्रजिअ दाहालले नगरपालिका कार्यालयमा शान्ति, सुरक्षा तथा ताला खुलाउन आफूले विशेष पहल गर्ने र कुनै किसिमको वाधा अवरोध भए कानुन बमोजिम कारवाही गर्ने जनाएका छन् ।






