छाउगोठमा बास बस्दा सर्पको डसाइबाट मृत्यु

धनगढी । कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ ।

आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि समाजमा गहिरोसँग जरो गाडेको अन्धविश्वासका कारण घरबाहिरको छाउगोठमा सुत्न बाध्य पारिएकी कृष्णपुर नगरपालिका–१ निगालीगाउँकी २८ वर्षीया कमला दमाईंको शनिबार राति सर्पको डसाइबाट मृत्यु भएको हो ।

उनी घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण छाउगोठमा सुत्न गएकी थिइन् । स्थानीयका अनुसार राति करिब १० बजेतिर असुरक्षित छाप्रोमा निदाइरहेकी कमलालाई विषालु करेत सर्पले डसेको थियो ।

पुख्र्यौली घर अछामको मेल्लेख गाउँपालिका–८ भएकी कमला महिनावारी भएका बेला घरमा सुत्यो भने देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुतेकी थिइन् । उनी शुक्रबार साँझ महिनावारी भएकी थिइन् ।

तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला बायाँ गालामा सर्पले डसेको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले बताए ।

छाउगोठमा उनी एक्लै सुतेकी थिइन् । एकाएक सर्पले डसेपछि कमला चिच्याएकी थिइन् । सो सुनेर परिवार घटनास्थल गएका थिए । परिवार छाउगोठसम्म पुग्दा कमला बेहोस अवस्थामा पुगिसकेकी थिइन् ।

उनलाई बचाउन परिवारले हतार–हतार अटो रिक्सामा राखी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पु¥याएका थिए । तर, आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कमलाका ६, ८ र १२ वर्षीय तीन छोरा रहेका छन् । श्रीमान्सँगै भारतमा मजदुरी गर्दै आएकी कमला गत वैशाखमा छोरालाई पढाउन भनेर घर आएकी थिइन् । कमलाको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले छाउपडी भएका बेला छाउगोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामूलक अभियान चलाएर गोठ भत्काउने कामसमेत गरिएको बताए । तर, ग्रामीण क्षेत्रमा अहिले पनि छाउगोठमा बस्ने परम्परा कायमै रहेका कारण दुःखद घटना हुन पुगेको उनी बताउँछन् ।

मुलुकी संहितामा पनि रजस्वला र सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा अन्य कुनै भेदभाव, छुवाछूत गराउन नहुने उल्लेख गरिएको छ । यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिमाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु नहुने उल्लेख छ ।

छाउगोठ भत्काउन नगरपालिकाको निर्देशन
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउगोठ १५ दिनभित्र भत्काउन निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले आइतबार निर्देशनपत्र जारी गर्दै छाउगोठ भए–नभएको निरीक्षण गर्न १ देखि ९ नं. सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन् ।

शनिबार मात्रै कृष्णपुर–१ मा छाउगोठमा बसिरहेकी २८ वर्षकी कमलाको सर्पको डसाइबाट निधन भएपछि नगरपालिकाले छाउगोठ भत्काउन भनेको हो ।

‘यस कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडामा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत् भएकाले आ–आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउने र सो कार्यान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिमाना हुने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराउनुहुन आदेशानुसार अनुरोध छ,’ नगरपालिकाको पत्रमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती