जापानमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’

काठमाडौं । जापानमा एकीकृत नेपाली घर तथा बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह–२०२५ शनिबारदेखि सुरु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आयोजना र जापानस्थित विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा सुरु भएको यो महायज्ञ १५ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।

वैदिक विधिपूर्वक शुभारम्भ गरिएको महायज्ञको पहिलो दिन जापानवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान् बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले वैदिक विधिपूर्वक महायज्ञको उद्घाटन गरेका थिए । कार्यक्रममा सनातन र बौद्ध दुवै धर्मअनुसार तोकिएका पूजाहरू सम्पन्न गरी मण्डपमा कलश परिक्रमा गरिएको थियो ।

महायज्ञको औपचारिक उद्घाटनपछि कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा नेपाली कला–संस्कृति, सनातन धर्म र बुद्ध धर्मको संरक्षण तथा आगामी पुस्तामा हस्तान्तरण गर्ने ‘कोसेढुंगा’का रूपमा व्याख्या गरेका थिए । तत्पश्चात् श्रद्धालु भक्तजनहरू भजनकीर्तनमा रमाएका थिए ।

कार्यक्रममा जापानका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर पौडेललगायत एनआरएनएका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बढ्दो नेपाली समुदाय, परिवारसहित बसोबास, बालबच्चा यतै जन्मिने हुर्किने हुँदा उनीहरूलाई नेपाली कला संस्कृति’bout जानकारी गराउन, नेपाली पहिचान र नेपाली संस्कृतिलाई जगेर्ना गर्न नेपाली घर निर्माणको पवित्र उद्देश्यसहित कार्यक्रम गरिएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष टीकाराम खरेलले बताए । उनले महायज्ञलाई सफल बनाउन सबैबाट सक्दो सहयोगको आग्रहसमेत गरे ।

कार्यक्रममा धार्मिक गुरुहरूले विदेशमा यस्ता कार्यक्रम हुनाले मानव सेवा, सकारात्मक कर्म र सामुदायिक एकताको सन्देश प्रवाह हुने बताएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले जापानवासी सबै नेपालीको सहयोगले नेपाल हाउस निर्माण भएरै छाड्ने विश्वास व्यक्त गरे । उनले सबैलाई सहभागिताका लागि अनुरोध गर्दै यथाशक्य आर्थिक सहयोगका लागि पनि अपिल गरेका थिए ।

कार्यक्रममा सहभागी भक्तजन स्मृति रिजालले जापानको व्यस्त जीवनमा यस्तो महान् धार्मिक अनुष्ठानले घरदेशको झल्को मेटाएको र धार्मिक कार्यमा सरिक हुँदा मनमा शान्ति र आनन्द मिलेको बताइन् । कार्यक्रम अवधिभर वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलको विशेष आध्यात्मिक प्रवचन तथा सत्संग भजन गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मताधिकार सुनिश्चित माग