परानले गर्‍यो यो वर्षको सबैभन्दा धेरै व्यापार

काठमाडौं । अभिनेता नीर शाहको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘परान’ ले २०८२ सालमा रिलिज भएको सबै चलचित्रको व्यापारलाई पछि पारेको छ । अघिल्लो हप्तासम्म नेपाली चलचित्र ‘जेरी अन टप’ वर्षको सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको सूचीमा थियो । तर यो शुक्रवारसम्म ‘जेरी अन टप’लाई पछि पार्दै चलचित्र ‘परान’ पहिलो नम्बरमा उक्लिएको छ । योसँगै ‘परान’ले ०८२ सालमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रको कीर्तिमान पनि बनाएको छ ।

गत १४ कात्तिकमा नेपालमा रिलिज भएको यो चलचित्रले प्रदर्शनमा आएको २२ औँ दिन शुक्रवार बेलुका ७ बजेसम्म सिनेपा बक्स अफिसको तथ्यांक अनुसार १२ करोड ९१ लाख रुपैयाँ ग्रस व्यापार गरिसकेको छ । जबकि ‘जेरी अन टप’ ले शुक्रवार बेलुकासम्म १२ करोड १४ लाख रुपैयाँ ग्रस व्यापार नेपालबाट गरेको थियो ।

यस अघि नेपाली चलचित्र ‘उनको स्विटर’ले ११ करोड रुपैयाँको व्यापार गर्दै बक्स अफिसमा यो वर्षको सबै भन्दा बढी कमाउने चलचित्रको रेडर्क बनाएको थियो । त्यो रेकर्डलाई चलचित्र ‘जेरी अन टप’ गत साता मात्र पछि पारेको हो । यो साता भने ‘जेरी अन टप’लाई पनि पछि छाडेर चलचित्र ‘परान’ बक्स अफिसमा चम्किएको छ ।

दीपक आचार्य ‘काकु’को निर्देशनमा तयार भएको चलचित्र ‘परान’ चौथो हप्तामा पनि शनिवार देशभर हाउस फूल थियो । यो चलचित्रले शनिवार मात्र करिब ५० करोड रुपैयाँको व्यापार गर्ने अनुमान निर्माण पक्षको छ । त्यसैले यो चलचित्रको शनिवारसम्म मुलुकबाट १३ करोड ३५ लाख रुपैयाँसम्मको व्यापार हुने अर्का निर्माता रंजित आचार्यले बताएका छन् ।

चलचित्र ‘परान’ रिलिज भएको तीन दिनसम्म नियमित वर्षाका कारण बक्स अफिसमा पूर्ण रूपमा कमजोर साबित भएको थियो । तर चौथो दिनबाट यसले राम्रो पिक अप लियो । रिलिजको पहिलो दिन शुक्रमा ६७ वटा मात्र सोजहरू पाएको चलचित्र ‘परान’ले पहिलो साताको अन्त्यतिर बाटै दुई सय भन्दा माथिको संख्यामा सोजहरू पाएको थियो । यस प्रति दर्शकको मोहका कारण चलचित्र दिन प्रति दिन माथि उठिरहेको छ । दर्शकबाट प्राप्त ‘वर्ड अफ माउथ’ बाट यो चलचित्रले यति सम्मको सफलता हासिल गरेको यसका निर्देशक दीपकले बताए ।

चलचित्र ‘परान’ शुक्रवारबाट चौथो सातामा प्रदर्शन भएको छ । नेपाली चलचित्र उद्योगमा चलचित्र ‘परान’को यो उपलब्धिलाई उत्साहजनक रूपमा आफूहरूले लिएको यसका निर्माता शेखर गोल्छाले बताएका छन् ।यो चलचित्रको सफलताले आगामी दिनमा पनि थप नयाँ रेकर्ड कायम गर्ने विश्वास उनले व्यक्त गरेका छन् । यो चलचित्रमा निर शाहसँगै प्रवीण खतिवडा, महेश त्रिपाठी, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, अञ्जना बराइली, पूजा चन्दसहितको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

नियमित महाधिवेशनको दबाब बढाउन देउवा समूहका केन्द्रीय सदस्य शेखरको दैलोमा